Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

जलाधार क्षेत्र संरक्षणका लागि नदी सम्मेलन


गण्डकी प्रदेशका कृषि, ऊर्जा तथा जलस्रोतमन्त्री बेदबहादुर गुरुङले मानवीय कारण प्राकृतिक सम्पदामा असर परेको बताउनुभएको छ । सहमति संस्थाको आयोजनामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सुरु भएको ‘नारायणी नदी सम्मेलन–२०२३’ लाई सम्बोधन गर्दै स्वच्छ पानी मानव जीवनका लागि अपरिहार्य रहेको छ भन्नुभयो । उहाँले यसको संरक्षणमा सबै तह र तप्काबाट लाग्नुपर्नेमा जोड दिनुभयो । मन्त्री गुरुङले नारायणी नदी सम्मेलनले प्रदेशको जलस्रोत नीति बनाउन सघाउ पुग्ने विश्वाससमेत व्यक्त गरेका छन् । “यो सम्मेलनले निकालेको निष्कर्षका आधारमा प्रदेश र राष्ट्रको जलस्रोत नीति बनाउन मद्दत पुग्छ”, उहाँले भन्नुभयो, “अहिले भइरहेको मानव र प्रकृतिबीचको द्वन्द्व समाधान गर्ने गरी निष्कर्ष निकाल्ने सक्नेमा विश्वस्त छु ।” पूर्व विज्ञान तथा प्रविधिमन्त्री ई गणेश साहले नदी संरक्षणमा सामूहिक प्रयासको खाँचो औल्याउनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा महेश्वर ढकालले नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रमा पानीको महत्व अति नै रहेको जनाउँदै पानीलाई सार्वजनिक सम्पत्तिका रुपमा लिँदै नारायणी, राप्ती र रीऊलगायतका नदीमा हुने दोहन रोक्नुपर्नेमा जोड दिनुभयो ।

नेपालमा पानीको स्रोत सीमित रहेको जनाउँदै महानिर्देशक डा ढकालले आकाशबाट वर्षने पानीलाई जमिनमा रिचार्ज हुने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । “चुरेले पानी सञ्चित गर्ने तथा पानी रिचार्ज गर्ने भएकाले चुरे पर्वतको संरक्षण अहिलेको अपरिहार्य आवश्यकता हो”, उहाँले भन्नुभयो, “पानीमा हुने फोहरमैलाले जलचक्रमा नै असर पर्ने भएकाले पानी स्वच्छ र सफा राख्नु आवश्यक छ ।” भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले मानव जाति र प्राणीका लागि अपरिहार्य रहेको पानी र नारायणी नदीलाई व्यवस्थापन गर्न नीतिगत व्यवस्थापन जरुरी रहेको बताउनुभयो । भरतपुर महानगरपालिकाले नारायणी नदी किनारमा विसर्जन गर्दै आएको फोहर महानगरले व्यवस्थापन गर्ने उहाँले बताउनुभयो । गाउँपालिका महासङ्घका केन्द्रीय अध्यक्ष एवं हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बाढीका कारण नदीजन्य पदार्थ भारततर्फ बगेर खेर गएको जनाउँदै त्यस्ता पदार्थको उपभोग एवं सदुपयोग गर्न मिल्ने ऐनको व्यवस्था गर्नुपर्ने बताउनुभयो । आइसेट नेपालका सल्लाहकार एवं सञ्चालक अजय दीक्षितले नदी, लय र उत्थानशीलताबारे प्रकाश पार्दै जीव प्रणाली, अर्थ प्रणाली र समताको समन्वय हुनुपर्ने बताउनुभयो । डब्लुडब्लुएफका नेपालका अध्यक्ष डा घनश्याम गुरुङले पानीबिना जीवन कल्पनासमेत गर्न नसकिने जनाउँदै पानी शिक्षा चलाउनुपर्ने बताउनुभयो । जलाधार क्षेत्रमा भएका प्रदूषण रोक्दै पानीसँग जोडिएका धर्म, संस्कार रीतिरिवाज एवं संस्कृति, उद्योग सञ्चालन, जलवायु परिवर्तन, नदी संरक्षण तथा संवद्र्धन एवं जैविक विविधताका विषयमा सचेत बन्नुपर्ने उहाँले बताउनुभयो । सहमतिको ‘सिमसार क्षेत्र पुनःस्थापना र नारायणी तटीय सामूहिक प्रयास तथा कार्ययोजना’ परियोजनाका संयोजक दिनेश बास्ताकोटीले नारायणी जलाधार क्षेत्र तथा यहाँ रहेका पानीका स्रोत संरक्षण यसको उपभोग गर्नका लागि सम्बन्धित निकायसँग छलफल गरी मानव र प्रकृतिको लागि संयुक्त कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउने बताउनुभयो । सहमतिका अध्यक्ष होमनाथ सुवेदीले सिमसार क्षेत्रको संरक्षण, नदी तटीय क्षेत्रमा आश्रित परिवारको जीविकोपार्जन सुधार, पानीसँग सम्बन्धित जोखिम कम गर्ने, नदीको अनुगमन, पानीको उचित प्रयोग, स्थानीय सरकारसँग समन्वयमा प्रदेश तथा सङ्घीय सरकारलाई नीति निर्माणमा सहयोग गर्ने कार्यमा सहजीकरण गर्दै आएको बताउनुभयो ।

सो अवसरमा मन्त्री गुरुङले जलाधार क्षेत्र संरक्षण कार्ययोजना विमोचन गर्नुभएको थियो । सम्मेलनले यस क्षेत्रमा गरिएका अध्ययन, अनुसन्धानलाई व्यवस्थित र प्रभावकारी बनाउन सघाउ पुग्ने विश्वास गरिएको छ । नारायणी नदीसँगै सहायक नदी र खोला पानीको मुख्य स्रोत भएकाले यी क्षेत्रमा गर्नुपर्ने कामका विषयमा निचोडमा पुगिने सहमतिका कार्यकारी संयोजक हरिप्रसाद सापकोटाले जानकारी दिनुभयो । नारायणी नदी जलाधार क्षेत्रमा भएका प्रदूषण, योसँग जोडिएका धर्म, संस्कार रीतिरिवाज एवं संस्कृति, जलवायु परिवर्तन, नदी संरक्षण तथा संवद्र्धन एवं जैविक विविधताका विषयमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नुका साथै समूहगतरूपमा छलफल चलिरहेको छ । नारायणी जलाधार क्षेत्रले नवलपुर, चितवन र मकवानपुरका गरी चार लाख ६८ हजार हेक्टर क्षेत्र ओगटेको छ । यहाँका ११ लाख व्यक्ति लाभान्वित छन् । खानेपानीको आधार, बिजुली बत्तीको आधार, कृषि सिँचाइको आधार, पर्यटनको आधार, धार्मिक अनुष्ठानका लागि, जलचरको बासस्थानलगायत जनजीविकाको आधार भएकाले पानीको व्यवस्थापनमा बहस भइरहेको छ ।


प्रकाशित मिति: २ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?