Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेशमा राप्रपाले चाहेर पनि सहयोग गर्ने चरण समाप्त भइसक्यो : राजेन्द्र लिङ्देन


१२ भदाै, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा राप्रपाले चाहेर पनि अहिलेको सरकारलाई सहयोग गर्ने वा विश्वासको मत दिने चरण समाप्त भइसकेको बताएका छन् ।

यूएई र साउदी अरबको भ्रमणबाट आज स्वदेश फर्किएका अध्यक्ष लिङ्देनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग भने, “कतिपय ठाउँमा जिम्मेवार व्यक्तिले सभामुख र एउटा मन्त्री लिने र राप्रपाले  अहिलेको गठबन्धनलाई कोशी प्रदेशमा सघाउने टुङ्गो लाग्यो भन्ने जस्ता प्रचार भए । प्रक्रियाको हिसाबले नै अब राप्रपाले चाहेर पनि सहयोग गर्ने चरण नै समाप्त भइसकेको छ । त्यो झुट कुरा हो ।”

संसदीय समितिमा राप्रपाले विकास तथा प्रविधि समितिको नेतृत्व गर्न पाएको विषयलाई लेनदेनसँग गाँसेर प्रचार गरेकोप्रति पार्टीको ध्यानाकर्षण भएको अध्यक्ष लिङ्देनले बताए । उनले भने, “अहिलेको अवस्थामा सभामुख फालाफाल छ । सभामुख लिन कसैसँग कुनै सहमति आवश्यक पनि छैन, हामीले संसदीय समितिको नेतृत्व लिइराख्दा कुनै प्रकारको लेनदेनको सहमति भएको होइन ।”

उनले संसदीय समितिको नेतृत्व पार्टीले पाएको विषयलाई लेनदेनसँग जोड्न नमिल्ने जिकिर गरे । उनले राप्रपालाई कोशी प्रदेशमा मुख्यमन्त्रीको प्रस्ताव आएको समेत जानकारी गराए । उनले भने, “सभामुख र मन्त्री प्राथमिकताको विषय होइन । हामीले अहिले चाह्यौँ भने सत्ता गठबन्धनबाट मुख्यमन्त्री नै प्राप्त गर्न सक्ने गणितीय अवस्था छ ।”

अध्यक्ष लिङ्देनले कोशी प्रदेशमा संसदीय समितिको सभापति लिने क्रममा सत्ता गठबन्धनसँग कुनै लेनदेन नगरेको र आफूहरुको दलको हैसियतअनुसार समिति सभापति लिएको स्पष्ट पारे । पुस १० को गठबन्धनमै पनि बागमती र कोशीको सभामुख राप्रपाले लिने सहमति भए पनि त्यहाँको अङ्कगणितलाई हेरेर आफूहरुले नलिएको उनको कथन छ ।

यसैगरी अध्यक्ष लिङ्देनले देशको समसामयिक राजनीतिक परिस्थितिमा बहुसङ्ख्यक जनताको आस्थामा चोट पुग्ने काम भइरहेको टिप्पणी पनि गरे । उनले बहुसङ्ख्यक नेपाली जनताको आस्थामा चोट पुग्नेगरी भइरहेको क्रियाकलापमा सरकारी उदासीनता चिन्ताको विषय भएको बताए । उनले भने, “धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न सबै धर्मलाई बराबरी सम्मानसहितको हिन्दूराष्ट्र देशको आवश्यकता हो ।”


प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?