Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

अर्जुनधाराको धानबालीमा गबारो र फौजी कीराको समस्या


१९ ,भाद्र ,झापा । झापाको अर्जुनधारा नगरपालिकाका तीनवटा वडामा धानबालीमा गबारो र फौजी कीराको समस्या देखापरेको छ ।

रोग फैलिन थालेपछि किसान चिन्तित भएका छन् । रोगका कारण वडा नं ३, ४ र ७ को ४० बिघा क्षेत्रफलमा लगाइएको धानबाली सखाप भएको र अन्यतिर पनि फैलिइरहेको अर्जुनधारा नगरपालिकाको कृषि शाखा प्रमुख एन्जिला बिडारीले जानकारी दिईन् ।

“गबारो, ढुसी र फौजी कीराको समस्या देखापरेको छ”, उनले समस्याबारे जानकारी दिँदै भनिन्, “केही किसानका खेतमा धानबाली सखाप भएको अनुगमनबाट देखिएको छ भने तत्काल नियन्त्रण गरिएन भने अन्यतिर फैलिने सम्भावना छ ।”

रोग नियन्त्रण गर्न किसानलाई कीटनाशक विषादी दिएर पठाउने र रोग नियन्त्रण गर्ने उपाय सिकाउने गरिएको उनले बताईन् ।

हुर्किन लागेको धानबालीमा रोग फैलिएपछि चिन्तित बनेका किसान मर्न थालेको धानको बोटै बोकेर नगरपालिकाको कृषि शाखामा जाने गरेका छन् ।

रोगको समस्या सबैभन्दा बढी वडा नं ७ मा रहेको शाखा प्रमुख बिडारीले बताईन् । “परम्परागत तरिकाले खेती गर्दा यस्तो समस्या देखापर्ने धेरै सम्भावना हुन्छ”, उनले भनिन्, “धान रोपेपछि गोडमेल गर्ने र पानी पटाइरहने बानी हाम्रा किसानको छैन । खेतीमा रोगले आक्रमण गरिरहेको छ भने बेलैमा त्यसको नियन्त्रणको उपाय गर्नुपर्छ ।”

किसान समस्या भएपछि ढिलो सम्पर्कमा आउने गरेको कृषि शाखाको गुनासो छ । किसान रोगाएको धानको बोटै बोकेर कार्यालयमा आउन थालेपछि कृषि शाखाका प्राविधिक टोलीले सङ्क्रमित क्षेत्रको अनुगमन गरेको छ ।

‘फिल्ड’मै गएर किसानसँग बुझ्ने, समस्याको अवस्था हेर्ने र कीटनाशक विषादी प्रयोगको तरिका सिकाउने गरिएको उनले बताईन् । नगरपालिकाको कृषि शाखाले किसानलाई औषधि निःशुल्क वितरण गरिरहेको जनाएको छ ।

अर्जुनधारा–३ का युवराज इङ्नामले किसानले पाँच कठ्ठादेखि एक बिघासम्मको जमिनमा लगाएको धानबालीमा रोग देखापरेको बताए । “केही किसान नगरपालिकाको कृषि शाखामा जानुभयो र औषधि लिएर आउनुभयो”, उनले भने, “धेरैजसो किसान खेतमा डुलिरहनुभएको छ । के औषधि कहाँबाट ल्याउने हो भन्ने उहाँहरूलाई जानकारी नै छैन ।”

वडा नं ३ का वडासचिव खगेन्द्र लिङ्देनले किसानहरू रोग लागेर पहेँलो भइसकेको धानको बोट लिएरै आउने गरेको बताए । आफ्नो वडाको लगभग २० बिघामा रोग देखिएको जानकारी दिए ।

नगरको कृषि शाखाले किसानलाई क्लोरोफाइलिन प्लस, एमामेक्टिन बेन्जाएटलगायतका कीटनाशक विषादी निःशुल्क उपलब्ध गराइरहेको छ ।

जिल्ला कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतनाथ भण्डारीले जिल्लाको धानबालीमा फाट्टफुट्ट मात्र रोगको समस्या देखापरेको जानकारी आएता पनि प्रकोपकै रूपमा नफैलिइएको बताए ।

उनले गबारो, ढुसी र फौजी कीराको सङ्क्रमण फैलिएको भए सम्पर्कमा आउन किसानलाई आह्वान गरेका छन् ।


प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?