Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

सुगाको बथानले मकैबाली सखाप


२२ भदौ, कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने किसानले लगाएको मकैबाली सुगाको बथानले खाएर सखाप पार्न थालेको छ । सुगाको बथानले मकैको घोगा खाएर नोक्सानी गर्न थालेपछि स्थानीय किसान चिन्तित भएका हुन् ।

बथानका बथान सुगा बिहान, साँझको समयमा आएर मकैबालीमा पसेर नोक्सानी गर्न थालेको मध्यवर्ती क्षेत्रको शुक्लाफाँटा नगरपालिका–२ का किसान गङ्गा बोहराले बताए । “दश कठ्ठा जग्गामा बर्खे मकैबाली लगाएको थिएँ”, उनले भने, “मकैमा घोगा लाग्न सुरु भएपछि सुगा खेतमा छिर्न थालेका हुन्, पाक्न नपाउँदै पूरै बाली सखाप पारेका छन् ।” सूर्योदय हुनुअघि नै सुगा खेतमा छिर्ने भएकाले थाली ठटाएर सुगा भगाउने गरेको उनले बताए ।

उनका अनुसार बादल लागेको दिन र साँझपख सुगाले मकै खान बढी मन पराउने गरेका छन् । “एक हुल भगाउँछौँ अर्को हुल खेतमा बसेर मकै खान सुरु गर्छ, एकछिनमै पूरै मकैका घोगा खाएर फर्कन्छन्”, सिमलफाँटाका रामबहादुर चौधरीले भने, “सुगा भगाउनकै लागि एक जनाको ड्युटी खेतमै दिनभर हुन्छ ।”

उनले गुनासो पोख्दै भने, “दिउँसो सुगाले मकैबाली खाएर हैरान पार्छन्, राति निकुञ्जबाट छिर्ने बँदेल खेतमा छिरेर बचेको मकै खाएर फर्कन्छन् ।” खेतमा छरेको मकैको बीउसमेत उठाउन मुस्किल हुन थालेको उनले उल्लेख गरे । सुगाकै कारण मकैखेती गर्दा खनजोत, सिँचाइ, मलखादको लागत खर्च नउठ्ने भएकाले अधिकांश किसानले बर्खे मकैबाली लगाउन छाड्दै गएका छन् ।

मध्यवर्ती क्षेत्रका किसानले मकैको सट्टा उखुबाली, धानबालीलगायतको खेती गर्न थालेका छन् । पहिला मध्यवर्ती क्षेत्रको कालागौंडी, रानीपुर, ढकनिया, जोनापुर, पिपलाडी, असैना, सिमलफाँटा, दैजी अधिकांश किसानले मकैबाली लगाउने गरेका थिए ।

सुगाकै कारण हाल नगन्य मात्रामा मात्रै किसानले मकैबाली लगाउने गरेका छन् । स्थानीय किसान नरेन्द्र नेगीले सुगाले गरेको मकैबालीमा क्षतिको मूल्याङ्कन गरी किसानलाई क्षतिपूर्ति दिनुपर्ने बताए । निकुञ्ज कार्यालयलाई क्षतिपूर्तिका लागि जनाउँदै आए पनि सुनवाइ नभएको उनको भनाइ छ ।


प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?