Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

लागुऔषध न्यूनीकरण गर्न ‘हामी स्वयंसेवी’ अभियान


प्रदेश नं १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका १४ वटै जिल्लाका विभिन्न पालिकामा ‘हामी स्वयंसेवी अभियान’ सुरु गरेको छ । लागुऔषध न्यूनीकरण तथा विपद् व्यवस्थापन गर्ने उद्देश्यले स्थानीय तह स्तरीय समन्वय समिति गठन गरी सामुदायिक तथा संस्थागत विद्यालयमा सो अभियान सञ्चालन गरिएको अभियानका झापा संयोजक सन्देश रिजालले बताउनुभयो । उहाँका अनुसार स्थानीय पालिकामध्ये मेचीनगर, भद्रपुर र विर्तामोड नगरपालिकामा कार्यक्रम सञ्चालनका लागि नगरप्रमुखको अध्यक्षतामा समिति निर्माण भइसकेको हो । मन्त्रालयले लागुऔषध प्रयोगकर्ता र कारोबार बढी हुने स्थानको पहिचान गरी धमाधम समिति निर्माण गरिरहेको उहाँले जानकारी दिनुभयो ।

नगरस्तरीय समितिमा उपप्रमुख सदस्य, लागुऔषध तथा विपद् व्यवस्थापनमा काम गर्ने संस्था, पत्रकार, नेपाल स्काउटबाट एक–एक जना सदस्य रहने र पालिकाको शिक्षा शाखा प्रमुख सदस्यसचिव रहने अभियानको कार्यविधि २०७९ मा उल्लेख छ । नगरस्तरमा बनाइएका समितिले विद्यालयमा पढ्दै गरेका किशोरावस्थाका विद्यार्थीलाई विद्यालयमै ‘हामी स्वयंसेवी समूह’ बनाई लागुऔषध तथा विपद् व्यवस्थापनका बारेमा विभिन्न सिर्जनात्मक कार्यक्रममार्फत् विद्यार्थीहरूमा शैक्षिक जनचेतना जगाई नैतिक चरित्रवान, जिम्मेवार र असल नागरिकका रूपमा समाजमा स्थापित हुन प्रेरित गर्न समन्वय गर्ने उहाँको भनाइ छ । नगरमा नगरप्रमुखको अध्यक्षतामा निर्माण भएको समितिले आफ्नो कार्यक्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत माध्यमिक तहका ९ देखि १२ कक्षाका विद्यार्थीलाई ‘हामी स्वयंसेवी समूहमा’ आबद्ध गराउन आवश्यक सहयोग र समन्वय गर्ने उहाँले बताउनुभयो । संयोजक रिजालले कार्यक्रमको प्रभावकारिता तथा गुणस्तरीयताका लागि मन्त्रालयको समन्वयमा जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको संयोजकत्वमा जिल्ला अनुगमन समिति निर्माण गरिसकेको बताउनुभयो ।

जिल्ला अनुगमन समितिमा जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरीको जिल्ला प्रमुख, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख, जिल्ला स्काउट, शिक्षा विकास तथा समन्वय एकाइको प्रतिनिधि, प्याब्सन, एनप्याब्सन, हिसानका एक–एक जना प्रतिनिधि सदस्य र जिल्ला संयोजक सदस्यसचिव रहने कार्यविधिमा व्यवस्था छ । सोहीअनुरुप नै जिल्ला समिति गठन भएको उहाँको भनाइ छ । यसैगरी संयोजक सन्देश रिजालले जिल्लाको बुद्धशान्ति गाउँपालिका, दमक नगरपालिका र अर्जुनधारा नगरपालिकामा समेत समिति गठन गरी काम गर्ने बताउनुभयो ।


प्रकाशित मिति: १५ पुष २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?