Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

अर्जुनधाराको धानबालीमा गबारो र फौजी कीराको समस्या


१९ ,भाद्र ,झापा । झापाको अर्जुनधारा नगरपालिकाका तीनवटा वडामा धानबालीमा गबारो र फौजी कीराको समस्या देखापरेको छ ।

रोग फैलिन थालेपछि किसान चिन्तित भएका छन् । रोगका कारण वडा नं ३, ४ र ७ को ४० बिघा क्षेत्रफलमा लगाइएको धानबाली सखाप भएको र अन्यतिर पनि फैलिइरहेको अर्जुनधारा नगरपालिकाको कृषि शाखा प्रमुख एन्जिला बिडारीले जानकारी दिईन् ।

“गबारो, ढुसी र फौजी कीराको समस्या देखापरेको छ”, उनले समस्याबारे जानकारी दिँदै भनिन्, “केही किसानका खेतमा धानबाली सखाप भएको अनुगमनबाट देखिएको छ भने तत्काल नियन्त्रण गरिएन भने अन्यतिर फैलिने सम्भावना छ ।”

रोग नियन्त्रण गर्न किसानलाई कीटनाशक विषादी दिएर पठाउने र रोग नियन्त्रण गर्ने उपाय सिकाउने गरिएको उनले बताईन् ।

हुर्किन लागेको धानबालीमा रोग फैलिएपछि चिन्तित बनेका किसान मर्न थालेको धानको बोटै बोकेर नगरपालिकाको कृषि शाखामा जाने गरेका छन् ।

रोगको समस्या सबैभन्दा बढी वडा नं ७ मा रहेको शाखा प्रमुख बिडारीले बताईन् । “परम्परागत तरिकाले खेती गर्दा यस्तो समस्या देखापर्ने धेरै सम्भावना हुन्छ”, उनले भनिन्, “धान रोपेपछि गोडमेल गर्ने र पानी पटाइरहने बानी हाम्रा किसानको छैन । खेतीमा रोगले आक्रमण गरिरहेको छ भने बेलैमा त्यसको नियन्त्रणको उपाय गर्नुपर्छ ।”

किसान समस्या भएपछि ढिलो सम्पर्कमा आउने गरेको कृषि शाखाको गुनासो छ । किसान रोगाएको धानको बोटै बोकेर कार्यालयमा आउन थालेपछि कृषि शाखाका प्राविधिक टोलीले सङ्क्रमित क्षेत्रको अनुगमन गरेको छ ।

‘फिल्ड’मै गएर किसानसँग बुझ्ने, समस्याको अवस्था हेर्ने र कीटनाशक विषादी प्रयोगको तरिका सिकाउने गरिएको उनले बताईन् । नगरपालिकाको कृषि शाखाले किसानलाई औषधि निःशुल्क वितरण गरिरहेको जनाएको छ ।

अर्जुनधारा–३ का युवराज इङ्नामले किसानले पाँच कठ्ठादेखि एक बिघासम्मको जमिनमा लगाएको धानबालीमा रोग देखापरेको बताए । “केही किसान नगरपालिकाको कृषि शाखामा जानुभयो र औषधि लिएर आउनुभयो”, उनले भने, “धेरैजसो किसान खेतमा डुलिरहनुभएको छ । के औषधि कहाँबाट ल्याउने हो भन्ने उहाँहरूलाई जानकारी नै छैन ।”

वडा नं ३ का वडासचिव खगेन्द्र लिङ्देनले किसानहरू रोग लागेर पहेँलो भइसकेको धानको बोट लिएरै आउने गरेको बताए । आफ्नो वडाको लगभग २० बिघामा रोग देखिएको जानकारी दिए ।

नगरको कृषि शाखाले किसानलाई क्लोरोफाइलिन प्लस, एमामेक्टिन बेन्जाएटलगायतका कीटनाशक विषादी निःशुल्क उपलब्ध गराइरहेको छ ।

जिल्ला कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतनाथ भण्डारीले जिल्लाको धानबालीमा फाट्टफुट्ट मात्र रोगको समस्या देखापरेको जानकारी आएता पनि प्रकोपकै रूपमा नफैलिइएको बताए ।

उनले गबारो, ढुसी र फौजी कीराको सङ्क्रमण फैलिएको भए सम्पर्कमा आउन किसानलाई आह्वान गरेका छन् ।


प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?