Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

जैविक मार्गको धरापले मर्दै हात्ती


५ भदाै, कञ्चनपुर । पछिल्लो केही वर्षयता कञ्चनपुरमा मानव वन्यजन्तु द्वन्द्वका घटना बढिरहेका छन् । हात्ती हिँड्ने परम्परागत मार्गमा मानव बस्तीका साथै विभिन्न संरचना बन्न थालेपछि मानव–वन्यजन्तु द्वन्द्वका घटना बढिरहेका हुन् ।

परम्परागत मार्गमा अवरोध आउँदा हात्ती बस्ती पस्न थालेका छन् । जङ्गली हात्तीले बर्सेनि बालीनाली सखाप पार्नाका साथै मान्छे पनि मार्ने गरेको शुक्लाफाँटा नगरपालिका–७ कालापानीस्थित वातावरण मध्यवर्ती सामुदायिक वनका अध्यक्ष लोकेन्द्रराज जोशी बताउँछन् ।

सामुदायिक वन कालापानी गाउँसँगै जोडिएको छ । साउनदेखि कात्तिक र माघ–फागुनमा जङ्गली हात्तीको बथानै आउने गरेको छ । “स्थानीय सामुदायिक वनभित्र पस्न डराउँछन्, हात्ती आएकै हुन्छन्”, उनि भन्छन्, “सामुदायिक वनमा मानव–वन्यजन्तु द्वन्द्व कम गर्न बाँस रोपेका छौँ, त्यहीँ आहार गर्न हात्ती आउँछन् ।” शुक्लाफाँटा–४ कालापानीस्थित सेफ्टी ट्याङ्की भासिदा गत बिहीबार जङ्गली हात्ती मर्यो ।

गत वर्ष वातावरण मध्यवर्ती सामुदायिक वन र वेदकोट नगरपालिकाको हात्तीथलास्थित बैजनाथ मध्यवर्ती सामुदायिक वनमा दुई छावा भेटिएका थिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले उद्धार गरेपछि एउटा त्यसै राति र अर्को हात्तीसारमा १७ दिनपछि मरेको थियो ।

विसं २०७८ मा पुनर्वास क्षेत्रमा पनि हात्ती मृत फेला परेको थियो । त्यसको अघिल्लो वर्ष पनि विद्युतीय धरापमा परेर हात्ती मरेको थियो । हात्तीको बासस्थान क्षयीकरण र पूर्वाधार निर्माणले परम्परागत मार्ग खण्डीकृत हुँदा हात्ती संरक्षणमा चुनौती थपिएको निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐर बताउँछन् । “हात्तीको जैविक मार्ग ‘डिस्ट्रब’ छ, जसले हात्ती आफ्नो ‘रुट’मा हिँड्न सकिरहेको छैन”, उनले भने, “त्यसैले हात्ती यताउता बस्तीतिर आइरहेका हुन् ।” शुक्लाफाँटाको वातावरण मध्यवर्ती र वेदकोटको बैजनाथ मध्यवर्ती सामुदायिक वन हात्तीको करिडोरअन्तर्गत पर्दछन् । भारतको पिलिभित टाइगर रिजर्भबाट हात्ती शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसेमैदान, बडेपानी खोला हुँदै चुरेसम्म पुग्छन् ।

चुरेबाट वातावरण, वैजनाथ मध्यवर्ती सामुदायिक वन, तारापुर हुँदै ढक्का, लालझाडी मोहना संरक्षित क्षेत्र, पुनर्वास, भारतको दुधुवा नेसनल पार्क, कतर्निया हुँदै हात्ती बर्दिया राष्ट्रिय निकुञ्ज पुग्छन् । यसलाई हात्ती हिँड्ने परम्परागत मार्गका रुपमा लिने गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत ऐरले बताए । अहिले यो मार्गमा मानव बस्ती विकासका साथै भौतिक संरचना र पूर्वाधार निर्माण हुँदा हात्तीका लागि धराप बनेका छन् । यस्ता धरापले अकालमा वन्यजन्तु मर्ने गरेको ऐरले बताए । “ढक्कामा शिविर छ, पुनर्वास क्षेत्रमा हुलाकी राजमार्ग साथै मानव बस्ती विकास भएको छ”, निकुञ्जका सहायक संरक्षण अधिकृत ऐर भन्छन्, “हात्तीलाई विचरणका लागि ठूलो भूभाग आवश्यक पर्छ ।”

जैविक मार्गमा रोकावट आएपछि हात्तीले बस्ती पसेर मान्छेलाई आक्रमण गर्ने गरेको उनले बताए । सेफ्टी ट्याङ्कीमा हात्ती मरेको ठाउँमा एक वर्षअघि हात्तीको आक्रमणबाट एक किशोरीको ज्यान गएको थियो । सेफ्टी ट्याङ्कीमा मरेको हात्ती पोथी भएकाले ठूलो क्षति पुगेको छ । “जीवजन्तुको सङ्ख्या बढाउन र कायम राख्न पोथी अनिवार्य हो, त्यसै त पोथीको सङ्ख्या कम छ”, ऐरले भने, “पोथी हात्ती मर्दा निकै क्षति भएको छ ।”

 


प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?