Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

दूरगामी भिजनसहितको राजनीतिले मात्रै देशको विकास सम्भव छ : विनोद चौधरी


पाल्पा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले दूरगामी भिजनसहितको राजनीतिले मात्रै देश विकास सम्भव हुने बताएका छन् । सोमबार तेस्रो रामपुर महोत्सबको समापन कार्यक्रमका लागि पाल्पा पुगेका कांग्रेस नेता चौधरीले राजनीतिबाट मात्रै विकास सम्भव भएको बताए । उनले राजनीतिमा दूरदर्शी नेताको खाँचो औंल्याए । ‘राजनीति मात्रै एउटा मात्र यस्तो नीति हो, जसले समग्र परिवर्तन ल्याउनसक्छ । राजनीति विकास केन्द्रीत हुनुपर्छ भन्ने मेरो मान्यता हो,’ उनले भने, ‘दूरगामी सोचलाई कार्यान्वयनमा लैजाने सशक्त टुल भनेकै राजनीति हो । राजनीतिको कुर्सीमा सहि व्यक्ति आयो भने एउटा हस्ताक्षरले ५० वटा बुढानिलकण्ठ स्कुल बन्न सक्छन्, ५० वटा उद्योगग्राम बन्न सक्छन् र ५० वटा शास्वतधाम बन्न सक्छन् ।’
उनले ५० वर्षअघि राजपरिवारका सदस्यको अध्ययनका लागि बुढानिलकण्ठ स्कुल खुलेपनि त्यसपछि अर्काे बुढानिलकण्ठ स्कुल स्थापना गर्न नसक्नु सरकारको कमजोरी भएको बताए । ‘५० वर्षअघि राजपरिवारका सदस्यलाई पढाउन बुढानिलकण्ठ खोलियो । ५० वर्षमा दोस्रो बुढानिलकण्ठ स्कुल बनाउन सकेनौं । नेपालीले नै सञ्चालन गरेको यो विद्यालयमा आमनेपालीका छोराछोरी पढिरहेका छन् । उनीहरुले अन्तर्राष्टिय जगतमा प्रतिस्पर्धा गरिरहेका छन्,’ उद्योगीसमेत रहेका कांग्रेस नेता चौधरीले प्रश्न गरे, ‘हामीले किन अर्काे बुढानिलकण्ठ खोल्न सकेनौं ? यसमा हाम्रो व्यवस्थापकीय कमजोरी पनि हो ।’
राजनीतिमा लामो संघर्ष गरेका र योगदान दिएका व्यक्तिहरुको सम्मान हुनुपर्नेमा उल्लेख गर्दै सांसद चौधरीले भने, ‘तर यसका साथै विकास र समृद्धिका बारेमा बुझेकाहरुलाई राजनीतिमा स्थान दिनुपर्छ । त्यसो भयो भने मात्रै समृद्धि सम्भव छ ।’ उनले २०४६ सालमा आफैले उद्योग वाणिज्य संघ तानसेनको भवनको शिलान्यास गरेको प्रसँग उल्लेख गरे । एउटा उद्यमीको प्रयासबाट मात्रै विकास सम्भव नभएकाले आफू राजनीतिमा आएको प्रष्ट पारे । ‘मलाई शास्वतधाम बनाउन २२ वर्ष लाग्यो । नवलपुर उद्योगग्राम बनाउन ३२ वर्ष लाग्यो । तर एउटा उद्यमीले समग्र देशको समग्र विकास र व्यवस्थापनमा परिवर्तन ल्याउन सक्दैन,’ उनले थपे, ‘नेपाल बाहिर जाँदा विश्वभर छरिएर बसेका नेपालीहरुसँग भेट हुन्छ । उहाँहरुले मलाई माया गर्नुहुन्छ । उनीहरुले मलाई मौन एउटा प्रश्न सोधिरहेका हुन्छन्, कि तपाईले आफ्ना लागि त धेरै गर्नुभयो तर देशका लागि के गर्नुभयो ? यहि प्रश्नले मलाई राजनीतिमा ल्याएको हो ।’ चौधरी नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।


प्रकाशित मिति: ८ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?