काठमाडौ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीमा दाई–भाउजु प्रवृत्ति हाबी भएको भन्दै त्यसले पार्टीलाई उभो लाग्न नदिएको टिप्पणी गरेका छन् ।
मंगलबार नेपाली कांग्रेस चितवन क्षेत्र नं २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका नेता केसीले कार्यकर्ताले सत्यलाई बन्धकी राख्नाले पार्टी क्षयीकरणको बाटोमा गएको तर्फ संकेत गरे ।
‘पार्टीका दाईभाउजुले भनिसके अब मान्नु पर्छ भनेर सत्यलाई बन्धकी राख्ने कार्यकर्ता वा नेता कायर वा दास हुन् यीनिहरुबाट पार्टी उभो लाग्दैँन ।’ नेता केसीले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले पछिल्लो समय नेपालमा नेताहरुको प्रवृत्ती लोकतान्त्रिक नभएको र पार्टी भित्रको प्रवृत्तीले नै कांग्रेस कमजोर भएको स्पष्ट पारे । विचार लिएर अन्य जुनसुकै पार्टी आउन सक्ने भए पनि अरु पार्टी कमजोर भएर नेपाली कांग्रेस बलियो हुन नसक्ने बताए ।
‘लोकतन्त्र एउटा प्रकृयाको नाम हो प्रद्धति हो, नेपाली कांग्रेस विचार नमिल्नेहरुसँग पनि सँगसँगै जानुपर्छ भन्ने मान्यता राख्छ । तर पछिल्लो समय नेपालमा नेताहरुको प्रवृत्ती लोकतान्त्रिक नभएको र पार्टी भित्रको प्रवृत्तीले नै कांग्रेस कमजोर भएको हो । विचार लिएर नयाँ पार्टी आउन सक्छ अरु कमजोर भएर कांग्रेस बलियो हुँदैन, अरुको घर भत्केर आफ्नो बलियो हुँदैन ।’ उनले भने ।
पछिल्लो समय धार्मिक द्धन्द्ध बढ्दै गएको बताउँदै त्यसलाई समयमै सरकारले समाधानको पहल गर्नुपर्नेमा जोड दिए ।
‘हामीले बुझ्नु पर्छ जनप्रियतावादबाटै हिटलर जन्मेका हुन् तसर्थ यथार्थ र आदर्शबाट मात्रै देश चल्छ । बहुजातीय, बहुसांस्कृतिक र धार्मिक सहिसुष्णता भएको देशमा धार्मिक द्वन्द्वको खतरा बढ्दै छ । त्यसलाई राज्यले समयमै समाधानको पहल लिनुपर्छ ।’ उनले भने ।
त्यसैगरी पछिल्ला चर्चित काण्डहरुसहित वाइडबडी यति ओम्नीसम्मका काण्डसम्म छानबिन गर्न सरकारले खुट्टा कमाउन नहुने बताए । साथै गाउँगाउँबाट भष्ट्राचारको विषयमा विरोध कार्यक्रम अगाडि बढाँउदै कांग्रेस अगाडी बढ्नुपर्छ नत्र भष्टचारीको रक्षक कांग्रेस भएको आरोप लाग्ने बताए ।
‘हामीले वाइडबडी, ३३ किलो सुन, यति ओम्नी, ६० किलो सुन देखि विभिन्न काण्डहरुको पुरापुर छानबिन गर्न खुट्टा कमाउनु हुँदैन । गाउँगाउँबाट भष्ट्राचारको विषयमा विरोध कार्यक्रम अगाडि बढाँउदै कांग्रेस अगाडी बढ्नुपर्छ नत्र भष्टचारिको रक्षक कांग्रेस हो भन्ने छन् ।’ उनले भने ।
कार्यक्रम नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु टेकप्रसाद गुरुङ, उमा रेग्मी, जिल्ला सभापति राजेश्वर खनाल, पूर्व सभापतिहरु जितनारायण श्रेष्ठ, बिकास कोईराला, बागमति प्रदेश स्वास्थ्यमन्त्री उत्तम जोशी लगायतको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार