Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१९ माघ २०८२, सोमबार
१९ माघ २०८२, सोमबार

‘तीजमा सस्तो मूल्यको सारी लगाउने हो’


२५ भदौ, कैलाली । तीज नजिकिएपछि कैलालीमा सस्तो मूल्यका सारीको कारोबार भइरहेको छ । विगतका तुलनामा यसवर्ष टीकापुर बजारमा पाँच सयदेखि एक हजार पाँच सयसम्मका सारी किन्ने महिला बढी आउन थालेका छन् । महिला खर्च व्यवस्थापनमा ध्यान दिँदै बजारमा सबैभन्दा सस्तो मूल्यमा पाइने सारी किन्न थालेका छन् । व्यापारी पनि पाँच सयका सारीको कारोबार सबैभन्दा राम्रो भइरहेको बताउँछन् ।

टीकापुरकी अनु रतनले पनि पाँच सय मूल्यकै सारी किनिन् । उनले हरेक पर्वमा नयाँ सारी लगाउन मनलाग्ने भएकाले सारीमा धेरै खर्च गर्न नखोजेको बताइन् । ‘‘विगतमा महँगो सारी किनिन्थ्यो, एकपटक किनेको सारी धेरै कार्यक्रम तथा पर्वमा लगाइन्थ्यो’’, उनी भन्छिन्, ‘‘आजभोलि त्यस्तो गरिदैन, हरेक पर्वमा नयाँ सारी किन्ने र नयाँ लगाउने गरिन्छ । नयाँ पहिरन लगाएपछि फोटो खिच्ने, टिकटक बनाउने, सामाजिक सञ्जालमा राखिन्छ । त्यसपछि त्यो फेरि लगाउन मन लाग्दैन । त्यसैले सस्तो लगाउने बरु नयाँ लगाउने हो । ’’

अनुजस्तै दुर्गा शाहीले पनि सस्तो सारी किन्ने तयारी गरेकी छिन् । घरमा सारी धेरै भएकाले एक दिनका लागि मात्र चाहिने हुँदा उहाँ पनि पाँच सयको साडी किन्ने तयारीमा छिन् । ‘‘घरमा सारी राख्ने ठाउँ छैन तर तीजको व्रत बस्ने भएकाले नयाँ लुगा चाहियो’’, उनी भन्छिन्, ‘‘त्यसैले सबैभन्दा सस्तो किन्ने तयारी छ ।

आर्थिक समस्या पनि छ । त्यसैले धेरै खर्च नगर्ने सोचेकी छु ।’’टीकापुरकी दुर्गा साउद मध्यम खालको साडी किन्ने तयारीमा छिन् । उनी पनि साडीमा अनावश्यक खर्च गर्ने तयारीमा छैनिन् । ‘‘सबै साथीले बजारमा न्यून मूल्यका सारी आएकाले त्यही किन्ने तयारी गरेका छन् ।

म पनि धेरै खर्च गर्दिन’’, उनी भन्छिन्, ‘‘न्यून मूल्यका सारी लगाएमा सबैमा समानता पनि देखिन्छ । यी सारी ग्रामीणदेखि सबै क्षेत्रमा महिलाले लगाउन थालेका छन् ।’’तीज नजिकिएपछि टीकापुर बजारमा किनमेल गर्न बजार आएकी विपना जोशी र एनिका रावल पनि सस्तो सारी लगाउने, अनावश्यक खर्च नगर्ने बताउनुहुन्छ ।

विगतमा बजारमा पनि पाँच सयका सारी पाइदैनथ्ये । सारी भनेपछि मानिस एक हजारमाथिका किन्नुपर्छ भन्ने ठान्थे तर अहिले सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा भाइरल भइदिँदा भाइरल कपडाको प्रयोग पनि बढ्दै गएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका कपडाको मूल्य पनि सबैले थाह पाउने हुँदा ब्यापारी पनि सस्तो मूल्यका कपडा बिक्री गर्न बाध्य छन् ।

तीज नजिकिएपछि सिलाइकटाइको काम गर्नेलाई भ्याइनभ्याइ भएको छ । तीजमा सारी पिको गर्ने, ब्लाउज सिलाउने लगायतका काम बढेको रामदुलारी चौधरी बताउछन् । ‘‘करिब एक महिनादेखि राम्ररी सुतेको छैन, बिहान ४ बजेदेखि राति १२ बजेसम्म काम गर्नुपरेको छ’’, उनी भन्छन्, ‘‘चाडपर्वमा अधिकांशले नयाँ लुगा लगाउने भएकाले हामीलाई काम धेरै हुन्छ ।’’

तीज नजिकिएपछि साडीको कारोबार बढेको व्यापारीको भनाइ छ । व्यापारीका अनुसार विगतमा महँगा साडी बिक्री हुन्थे । आजभोलि उत्पादन नै सस्तो साडी हुने र आर्थिक मन्दिका कारण रकम अभावले पनि सस्ता कपडा बिक्री बढी भइरहेका कालिका टेडर्सका सञ्चालक सिंहमान विष्टले बताए । ‘‘विगतमा धेरैले महँगो सारी किन्ने गर्दथे, तीन वर्ष अघिसम्म पाँच हजारबाट सारी बिक्री हुन्थे’’, विष्टले भने, ‘‘गत वर्षबाट पाँच सयबाट सारी बिक्री सुरु हुन्छ । यसले व्यापारमा असर पारेको छैन । ’’

ब्यापारी विष्टका अनुसार न्यून मूल्यका सारी बजारमा आएपछि सबैले सारी लगाउन थालेका बताउछन् । ‘‘यसपटक सारी नकिन्ने कोही छैनन्, गाउँका सबै महिलाले सारी किनेर लगेका छन्’’, उनी भन्छन्, ‘‘ पाँच सयदेखि एक हजार पाँच सयसम्मका बढी बिक्री भएका छन् ।’’

अर्का ब्यापारी गणेश बस्त्रालयका भवानी ढुङ्गाना पनि न्यून मूल्यका सारीको राम्रो कारोबार भइरहेको बताउछन् । ‘‘सबैलाई सारी चाहिएको छ, बढी मूल्यका कमैले मात्र लिन्छन्’’, उनी भन्छन्, ‘‘अझ घरपरिवारका दिदीबहिनीले एकैनासका लगाउने चलन बढेको छ ।’’

चाडपर्व हाम्रा संस्कृति र सभ्यतासँग जोडिएका छन् । चाडपर्व मनाउँदा अनावश्यक खर्च गर्न नहुने धेरैको सुझाव छ । ‘‘चाडपर्व हरेक वर्ष आउँछन्, हरेक पर्वमा नयाँ र महँगो लुगा लगाउनुपर्छ भन्ने छैन’’, अधिकारकर्मी योजना अधिकारीले भने्, ‘‘सस्तो पहिरन, पुराना कपडा लगाएर पनि पर्व मनाउन सकिन्छ । अन्यले किनेको देखेर अनावश्यक खर्च नगरौँ ।’’


प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?