Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

६ दशकदेखि आरनमा फलाम पिट्दै पदमलाल


९ भदाै, मकवानपुर । खरको छानो र काठका बाकलले घेरिएको छ पदमलाल विश्वकर्माको आरन । टाढाबाट हेर्दै झट्ट देखिन्छ आरन । उनको आरनमा छरपस्ट फलामका टुक्रा छन् भने बनाउन ल्याइएका गाउँलेका हँसिया, कोदालो र अन्य फलामका सामग्री रहेका छन् ।

बिहानको खाजानास्तापछिको उनको दिनाचार्य हुन्छ फलामसँग जुध्ने । मकवानपुरको बकैया गाउँपालिका–५ निवासी पदललाल ७७ वर्षको भए । तेह्र वर्षको उमेरदेखि पुर्खौली पेसालाई अङ्गाल्दै आएका पदमलालको छ दशकभन्दा बढी समय आरनमा फलाम पिटेर बितेको छ ।

गाउँघरमा खेतीपाती गर्नेको सङ्ख्या घट्दै गएपछि आरन पेसा सङ्कटमा पर्न थालेको पदमलालले बताए । तेह्र वर्षको कलिलो उमेरदेखि आरन पिट्ने काम गरेको अनुभव सुनाउँदै उनले पछिल्ला केही वर्षयता फलाम पिट्ने काम कम हुँदै गएको बताए । पछिल्लो समय प्रविधिको विकासले फड्को मारेर खेतबारीमा ट्र्याक्टरको प्रयोग हुन थालेपछि हलो, चाँदे, कोदालीको प्रयोगमा कमी हुँदै जाँदा आरन पेसा सङ्कटमा पुग्न थालेको पदमलालको भनाइ थियो ।

“आरनबाट दैनिकीसमेत चल्न गाह्रो पर्न थालेपछि युवा पुस्ताले यो पेसा गर्न रुचाउदैनन् । पढाइ तथा रोजगारीका लागि अन्यत्र जानेको जमात बढी छ”, उनले भने, “अहिलेसम्म आरनबाटै चार जनाको परिवारको जीविकोपार्जन भइरहेको छ । पुर्खौली पेसा भएकाले पनि छाड्न मन लाग्दैन ।” आफूले अरु काम नजानेको र बाबुबाजेले पनि यही काम गर्दै आएकाले यसलाई नै निरन्तरता दिएको उनको भनाइ थियो ।

पदमलालले फलाम ल्याएर हँसिया, कुटो, कोदालो, खुकुरी, दाउलगायत सामग्री परम्परागत रुपमा बनाउने गर्छन् । पछिल्लो समय कोइला नपाउने, पाए पनि महँगोमा पाइने हुँदा काममा अप्ठ्यारो भएको उनले बताए । पहिलेपहिले काम गरेबापत मकै, चामल भाग लिने चलन रहेको बताउँदै अहिले त्यो चलन हराउँदै गएपछि नगद लिने गरेको पदमलालले सुनाए ।

“आँखाले देखुञ्जेल फलाम पिट्छु र जीविकोपार्जन गर्छु भन्ने लाग्छ । गाउँ विकास भयो, मेसिनबाट खेतीपाती लगाउन थाले । तैपनि केही चिज आरनमै बनाउन आउँछन्, खुसी लाग्छ”, उनले भने, “बजारमा फलामका काम गर्ने ग्रील उद्योग खुलेका छन् । त्यसैले पनि आरन आउन छाडेका हुन् ।” प्रविधिको विकाससँगै पेसालाई बदल्न नसक्दा गाउँका कतिपयले आरन पेसा बन्द गरेर अन्य पेसा गरिरहेका उनले बताए ।


प्रकाशित मिति: ९ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?