Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

ओझेलमा चितवनको गौरीखोला झरना


२ भदाै, भरतपुर । चितवनको गौरीखोला झरना ओझेलमा परेको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने झरनाको प्रचार–प्रसार र पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेको हो ।

झरनासम्म पुग्नका लागि खानी गाउँसम्म मोटरबाटो निर्माण भएको छ । खानी गाउँबाट एक घण्टाको पैदल यात्रामा झरनासम्म पुग्न सकिन्छ । झरनासम्म पुग्नका लागि खानी गाउँबाट रेलिङसहितको सिँढी निर्माण गरिएको भए पनि अधुरै छ । सिँढी निर्माणको आधा काम बाँकी रहेको स्थानीयवासी ज्ञानबहादुर मगरले बताए ।

प्रदेश सरकारको रु १५ लाख बजेटमा तीन सय ५० मिटर रेलिङ निर्माण गरिएको उनले जानकारी दिए । अझै एक किलोमिटर क्षेत्रमा रेलिङ निर्माण गर्नुपर्ने मगरले बताए । “निर्माण गरिएको सिँढीमा पनि घाँस पलाएको छ”, उनले भने, “बजेटको अभावमा काम हुन सकेको छैन ।” गौरी खोला झरनालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने धोको रहेको उनले बताए ।

“यहाँ तीन खण्डको झरना छ, जसले यसको आकर्षण थपेको छ, झरनाको छहरामा पुग्न सकिँदैन”, उनले भने । गाउँपालिकाको खोस्रेपानी मूल र भरतपुर महानगरपालिका–२९ को ढोडेनी मूलको पानी झरनामा मिसिएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलोवाट पाँच किलोमिटरको दूरीमा यो झरना पर्छ । यहाँबाट झन्डै दुई घण्टा पैदल हिँडेर पनि यो झरना पुग्न सकिन्छ ।

“झरना नजिकै रहेको रिग्दी खोलाले पनि यहाँको वातावरणलाई मनोरम बनाउँछ, यो पौडी खेल्न, नुहाउन र माछा मार्न जाने ठाँउ हो”, मगरले भने । झरनामा हिउँदको समयमा फाटफुट मानिस घुम्न आउने गरेको उनले बताए । यो क्षेत्रमा सूर्यदेवी मन्दिर लगायतका धार्मिक क्षेत्र पनि छन् ।

गौरी खोला झरना विकास समितिका अध्यक्ष कविराज गुरुङले बजेट अभावमा झरनासम्म पुग्ने पूर्वाधार विकासको काम गर्न नसकिएको बताए । उनले सिँढीको समेत काम अधुरो हुँदा निर्माण भएको संरचना पनि भत्किन थालेको बताए । अझै रु १५ लाख बजेको व्यवस्था भए झरनासम्म पुग्ने सिँढी निर्माण गर्न सकिने जनाउँदै उनले असला माछाका लागि प्रख्यात रिग्दी खोलामा जल पर्यटनको समेत सम्भावना रहेको बताए ।

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले गौरीखोला झरनालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने बताए । पूर्वाधार निर्माण र प्रचारप्रसारको काम सुरु गरिने जनाउँदै उनले चालु आर्थिक वर्षदेखि काम सुरु हुने बताए ।

“नौ किलोदेखि खानी गाउँसम्म सडक स्तरोन्नतिका लागि यस वर्ष रु २० लाख बजेट विनियोजन भएको छ”, उनले भने, “सडकको काम भएपछि पर्यटकलाई झरनासम्म जान सहज हुनेछ ।” पालिकाले यस वर्ष पर्यटन प्रवद्र्धनलाई जोड दिएको जनाउँदै उनले यहाँका पर्यटकीय क्षेत्रको एकीकृत विकास गरिने बताए ।


प्रकाशित मिति: २ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?