Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

उद्धार गरिएका शिशुका अभिभावक भेटिएनन्


१७ भदौ, झापा । भद्रपुर नगरपालिकाले सडक छेउमा बेवारिसे अवस्थामा उद्धार गरिएका एक महिनाभन्दा कम उमेरका स्वस्थ शिशुको अभिभावकको खोजी कार्य सुरु गरेको छ ।

नगर उपप्रमुख एवम् स्थानीय बाल अधिकार समितिकी संयोजक राधा कार्कीले प्रमाण पुग्ने कागजातसहित सात दिनभित्र सम्पर्कमा आएर शिशुलाई लैजान सार्वजनिक सूचना प्रकाशित गरिएको बताए ।

उनका अनुसार यही भदौ १२ गते साँझ पौने ८ बजेतिर भद्रपुर–७ को फुलबारी टोलस्थित सडकको छेउमा सबैले देख्ने ठाउँमा अन्दाजी १४ दिनको पूर्ण स्वस्थ शिशु बेवारिसे अवस्थामा फेला परेको थियो । हाल उक्त शिशुलाई प्रादेशिक अस्पताल भद्रपुरमा उपचारपछि पोषण गृहमा राखिएको छ ।

हरियो कपडामा सुताइएको, सेतो पञ्जा लगाइएको, निधारमा कालो टीका लगाइएको, टिसर्ट र टोपी लगाइदिएको अवस्थामा उक्त शिशुलाई भेटाइएको थियो । छिटो उद्धार होस् भन्ने मनसायले मानिसको प्रशस्त ओहोरदोहोर हुने सडककै छेउमा कसैले शिशुलाई छाडेर गएको हुनसक्ने उपप्रमुख कार्की बताउँछन् ।

स्थानीय बाल अधिकार समितिको बैठक बसेर शिशुका अभिभावक पहिचानका लागि सार्वजनिक सूचना जारी गर्ने निर्णय गरिएको जानकारी दिँदै उपप्रमुख कार्कीले सूचना जारी भएको दुई दिन वितिसक्दासमेत अहिलेसम्म दाबी गर्न कोही पनि नआएको बताए । “डाक्टरहरुले परीक्षण गर्दा शिशु स्वस्थ रहेको भन्नुभएको छ”, उनले भने, “शिशुका बुबाआमा र अभिभावक प्रमाणसहित आउनुभयो भने उहाँहरुलाई नै शिशु जिम्मा लगाउँछौं ।”

बेवारिसे शिशु फेला परेको हुँदा पालनपोषण गर्न इच्छुक ५० जनाभन्दा बढी व्यक्ति स्थानीय बाल अधिकार समितिको सम्पर्कमा आएको समेत उपप्रमुख कार्कीले जानकारी दिए । धर्मपुत्रका रुपमा पालनपोषण गर्न चाहने व्यक्ति डाक्टर, इञ्जिनीयर, प्राध्यापकसमेत रहेको उनले बताइन् ।

“अहिले हामी शिशुको बाबुआमा र अभिभावक खोजिरहेका छौँ”, उनले भने, “बाबुआमा र अभिभावक पत्ता लगाउन सकिएन भने मात्र कानून बमोजिम अदालतले नै शिशुको अभिभावक बन्न इच्छुक व्यक्तिहरुमध्ये कसलाई दिने भन्ने निर्णय गर्नेछ ।” निज बालकका बाबुआमा र अभिभावकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । प्रादेशिक अस्पताल भद्रपुरको स्वास्थ्य प्रतिवेदनअनुसार शिशु लगभग तीन किलो तौलको रहेको छ ।


प्रकाशित मिति: १७ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?