Trending
>>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने >>   सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ >>   लोकतन्त्र खोस्न खोजे अरु दुर्गानन्दहरु जन्मिन्छन्:प्रदीप पौडेल >>   चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न प्रधानमन्त्रीको निर्देशन >>   राष्ट्रिय परिचयपत्र प्रणाली १५ सरकारी निकायसँग जोडियो >>   सडक दुर्घटना बढेपछि प्रशासनको कडाइ : काठमाडौँ–हेटौँडा रुटमा समयसीमा तोकियो >>   आईतवारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव >>   मोबाइलसँगै बाथरुम पस्दै हुनुहुन्छ ? हुन सक्छ यस्तो समस्या ! >>   मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैनः महामन्त्री पौडेल >>   फिल्डिङमा चुकिरहेका छौं– सन्दीप लामिछाने
Logo
२७ कार्तिक २०८३, शुक्रबार
२७ कार्तिक २०८३, शुक्रबार

सगरमाथामा प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिकलाई सम्मान


१४ भदौ, काठमाडाैँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई सम्मान गरिएको छ । बाबु एडभेन्चर प्याराग्लाइडिङ, सेभेन समिट ट्रेक्स प्रालि र नेपाल विग माउण्टेन ट्राभस कम्पनीले उनलाई बुधबार सम्मान गरेको हो ।

चिनियाँ नागरिकले सानटाओले गत मे १८ तारिखमा सगरमाथाको आठ हजार मिटर उचाइदेखि बेस क्याम्पसम्म प्याराग्लाइडिङ गरेका थिए । सम्मान कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले नेपालमा हिमालको शिरबाट प्याराग्लाइडिङ गरिनु पर्यटन क्षेत्रका लागि नयाँ सम्भावना भएको बताए ।

“नेपाल पर्यटन क्षेत्रको अथाह सम्भावना भएको मुलुक हो, हामीसँग भएको पर्यटकीय क्षेत्रलाई विश्वमाझ पु¥याएर यस क्षेत्रबाट विदेशी मुद्रा आर्जनमा लाग्नुपर्छ”, उनले भने । नेपालले प्याराग्लाइडिङ क्षेत्रलाई अगाडि बढाउनका लागि विद्यालय नै सञ्चालन गरेर शिक्षा प्रदान गर्दै आइरहेको उनको भनाइ थियो ।

प्याराग्लाइडिङ आरोही चिनियाँ नागरिक ली सानटाओले आफूले पहिलोपटक सन् २०१५ मा पोखरामा प्याराग्लाइडिङ गरेको स्मरण गर्दै सोही समयदेखि नै सगरमाथामा प्याराग्लाइडिङ गर्ने सपना बुनेको बताए ।

“मैले सन् २०१५ मा पोखरामा प्याराग्लाइडिङ गरेपछि सन् २०१६ मा प्याराग्लाइडिङ कोर्ष पढेर क्रमशः पाँच हजार, छ हजार र सात हजार मिटर अग्ला चीनका हिमालमा प्याराग्लाइडिङ गरेँ, त्यसपछि सगरमाथामा प्याराग्लाइडिङ गर्ने इच्छा जाग्यो र सगरमाथाबाट प्याराग्लाइडिङ गरेँ”, उनले भने ।

वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले पर्यटन क्षेत्रमा नयाँ कुरा बिक्री गर्नसके देशको विकासमा पर्यटनले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । “पर्यटनको हिसाबले विश्वको उत्कृष्ट मुलुक नेपाल हो, नेपालको पर्यटन रहेन भने विश्वको पर्यटन रहन सक्दैन”, उनले भने ।

सेभेन समिट ट्रेक्स प्रालिका सञ्चालक एवं वरिष्ठ पर्यटन व्यवसायी मिङ्मा शेर्पाले नेपालका हिमाल प्याराग्लाइडिङ गर्ने खालका रहेकाले यसलाई सरकारले अगाडि बढाउनुपर्ने बताए । कोरोनापछि नेपालको पर्यटन क्षेत्र लयमा फर्किन थालेको उनको भनाइ थियो ।

त्यसअघि बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सगरमाथाबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई मन्त्रालयमा सम्मान गरेका थिए ।


प्रकाशित मिति: १४ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?