Trending
>>   रेड पाण्डाको छाला सहित एक जना पक्राउ >>   जुवातास खेलिरहेको अवस्थामा ७ जुवाडे पक्राउ >>   हराएका २५ वटा दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण >>   तिहारको बिदामा सर्वोच्च अदालत खुला रहने >>   फाइनलमा फेरि चुक्यो नेपाल, बंगलादेशले जित्यो उपाधि >>   निलम्बित मुख्यसचिव डा. अर्यालले पाए सफाइ >>   धनराज गुरुङ माथि पनि छानबिन र अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक >>   कोरला नाका हेर्ने सशस्त्रको बिओपीमा निर्मित ब्यारेक भवन उद्घाटन >>   सरकारी अस्पतालमा विद्युत महसुल छुट दिलाउन मन्त्री पौडेल सक्रिय >>   बंगलादेशविरुद्ध नेपालले फर्कायो गोल
Logo
१४ कार्तिक २०८१, बुधबार
१४ कार्तिक २०८१, बुधबार

आरन पेसाबाट मनग्य आम्दानी


२७ भदौ, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–४ धावाका मिठु विश्वकर्माले आरन पेसा सुरु गरेका ३५ वर्षभन्दा बढी भइसक्यो । घरसँगै जोडिएको जस्ताको छाना भएको साँघुरो कोठामा आरन व्यवसाय सञ्चालन गरेका विश्वकर्माको समय दैनिक १२ घण्टा त्यहीँ आरनमा बित्छ ।

हरेक बिहान ग्राहकको माग अनुसारका कृषि सामग्री निर्माण गर्नु उनको दिनचर्या बनेको छ । कुटो, कोदालो, हसिँया, खुर्पा मात्र नभएर ग्रामिण क्षेत्रमा आवश्यक पर्ने धेरैजसो फलामका सामानहरु विश्वकर्मा आफैँले तयार पार्छन् । फलाम तथा तामाका भाँडाकुँडा बनाउन परे वरपरका छरछिमेक तथा स्थानीयवासी उनको आरनमा पुग्छन् ।

“आरन चलाएर दुई छोरा र एक छोरीलाई पढाइ उतारेँ”, विश्वकर्माले भने, “यहीँ पेसाबाट जीविकोपार्जन भइरहेको छ, पेसाबाट सन्तुष्ट नै छु ।” श्रीमती र छोराछोरीसहित परिवारका पाँचै सदस्यको पालनपोषण र शिक्षादीक्षा आरन व्यवसायले नै धानेको उनले बताए । “मासिक कति आम्दानी हुन्छ भन्ने यकिन हुँदैन तर यहीँ पेसाबाट घरगृहस्थी चलेको छ”, उनले भने ।

पछिल्लो समय प्रविधि भित्रिँदै गएकाले आरन व्यवसाय गर्न पनि सजिलो भएको विश्वकर्माले बताए । “आरनमा आगो फुक्नका लागि वडा कार्यालयले अनुदानमा उपकरण दिएकाले पहिलेभन्दा हिजोआज काम गर्न धेरै सजिलो भएको छ”, उनले भने, “आरनमा आगो फुक्न बाख्राको छाला काढेर खलात बनाएर आगो फुक्ने गर्नुपर्ने बाध्यता थियो । अहिले त्यो बाध्यता हटेको छ ।”

विश्वकर्माका अनुसार पुरानो आरनलाई सुधारिएको आरनका रुपमा विकसित गरेर लैजानका लागि स्थानीय सरकारले पुराना आरन व्यवसायीलाई अनुदान सहयोग गर्दै आएको छ । गाउँपालिकामार्फत वडा कार्यालयले आरनका लागि आगो पुक्ने मेसिन, वेल्डिङ्ग मेसिन लगायतका उपकरण अनुदानमा उपलब्ध गराएपछि सजिलो भएको उनको भनाइ थियो । “वडा कार्यालयले नयाँ प्रविधि तथा उपकरण सहयोग नगर्दासम्म दर्शन ढुङ्गा ल्याएर रसायन लगाउनु पर्दथ्यो”, विश्वकर्माले भने, “वडाले सहयोगपछि आरन सञ्चालनमा धेरै सुविधा पुगेको छ ।”

गाउँपालिकाले पालिकाभित्र रहेका आरनलाई आधुनिकीकरण गर्दै लैजाने योजनाअनुरुप आर्थिक सहयोग प्रदान गर्दै आएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए । “स्थानीय स्तरमा आरन व्यवसाय गर्दै आएका व्यवसायीलाई पालिकाले आवश्यक सहयोग गर्दै आएको छ”, उनले भने, “यस व्यवसायलाई घरेलु उद्योगसँगै आर्थिक आयआर्जन गर्ने माध्यमका रुपमा विकास गर्दै जाने गाउँपालिकाको योजना छ ।”


प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?