Trending
>>   मोवाइल फुड ल्याव भ्यानबाट दक्षिणकाली नगरपालिका क्षेत्रमा रहेका खाद्य पदार्थको अनुगमन >>   एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत >>   सार्वजनिक पर्खालका भित्तामा कलात्मक भित्ते चित्र (फोटो फिचर ) >>   फोहोरमा राजनीति गर्ने र गराउने दिन सकिए >>   बिना राउत र गायक रबिनको ‘तिमी हिँड्ने बाटो’ सार्वजनिक >>   इमान्दारितापूर्वक आत्मसमीक्षा गर्दै अगाडि बढौँः अध्यक्ष प्रचण्ड >>   ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबिच शिष्टाचार भेट >>   प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छ : परराष्ट्रमन्त्री डा राणा >>   पुनहिलमा विद्युत् र खानेपानीको समस्या >>   रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो
Logo
३० कार्तिक २०८१, शुक्रबार
३० कार्तिक २०८१, शुक्रबार

त्रिपन्नौँ पटक रक्तदान गरेका बजिमयको अनुभव : ‘जति रक्तदान गर्यो, उति स्वस्थ्य भइँदोरहेछ ’


१८ ,भाद्र ,खोटाङ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमयले शनिबार रक्तदान गरे ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित शङ्खधर साख्वाचोकका ५२ वर्षीय बजिमयले रक्तदान गरेको यो ५३ औँ पटक हो ।

सुत्केरी हुनेक्रममा अधिक रक्तश्राव भएर सिकिस्त बिरामी परेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी कविता राईका लागि उनले सो रक्तदान गरे थिए । कविताको अवस्था अहिले सामान्य बन्दै गएको चिकित्सक कृष्णकुमार राईले जानकारी दिएका छन् ।

बजिमयले पहिलोपटक ३० वर्षको उमेरमा रक्तदान गरेका थिए । सत्र वर्षअघि रेडक्रसका आजीवन सदस्य बनेका उनले विसं २०६० सालमा पहिलोपटक साविक टेम्मा गाविस हाल दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माकी शारदा मगर (राई)लाई रक्तदान गरेका थिए ।

तत्कालीन समयमा रक्तदान गर्न अस्पताल पुग्दा स्वास्थ्यकर्मीले नै विभिन्न डर, त्रास तथा भ्रम सिर्जना गर्ने गरेको उनले स्मरण गरे ।

“टेम्माकी शारदा मगर अधिक रक्तश्राव भएर अस्पताल आउनुभएको रहेछ । धामी/झाँक्री लगाउँदै गाउँमै बस्नुभएकी उहाँ (शारदा)लाई रगत दिनुपर्ने भयो”, उनले भने, “अन्तिम अवस्थामा पुग्नुभएकी उहाँलाई रक्तदान गर्न जाँदा स्वास्थ्यकर्मीले नै नदिन आग्रह गरेका थिए । ‘रक्तदान, जीवनदान’ भन्ने नारा सम्झेर मैले उहाँलाई दिएँ ! अहिलेसम्म उहाँ जीवित हुनुहुन्छ । ती दिदीले अहिले पनि बेला–बेला फोन गर्नुहुन्छ । उहाँका छोराछोरी मामा भन्दै भेट्न आउँछन् । यसैमा आनन्दित छु ।”

रेडक्रसमा दोस्रो कार्यकालका लागि मन्त्री चयन भएर काम गरिरहेका बजिमय कसैलाई रक्तदान गर्न पाउँदा आफूलाई सबैभन्दा आनन्दित महसुस हुने गरेको बताउछन्।

“मैले दिएको रगतले धेरैको ज्यान बँचेको छ । उहाँहरुले आफूलाई ठीक भइसकेपछि फोन तथा भेटेर धन्यवाद दिने गरेका छन् । यो नै सबैभन्दा बढी खुसीको क्षण लाग्छ मलाई !”, उनले भने, “रातको बाह्र/एक बजे उठेरसमेत रगत दिने गरेको छु । रक्तदान गर्नु आफ्नै लागिसमेत फाइदा हुँदोरहेछ । अहिलेसम्म मलाई कुनै रोग छैन ।”

उमेरले साथ दिएसम्म रक्तदान गर्ने योजनामा रहेको उनले बताए ।” म अहिले ५२ वर्षको भएँ ! ६० वर्षसम्म रक्तदान गर्न मिल्छ । कम्तिमा १०० पटक रक्तदान गर्ने मेरो लक्ष्य थियो । रक्तदान गरेको तीन महिनापछि पुनः दान गर्न मिल्छ तर, जिल्लामा स्थापना गरिएको रक्त सङ्कलन केन्द्रको भण्डारण गृह कम क्षमताको छ । क्षमता कम भएकै कारण रक्त सङ्कलन केन्द्रले मलाई जगेडाकोषको रुपमा बस्न आग्रह गर्दै आएको छ”, उनले भने, “अब मैले २४ पटकमात्र रक्तदान गर्न मिल्छ । यसले मेरो एक सय पटक रक्तदान गर्ने उद्देश्य प्राप्त गर्नसक्ने सम्भवान भएन तर, पनि यो बीचमा धेरैको ज्यान बचाउन सकेकोमा खुसी छु ।”

जिल्लामा अहिले पनि अधिकांश मानिस रक्तदान गर्न डराउने गरेको उनले बताए । “चेतनाको अभावले अधिकांश मानिस अझै पनि रक्तदान गर्न मान्दैनन् । रक्तदान गर्दा आफ्नो लागिसमेत फाइदा हुन्छ”, उनले भने, “आगामी दिनमा गाउँगाउँमा रक्तदानसम्बन्धी सचेतना गोष्ठी सञ्चालन गर्ने तयारीमा छौँ । यसले रगत अभावकै कारण ज्यान गुमाउनुपर्ने अवस्थाबाट जिल्लावासीले मुक्ति पाउँछन् ।”

दश स्थानीय तह रहेको जिल्लामा यसअघि स्थापना गरिएको रक्त सङ्कलन केन्द्र अहिले अवरुद्ध रहेको छ । दिक्तेलस्थित जिल्ला अस्पताल खोटाङको कार्यालय परिसरमा रहेको रक्त सङ्कलन केन्द्र हप्ता दिनअघिदेखि अवरुद्ध हुँदा रगत आवश्यक पर्ने बिरामीका आफन्त आफ्नै आफन्त तथा सेना र प्रहरी गुहार्नुपर्ने अवस्थामा छन् ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले सञ्चालन गर्दै आएको रक्त सङ्कलन केन्द्रका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ ।

अवरुद्ध रक्त सङ्कलन केन्द्रको फ्रिज पुनः मर्मत गरेर केही दिनमै सञ्चालनमा ल्याएपछि रेडक्रसलाई हस्तान्तरण गर्ने तयारी गरिएको नगर स्वास्थ्य शाखा निरीक्षक खेमराज आचार्यले बताए ।

व्यक्ति तथा संस्थाबाट सङ्कलन गरिएका रगत भण्डारण गरेर राखिने फ्रिज बिग्रिएपछि रक्त सङ्कलन केन्द्रमा रगत नहुँदा कतिपय बिरामीलाई बाहिरी जिल्ला रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ ।

भौगोलिकरुपमा विकट मानिएको खोटाङमा सुत्केरी हुन अस्पताल आउने अधिकांश महिलालाई रगत दिनुपर्ने अवस्था रहेको रेडक्रसले जनाएको छ ।


प्रकाशित मिति: १८ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?