Trending
>>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

विधिपूर्वक मनाइयो ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व


१४ ,भाद्र ,काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत (जनै) धारणसहित डोरो बाँधेर मनाइएको छ ।

श्रावण महिनामा गरिने स्नान भएकाले यो पर्वलाई श्रावणी स्नान पनि भनिन्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा यो पर्व मनाउन सुुरु गरिएको हो ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताए ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको नाडीमा बाँधिदिएका छन् ।

स्नानपछि जौँ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिएको छ ।

आजको दिन सप्तऋषिहरू काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वमित्रलाई तर्पण दिने गरिन्छ । ऋषिलाई तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।

आजै मन्त्रिएको जनै फेर्ने गरिएकाले नै श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भनिन्छ । वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोका रूपमा मानिन्छ ।

जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रूपमा पूजिन्छ । अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रूपमा लिइन्छ ।

आजका दिन ११ प्रकारका गेडागुडी मिसाई भिजाएर टुसा उमारी क्वाँटी बनाएर खाने गरिन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता छ ।

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइएको छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

यस अवसरमा आज काठमाडौँको पशुपति, गोकर्णेश्वर, डोलेश्वर, सन्तानेश्वरलगायत शिवालय, उपत्यकाको उत्तर–पूर्वी भेगस्थित मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डहरूमा मेला लागेको छ ।


प्रकाशित मिति: १४ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?