Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

कर्णालीको रैथानेबाली संरक्षण


कर्णाली प्रदेश सरकारले रैथाने बालीको संरक्षण तथा प्रवद्र्धनमा उच्च प्राथमिकता दिएको छ । सरकारले शनिबार यस वर्ष ‘कर्णाली प्रदेश दोस्रो रैथानेबाली संरक्षण तथा प्रवद्र्धन दिवस, २०७९’, मनाएको छ । प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णाली सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले विसं २०७४ फागुन ६ गते कर्णालीलाई अग्र्यानिक प्रदेश बनाउने निर्णय गरेबमोजिम त्यससँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । कृषि मन्त्रालयले प्राङ्गारिक उत्पादनमा वृद्धि गर्न यहाँका रैथानीबाली फापर, कोदो, चिनो, कागुनो, मार्सी धान, सिमी, जौँ, उवाँ, लट्टेलगायतको संरक्षण, प्रवद्र्धनका साथै प्रचार–प्रसारमा पनि जोड दिएको छ । यसअनुरुप विसं २०७८ फागुन ६ गतेदेखि कर्णाली प्रदेश रैथानेबाली संरक्षण तथा प्रवद्र्धन दिवस मनाउन सुरु गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले जानकारी दिनुभयो ।

“कर्णाली आयातित वस्तुमा निर्भर छ भन्ने कुरा भ्रम हो”, उहाँले भन्नुभयो, “यो प्रदेश जहाँ गोठेमल प्रयोग गरी रैथानीबाली उत्पादन गरिन्छ । विषादी र मल प्रयोग छैन । त्यो हरित क्षेत्र हो । कम मात्रमा मलखाद तथा विषादी प्रयोग भएको पहेँलो क्षेत्र हो । जहाँ पूर्णतः विषादी र रासायनिक मल गरिएको छ त्यो खतरा अर्थात् रातो क्षेत्र हो ।” जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गङ्गाराम सुनारले पछिल्लो समयमा कोदो कहाँ फल्छ भनेर थाहा पाउन हाम्रा बालबालिकालाई गाह्रो अवस्था आएको बताउनुभयो । रैथानेबालीमा भिटामिन, प्रोटिन, क्यालोरी कति पाइन्छ भन्ने थाहा पाउन र यसको महत्व र वास्तविकता बुझाउन पाठ्यक्रम तयार हुनुपर्ने प्रमुख सुनारले सुझाव दिनुभयो ।

वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका अध्यक्ष दिनेश खत्रीले कर्णाली प्राङ्गारिक सम्भावना बोकेको एकमात्र प्रदेश भएको दाबी गर्नुभयो । अध्यक्ष खत्रीले भन्नुभयो, “अहिले जुम्लाको अग्र्यानिक उत्पादन किन्न जुम्ला जानुपर्दैन । सुर्खेतमै आउँछ । तसर्थ रैथानीबालीको महत्व, उत्पादन र संरक्षणबारे बुझाउन जरुरी छ ।” उक्त मन्त्रालयका सचिव डा लेखराज दाहालले शैक्षिक क्षेत्रको अनुपम उदाहरण मानिने सुर्खेतको कोपिला भ्याली स्कुलले रैथानेबालीबाट उत्पादित वस्तु खुवाउने लक्ष्य राखेको भन्दै उक्त कामको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । यहाँका शिक्षण संस्थामा प्राङ्गारिक उत्पादनसम्बन्धी जोडिएको विषयवस्तु पढाइ हुनुपर्ने उहाँको भनाइ थियो । कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले प्रदेश सरकारले राखेको लक्ष्य, उद्देश्य र त्यसका लागि थालेको अभियान तथा सञ्चालन गरिएका गतिविधिले सकरात्मक सन्देश गएको बताउनुभयो ।

यद्यपि आयातित वस्तुको उत्पादन रोक्न रैथानीबालीको उत्पादकत्वमा वृद्धि ल्याउनुपर्ने उहाँको भनाइ थियो । उक्त दिवसमा कृषि मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले रैथानेबालीको परिचय, त्यसको इतिहास, महत्व, उत्पादनको अवस्था, घट्नुका कारण, संरक्षण गर्ने उपाय, देखिएका चुनौती तथा समस्या र प्रदेश सरकारले थालेका कदमका बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले कर्णालीमा हेला गरिएको बालीको नै अहिले नेपाली तथा विश्वबजारमा यसको मूल्य र महत्व बढ्दै गएको रहस्योद्घाटन गर्नुभयो । प्रवक्ता कठायतले भन्नुभयो, “मानिसहरूले महत्व बुझ्दै गएपछि अहिले विद्यालयको खाजा कार्यक्रममा पनि यहाँको रैथानेबालीबाट बनेका परिकार खुवाउन थालिएको छ ।” बजारमा पाइने सेतो चामलभन्दा कोदो कैयन गुणामाथि भएको बताउँदै उहाँले खाद्य विविधीकरण, बजारीकरण र उत्पादकत्वमा वृद्धि गरी त्यसको संरक्षण र प्रवद्र्धनका लागि प्रचार–प्रसार तथा निर्यातमा जोड दिइएको उहाँले बताउनुभयो ।

दिवसमा कोपिला भ्यालीले रैथानेबाली कोदो, फापर, चिनो, कागुनो, जौँ, उवा र मार्सी चामलबाट बनेका परिकार अतिथिहरूलाई खुवाएको थियो । उक्त दिवसमा चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्लाले स्याउको चाना, ओखर, सिमी, दाल, मार्सी चामल, ऊनको टोपी, मफलरलगायतका रैथाने उत्पादनको स्टल प्रदर्शनीमा राखी स्थानीय उत्पादन बिक्री–वितरण गरेको थियो ।


प्रकाशित मिति: ७ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?