Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

जन्मथलो सुन्तलाबारीवासीको सम्झनामा नेम्वाङ


२७ भदाै, इलाम। इलाम नगरपालिका–७ स्थित सुन्तलाबारीमा जन्मिएका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि मङ्गलबार इलामसहित देश नै शोकमग्न बन्यो । मङ्गलबारको अप्रिय खबर सुनेर सुन्तलाबारीका कृष्ण श्रेष्ठ बुधबार बिहानै नेम्वाङको जन्मघर पुगे ।

नेम्वाङको छिमेकीसमेत रहेका श्रेष्ठले भने, “हिजो दिनभर घरमै बसे । आज बिहानै उठेर उहाँ जन्मिएको घरमा गएँ । ताल्चा लगाएको सुनसान घरको वरिपरि हेरेँ । विगतका मीठा पल सम्झिएँ । विरक्त लाग्यो ।”

अब फेरि देशले अर्को सुवासचन्द्र पाउन मुश्किल हुने उनी बताउछन् । “उहाँ हाम्रो देशको गहना हुनुहुन्थ्यो, नेम्वाङले इलाममा सम्झनायोग्य थुप्रै काम गर्नुभएको छ । इलामको मात्र होइन झापा, पाँचथर र ताप्लेजुङको विकासका लागि पनि महत्त्वपूर्ण योगदान पुर्याउनुभएको छ”, श्रेष्ठले भने । इलाम क्षेत्र नं २ को पश्चिमी क्षेत्रमा करिब रु छ अर्बको लागतमा निर्माणाधीन सडक बनाउनुमा नेम्वाङको योगदान अतुलनीय रहेको उनको भनाइ छ ।

यस्तै इलामको गहनाका रूपमा सानिमा हाइड्रोबाट सोयाङ हुँदै इलाम जोड्ने बाटो बनाउन नेम्वाङको महत्त्वपूर्ण योगदान रहेको श्रेष्ठले बताए । इलामका महत्त्वपूर्ण स्थानको विकासका लागि र व्यापारिक क्षेत्रलाई उक्त सडकले ठूलो टेवा पुर्याउने उनको विश्वास छ ।

नेम्वाङले सहयोग गरेकै कारण इलाममा कोल्डस्टोर, सिटीमार्ट, गौतमबुद्ध सभाहलजस्ता संरचना निर्माण भएको सुन्तलाबारीकी सुशीला नेम्वाङको भनाइ छ । नगरलाई विभिन्न गाउँसँग जोड्ने सडक निर्माणका लागि दातृ निकायसँग सम्पर्क गरेर नेम्वाङले योजना ल्याएको उनले सुनाए। टेलिफोन विस्तार, विद्युतीय विस्तारमा टेवा पुर्याउनुका साथै इलाम अस्पताललाई गुणस्तरीय अस्पताल बनाउन नेम्वाङले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सुशीलाको भनाइ छ ।

सुन्तलाबारी गाउँका ९२ वर्षीय रनबहादुर लिम्बूले विगत सम्झँदै भने, “उहाँको धेरै नबोल्ने गम्भीर स्वभाव थियो । गाउँमा कोहीले झगडा गर्यो भने ऊ रुन्थ्यो”, राईले भने, “भmैझगडा मन नपराउने, धेरै नबोल्ने स्वभाव थियो ।” गएको आम निर्वाचनमा आफूलाई भेटेको स्मरण गर्दै राई भन्छन्, “आशीर्वाद चाहियोभन्दा मैले चिताएको पुगोस् भनेको थिएँ । म जीवितै छु ऊ बितेको खबर सुन्दा मेरो भक्कानो छुट्यो ।”

इलामको सुन्तलाबारीमा बाबु रामबहादुर नेम्वाङ र आमा अपिन्द्रकुमारीको कोखबाट २००९ फागुन २८ गते जन्मिएका नेम्वाङले आफ्नो बाल्यकाल त्यहीँ बिताएका थिए । बुवा अदालतको न्यायाधीश भएकाले नेम्वाङले इलाम सदरमुकामको सुन्तलाबारीस्थित आफ्नै घरमा बसेर विद्यालय र उच्च शिक्षा लिए । उनले कानुनमा स्नातक अध्ययन गर्नुभएको थियो ।

इलाम क्षेत्र नं २ बाट पाँचौँपटक संसदीय निर्वाचनमा निर्वाचित प्रतिनधिसभा सदस्य नेम्वाङको निधनपछि इलाम स्तब्ध बनेको छ । यतिबेला यहाँका सबै राजनीतिक दलका नेता, कार्यकर्ताको एउटै बोली सुनिन्छ, ‘इलामको मियो ढल्यो’ । विसं २०७९ को निर्वाचनमा नेम्वाङ आफ्नै ३० वर्षदेखिको विरासत जोगाउँदै एक सय १४ मतान्तरले विजयी बनेका थिए । नेम्वाङले ३० हजार २० मत ल्याउँदा कांग्रेस जिल्ला सभापति डम्बर खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए । नेम्वाङले निर्वाचन जितेको इलाम क्षेत्र नं २ मा इलाम र देउमाई नगरपालिका, माङ्सेबुङ, चुलाचुली, फाकफोकथुम गाउँपालिका, माई नगरका वडा ६, ७, ८ पर्छन् ।

विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेम्बाङ इलाम–२ बाटै ३६ हजर पाँच सय १७ मत ल्याएर विजयी बनेका थिए। प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव थापाले २६ हजार आठ सय ६० मत ल्याएका थिए । २०६४ सालको संविधानसभा निर्वाचनमा नेम्वाङले १७ हजार सात सय ४८ मत ल्याउँदा कांग्रेसका केशव थापाले १४ हजार ४४ मत ल्याए । विसं २०७० को संविधानसभा निर्वाचनमा नेम्वाङले १४ हजार नौ सय ३० मत ल्याउँदा कांग्रेसका भेषराज आचार्यले १२ हजार आठ सय २८ मत ल्याएका थिए ।


प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?