Trending
>>   शहीदहरुको सपना पूरा गर्न काँग्रेस सधैं लाग्छ : देउवा >>   राष्ट्रिय शहरी नीतिलाई मूर्त रुप दिन तदारुकताका साथ काम गर्दैछौंः उपप्रधानमन्त्री सिंह >>   सूर्य नेपाल सेन्ट्रल ओपनः तोरण विक्रम शाही शीर्ष स्थानमा >>   धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त >>   ब्लाइण्ड टी २० विश्वकपमा नेपालको पहिलो जित >>   मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री विरुद्ध मुद्दा नचल्ने निर्णय >>   सिटिइभिटी तालाबन्दी निषेध क्षेत्र घोषणा, जायज माग सम्बोधन गर्ने प्रतिवद्धता >>   चीन भ्रमणमा ऋणसम्बन्धि कुनै सम्झौता हुँदैनः प्रधानमन्त्री ओली >>   माघ १ देखि सिन्धुपाल्चोकको सुकुटेमा बीच भलिबल प्रतियोगिता हुने >>   प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैन
Logo
१० मंसिर २०८१, सोमबार
१० मंसिर २०८१, सोमबार

दिक्तेल बजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी’ हुँदै


१७ भदाै, खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी असोज तेस्रो साता ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी’ कार्यक्रम गर्ने भएको छ ।

जिल्लाको दिक्तेल बजारमा धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी असोज १७ देखि २१ गतेसम्म पाँचदिने कला प्रदर्शनी कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो ।

कला, संस्कृति र पर्यटनको प्रवर्द्धनका लागि जिल्लाका १० वटै स्थानीय तहमा भएका पाखा, पखेरा, जङ्गल, खोल्साखाल्सी, खोच, लेकबेँसीका साथै प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको सुन्दर पक्षहरूको प्रचारका लागि ‘लाइभ’ चित्रकला तथा प्रदर्शनी आयोजना गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए।

कार्यक्रममा स्वदेश तथा विदेशका गरी ४० कलाकारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालगायत जिल्लाका अन्य महत्त्वपूर्ण ठाउँको दृश्यलाई क्यानभासमा प्रत्यक्ष उतार्ने छन् ।

“जिल्लाका सबै स्थानीय तहको महत्व झल्किने स्थान तथा क्रियाकलापसम्बन्धी प्रत्यक्ष चित्रकला तथा प्रदर्शनी गर्ने तयारी गरेका छौँ”, उनले भने, “प्रत्यक्ष चित्रकला, संस्कृति र पर्यटनको माध्यमबाट खोटाङको पहिचान देश तथा विदेशमा गराएर पर्यटन प्रवर्द्धन गर्ने हाम्रो लक्ष्य हो ।

लाइभ चित्रकला कार्यशाला तथा प्रदर्शनीले खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन र ती स्थानको महत्व, संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्याउने दाबी गरिएको छ ।”

कला प्रदर्शनीका लागि नगरपालिकाले रु १८ लाख विनियोजन गरेको छ । प्रदर्शनीको अवधिमा स्वदेश तथा विदेशका कलाकारले करिब एक सयको हाराहारीमा क्यानभास पेन्टिङ तयार पार्ने नगरपालिकाले जनाएको छ ।

कलाकारले उतारेका क्यानभासलाई राखेर असोज २० गते दिक्तेलमा चित्रकला प्रदर्शनीसहित स्थानीय परिकारको प्रदर्शनी, विभिन्न जातजातिको सांस्कृतिक झाँकी, स्थानीय कलाकारको नृत्य प्रदर्शनलगायतका कार्यक्रम गर्ने तयारी गरिएको जनाइएको छ ।

चित्रकलालाई केही महिनापछि काठमाडौँ आर्ट ग्यालरीमा लगेर उच्चपदस्थ व्यक्तिमार्फत उद्घाटन गरेर प्रदर्शनीको योजना बनाइएको नगरप्रमुख भट्टराईले बताए । प्रदर्शनीको तयारीका बारेमा नगरपालिकाले विभिन्न पक्षसँग छुट्टाछुट्टै छलफल गर्दै उनीहरूबाट राय तथा सुझाव सङ्कलन गरिरहेको छ ।

यसैगरी क्यानभासलाई सङ्ग्रहालय बनाएर राखिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले आयोजना गर्ने चित्रकला कार्यशालामा जिल्लाका छात्र–छात्रालाई पनि सहभागी गराइने छ ।

प्रदर्शनीका लागि दिक्तेल रुपाकोट मझुवा नगरपालिकाका १५ वटै वडा र अन्य नौवटा स्थानीय तहबाट प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको परिचय र पर्यटकीय महत्वसहितका तस्वीर प्राथमिकीकरण गरिसकिएको छ । चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रमका लागि नगरपालिकाले समय तथा कार्यतालिकासमेत सार्वजनिक गरेको छ ।


प्रकाशित मिति: १७ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?