Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

सञ्चारमन्त्री शर्मासँग चिनियाँ प्रतिनिधिमण्डलको भेट


२,असोज ,काठमाडौँ ।नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख जेङ यान नेतृत्वको प्रतिनिधिमण्डलले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटवार्ताका क्रममा मन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, पूर्वाधार र कनेक्टिभिटीको क्षेत्रमा महत्वपूर्ण निर्णय हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भृकुटी र अरनिकोदेखि सुरु भएको नेपाल–चीन सम्बन्ध असल छिमेकी र विश्वासिला सहयोगी राष्ट्रको रुपमा विकास हुँदै गएको पनि बताउनुभयो । राज्यस्तर र जनस्तर दुबै क्षेत्रमा नेपाल र चीनबिचको सम्बन्ध विस्तार हुँदै गएको उल्लेख गर्दै उहाँले बेलाबेलामा हुने उच्चस्तरीय भ्रमणबाट सम्बन्ध अझै सुदृढ हुने स्पष्ट गर्नुभयो । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि दुई देशबिचको सम्बन्ध थप उचाइँमा उठेको उल्लेख गर्दै मन्त्री शर्माले प्रधानमन्त्रीको चीन भ्रमणपछि आपसी सहयोग आदान प्रदान अझ बढेर जाने विश्वास व्यक्त गर्नुभयो । चीनले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा गरेको प्रगतिबाट नेपालले पनि लाभ लिइरहेको उल्लेख गर्दै उहाँले चिनियाँ कम्पनीहरुले पनि नेपालको सूचना प्रविधिको विकासमा राम्रै भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

सूचना प्रविधिका जनशक्ति उत्पादन, साइबर सुरक्षलगायतका सवालमा दुई देशबिच सहायता आदानप्रदान बढाउनुपर्ने उहाँले बताउनुभयो । मिडिया र कनेक्टिभिटीको क्षेत्रमा युनान प्रान्तसँग पनि सहयोग आदानप्रदान गर्न सकिने उहाँले बताउनुभयो । नेपालको मिडिया क्षेत्रको अवस्थाबारे चिनियाँ प्रतिनिधिमण्डलको जिज्ञासामा मन्त्री शर्माले आफूहरुले प्रेस स्वतन्त्रतालाई केन्द्रमा राखेर मिडिया प्रवर्धनको काम गरिरहेको बताउनुभयो । अहिले केही पुराना कानुनको संशोधन र नयाँ कानुन निर्माणका लागि मस्यौदा गरिरहेको उल्लेख गर्दै उहाँले त्यसमा प्रेस स्वतन्त्रता, मिडियाको सवलीकरण र पत्रकारको भौतिक तथा पेशागत सुरक्षालाई ध्यान दिइएको बताउनुभयो ।

सिपिसी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख जेङ यानले नेपाल र चीनबिचको लामो सम्बन्ध रहेको उल्लेख गर्दै युनान प्रान्त र नेपालबिच भूगोल, वातावरण र बहुजातीय संस्कृतिमा समानता रहेको बताउनुभयो । आफ्नो प्रान्तमा पर्यटनको राम्रो विकास भएको उल्लेख गर्दै उहाँले नेपालमा पनि पर्यटन प्रवर्धनको महत्वपूर्ण संभावना रहेको बताउनुभयो । जनस्तरको सम्बन्ध विस्तार गर्दै एक आपसको सूचना आदानप्रदान सहज गराउन सके विकासमा योगदान पग्ने उहाँले बताउनुभयो ।

प्रचार विकासको राम्रो माध्यम भएको औल्याउँदै यानले मिडिया क्षेत्रसँग सम्बन्धित सहयोग आदानप्रदानमा आफूहरु इच्छुक रहेको बताउनुभयो । युनान चीनको दक्षिण एशियाली केन्द्र भएकाले यही प्रान्तमार्फत विश्वब्यापीरुपमा सांस्कृतिक आदानप्रदान गर्न सकिने पनि उहाँले बताउनुभयो । भेटमा दुबै पक्षका अधिकारीहरुको सहभागिता थियो ।


प्रकाशित मिति: २ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?