Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

रोपवेले किसानलाई सहज


८ भदौ, रूकुम । रुकुम (पूर्व)मा ग्राभिटी गुड्स रोपवेले गर्दा किसानलाई आफ्नो उत्पादन बजारमा पु¥याउन सहज भएको छ । जिल्लाको भूमे गाउँपालिका–४ र ८ मा बनाइएको रोपवेले स्थानीय किसानलाई सहज बनाएको हो । विगतमा एक डोको तरकारी बिक्री गरेर घर फर्कन एक दिनभरि लाग्ने गरेकामा रोपवेका कारण अचेल किसानको आधाभन्दा बढी समय बचत हुने गरेको छ ।

अहिले भूमे –८ कुचिबाङका किसानले आफूले बारीमा उत्पादन गरेको तरकारी रोपवेमार्फत दुई मिनेटमा भूमे–४ को काँडाबगरमा पुर्याउँछन् । जुन ठाउँबाट डोकोमा बोकेर काँडा बगरसम्म पुर्याउँदा पहिले पैदल तीनदेखि चार घन्टा हिँड्नुपरेको कुचिबाङका किसान धनबहादुर बुढाले बताए । “सडक सुविधा छैन, हाम्रो गाउँमा भर्खर ट्रयाकओपन गरिएको छ”, उनले भने, “ट्रयाकओपन गरिएको बाटोमा गाडी नजाने भएपछि हामीले बिहान खाना खाएर एक डोको तरकारी बोकी पैदल खाबाङ, रुकुमकोटलगायतका ठाउँमा जाने गर्थ्यौँ ।” तरकारी बजार पुर्याएर फर्कँदा बाटोमै झमक्कै रात पर्ने गरेको उनले बताए ।

कुचिबाङकै अर्का किसान झलक रोकाले तरकारी प्रशस्त उत्पादन हुने सम्भावना रहँदारहँदै पनि बजार पुर्याउन कठिन हुने भएकाले त्यहाँका किसानले तरकारी खेती नगरेको बताए । कुचिबाङका किसानलाई लक्षित गरेर रोपवे निर्माणको काम सुरु गरेपछि भने त्यहाँका किसानले तरकारी खेती गरेको र अहिले प्रशस्त मात्रामा तरकारी उत्पादन भएको रोकाले बताए । “कुचिबाङमा बन्दा, काउली, मुला, काँक्रा प्रशस्त मात्रामा उत्पादन भएको छ”, उनले भने, “बारीबाट तरकारी टिपेर प्याक गरी रोपवेमार्फत अचेल दुई मिनेटमा काँडाबगर पुर्याउने गरेका छौँ । ” काँडाबगरमा पुगेको तरकारी खाबाङ, रुकुमकोटलगायतका ठाउँमा जाने गरेको उनको भनाइ छ ।

उनीहरूजस्तै भूमे–८ नं वडाका कुचिबाङ, मैबाङ, झिम्का, हाडीलगायतका ठाउँका दुई सय ४२ घरधुरीका किसानलाई रोपवेले आफूले उत्पादन गरेको उपजलाई बजारसम्म पुर्याउन निकै राहत मिलेको त्यहाँका स्थानीयले बताएका छन् । यस्तै मावि कुचिबाङका लेखापाल डिल्ली बुढाक्षेत्रीले विगतका वर्षको बर्खाको समयमा दिवाखाजा कार्यक्रमको सामान बोकेर विद्यालयसम्म पुर्याउन मुस्किल हुने गरेको बताउँदै यस वर्ष भने सजिलै रोपवेमार्फत आवश्यक सामान विद्यालयमा पुर्याएको बताए ।

रुकुम (पूर्व)को भूमे –४ को काँडाबगरबाट भूमे–८ को कुचिबाङसम्म एक हजार एक सय ४४ मिटर लामो रोपवे निर्माण गरिएको छ । युके एडको आर्थिक सहयोग, विकास सरोकार समाज र प्राक्टिकल एक्सनको समन्वयमा ग्राभिटी गुड्स रोपवेको निर्माण गरिएको छ । युके एडको ४३ लाख ३२ हजार तीन सय ९१ र बाँकी श्रमदान गरी जम्मा ४८ लाख ६८ हजार छ सय ४७ लागतमा रोपवे निर्माण गरिएको हो । गत वर्ष माघ २३ मा सुरु भएको रोपवे निर्माणको काम गएको वैशाख २९ मा सम्पन्न भएको रोपवे नेपालका प्राविधिक शोभाकान्त काफ्लेले जानकारी दिए ।

प्राक्टिकल एक्शन नेपाल समुन्ति परियोजनाका प्रमुख देवदत्त भट्टले लुम्बिनी प्रदेशमा निर्माण गरेको ग्राभिटी गुड्स रोपवे यो दोस्रो भएको बताए । पहिलो रोपवे पाल्पामा निर्माण भएको छ । ‘जिरो इनर्जी’मा चल्ने रोपवे निर्माण गर्ने कार्य मात्र ठूलो नभई यसलाई निरन्तररूपमा सञ्चालन गर्नसक्नु नै ठूलो कुरा भएकाले यसको सञ्चालनलाई निरन्तरता दिन यहाँको स्थानीय सरकार सँगसँगै किसानको महत्त्वपूर्ण भूमिका हुने बताए । अहिले रोपवेबाट सामान उकाल्दा र ओराल्दा प्रतिकिलोको दुई लिने गरिएको छ । यसमा ७५ प्रतिशत अपरेटरलाई र २५ प्रतिशत रोपवेको मर्मतमा खर्च गर्ने गरी निर्णय गरिएको छ । यस रोपवेमा कुचिबाङबाट ९० किलो सामान काँडाबगर ओराल्दा काँडाबगरबाट ३० किलो सामान कुचिबाङ पुग्ने गरेको छ । सामान लोड गरी उकाल्दा र ओराल्दा काँडाबगर र कुचिबाङमा बस्ने अपरेटरले रोपवेको तारमा लठ्ठीले हान्ने गरेका छन् । एकपटक लठ्ठीले तारमा हान्दा रोक्ने र दुईपटक हान्दा सामान पठाउने सङ्केत रहेको छ ।

रोपवे सञ्चालनमा आएसँगै भूमे गाउँपालिकाले कुचिबाङलाई कृषि नमूना गाउँ बनाउने गरी योजना बनाइरहेको भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताए। रोपवे सञ्चालनका लागि काँडाबगरबाट बजारीय सामान ३० किलोमाथि उकाल्दा अब कुचिबाङवासीले एकपटकमा ९० किलो उत्पादन काँडाबगर झार्न सक्ने कि नसक्ने भन्ने चुनौती थपिएको जनाउँदै अध्यक्ष श्रेष्ठले त्यस चुनौतीलाई सामना गर्ने गरी कृषिमा काम गर्ने बताए । साथै त्यहाँको उत्पादनलाई बजारीकरणका लागि भूमेमै रहेको मारिङ बहुउद्देश्यीय सहकारी संस्थासँगै अन्य बजारमा सहकार्य गर्ने भूमे गाउँपालिकाले जनाएको छ । जिल्लामै पहिलोपटक रोपवे निर्माण भएपछि किसान उत्साहित भएका छन् ।


प्रकाशित मिति: ८ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?