Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

गबारो कीराबाट किसानलाई धानबाली जोगाउनै मुस्किल


१७ भदाै, टीकापुर । कैलाली टीकापुर–१ का किसान हरि चौधरीले चार बिघा जमिनमा धानबाली लगाएका छन् । उनको धानले गाँज हाल्ने समयमा खेतमा गबारो कीराको समस्या देखापरेको छ । गबारो रोगले धानको गुबो मर्न थालेपछि उनले विषादी छर्न थालेका छन् ।

लाखौँ खर्चिएर खेती गरेका उनलाई बाली जोगाउन निकै चिन्ता परेको छ । “धान रोप्दा र सिँचाइमा धेरै खर्च भइसकेको छ । अझ विषादी पनि खर्चिलो छ”, उनले भने, “एक बिघा जमिनमा मात्रै छ हजार बढीको विषादी छर्नुपर्छ । चार बिघामा विषादी छर्न धेरै खर्च लाग्छ । नछरे बाली जोगाउन मुस्किल छ ।”

त्यस्तै अर्का किसान प्रेम विकको खेतमा पनि धानमा गबारो कीराको समस्याले पूरै खेतमा धानको गुबो मर्दै गएको छ । धान फस्टाउने समयमा गुबो मर्न थालेपछि उनले पनि कृषि प्राविधिकको सल्लाहनुसार विषादी छर्ने सोच बनाएकाे बताए । “किसानलाई कहिल्यै सुख भएन, कहिले सिँचाइको अभाव, कहिले छाडा पशु चौपायाको त्रास, कहिले बाढीले बाली नोक्सान गथ्र्यो”, उनले भने, “केही भएन भनी धानबालीमै रोग लाग्यो । अब विषादी छर्न फेरि रकमको जोहो गर्नुपर्ने भयो ।”

टीकापुर वनगाउँका किसान बुद्धिराम चौधरीको धानबाली पनि गबारोले नोक्सान गरेको छ । कृषि विज्ञका अनुसार गबारो धानमा लाग्ने एक प्रमुख शत्रुजीव कीरा हो । धानमा गाँज आउनेदेखि लिएर फूल फुल्ने वा धान पसाउने अवस्थासम्म यसले आक्रमण गरी बर्सेनि ठूलो क्षति पुर्याउने गर्दछ । धानमा पहेँलो गबारो, सेतो, छिर्के, गोल्ड–फ्रिन्ज्ड, कालो टाउके छिर्के र कलेजी रङको बुट्टा गरी छ किसिमका गबारो कीराले धानमा आक्रमण गर्छन् । धानमा गबारो कीराको समस्या तीव्ररूपमा फैलने भएकाले धान केही दिनमा नष्ट हुने गरेको किसान वीरबहादुर चौधरीले बताए ।

“गबारो कीराको सङ्क्रमणले अहिले धानको बोट मर्दै गएका छन्, समयमै उपचार नभए धानबारी नै नष्ट हुन्छ”, उनले भने, “मलगायत अन्य किसानको धानबालीमा यस्तै रोग देखिएको छ ।”

धानखेतमा रासायनिक मल युरिया प्रयोग धेरै, पानीको कमी र सुक्ष्म तत्वको कमीले गबारो कीराको सङ्क्रमण सहजै फैलने कृषि प्राविधिकको भनाइ छ । गबारो कीराको सङ्क्रमण देखिँदा किसानले समयमा ध्यान दिए रोकथाम गर्न सक्ने क्षेत्रीय बीउबिजन प्रयोगशाला कञ्चनपुरका प्रमुख सिद्धराज उपाध्यायले बताए । “यसका लागि रासायनिक विषादीको प्रयोग तथा खेतमा ध्यान दिँदा सहजै नियन्त्रण गर्न सकिन्छ”, उनले भने, “किसानले धानखेतको नियमित अवलोकनसहित नियन्त्रणका भौतिक विधि अवलम्बन गर्नुपर्छ । बालीमा रोग फैलिएमा विषादीको प्रयोग गर्नुपर्ने हुन्छ ।”

प्रमुख उपाध्यायका अनुसार धानबालीमा गबारो कीराको प्रकोप देखिए धान उत्पादनमा कमी हुन्छ । “धान पसाउने बेलामा गबारो कीराको प्रकोप भए बाला पूरै सेतो हुने भएकाले गबारोको सङ्क्रमणदेखि बाला लाग्ने बेलासम्म नियन्त्रणका कार्य गर्नुपर्छ”, उनले भने, “प्रकोपका रूपमा फैलिएको भए कृषि प्राविधिकको परामर्शमा विभिन्न रासायनिक विषादी प्रयोग गर्नुपर्छ ।”


प्रकाशित मिति: १७ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?