Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

तीर्थयात्रीको उपचारका लागि चिकित्सकको समूह गोसाइँकुण्डमा


११ भदौ, रसुवा । रसुवा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकको टोली गोसाइँकुण्ड पुगेको छ । बागमती प्रदेश पर्यटन तथा सहकारी मन्त्रालय र हिमालय उद्धार सङ्घ काठमाडौँको सहकार्यमा गोसाइँकुण्डमा मेला भर्न गएका तीर्थयात्रीलाई लेक लाग्नेलगायत विविध समस्याको उपचारका लागि सातजनाको डाक्टर समूह गोसाइँकुण्ड पुगेको हो ।

सङ्घका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गोविन्द बस्यालले डा निशान्त जोशीको संयोजकत्वमा माउण्टेन मेडिसीन सोसाइटीका सातजना चिकित्सक गोसाइँकुण्ड पुगेको जानकारी दिए । डा जोशीले हिमालय उद्धार सङ्घको सोलुखुम्बुस्थित फेरिचे स्वास्थ्य चौकीमा काम गरिसक्नुभएको छ । उक्त डाक्टर समूहले १० दिन उक्त क्षेत्रमा सेवा गर्नेछ ।

“उक्त टोलीले गोसाइकुण्ड जाने भक्तजनलाई बाटोमा समेत स्वास्थ्यसेवा प्रदान गर्ने र गोसाइँकुण्ड पुगेर एकादशीदेखि पूर्णिमासम्म स्वास्थ्य जाँच गर्नेछ,”– प्रमुख कार्यकारी अधिकृति  बस्यालले भने ।

सङ्घले सन् १९९७ देखि गोसाइँकुण्डमा डाक्टरको समूह पठाएर निःशुल्क सेवा प्रदान गर्दै आइरहेको सङ्घका अध्यक्ष डम्बर पराजुलीले जानकारी दिए । सङ्घले गोसाइँकुण्ड गएका तीर्थयात्रीलाई निःशुल्क औषधि उपचार र स्वास्थ्यसेवा प्रदान गर्ने अध्यक्ष पराजुलीको भनाइ छ ।

समुद्र सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइकुण्डमा रसुवाका प्रतिनिधिसभा सदस्य मोहन आचार्यको पहलमा भर्खरै मोबाइल फोनको टावरसमेत पुर्याइएको छ । यसअघि गोसाइकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई मोबाइल सम्पर्क गर्न निकै कठिन थियो । एकादशीदेखि भाद्र शुक्ल पूर्णिमासम्म लाग्ने उक्त मेलामा देश तथा विदेशबाट हजारौँ तीर्थयात्री कुण्डमा दर्शन गर्न पुग्ने गरेका छन् । गोसाइकुण्डमा हरेक वर्ष गङ्गादशहरा र जनैपूर्णिमा गरी वर्षको दुई पटक  मेला लाग्ने गर्दछ ।


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?