Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

राजमार्ग विस्तार सुरक्षित तरिकाले गर्न निर्देशन


१ ,भाद्र ,काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार कार्य सुरक्षित तरिकाले गर्न निर्देशन दिइएको छ ।

लगातार दुई दिन दुई युवाले ज्यान गुमाएपछि उक्त निर्देशन दिइएको हो ।

निर्माणाधीन राजमार्गअन्तर्गत गत साउन ३० गते भैँसेपाटी सडकखण्डमा धुलिखेल नगरपालिका–८ का २१ वर्षीय अभिषेक न्यौपानेको मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो ।

यस्तै गत साउन ३१ गते धुलिखेलको बाँसघारी नजिकै मिरावेल चोकमा प्यूठान घर भई बनेपामा लघुवित्तमा कार्यरत २७ वर्षीय सुरज गिरीको निधन भएको थियो ।

दुवै जनाले चलाएका मोटरसाइकल निर्माणाधीन क्षेत्रमा ट्रक र मिनीट्रकसित ठोक्किएका थिए ।

बिहीबार प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले राजमार्ग विस्तार गर्दा दुर्घटना नहुने किसिमले काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल १५ दशमलव पाँच किलोमिटर सडकखण्ड सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक चार लेन बनाउने काम भइरहेको छ ।

उक्त आयोजनाका इन्जिनियर जङ्गबहादुर महर्जनले सडक दुर्घटना हुन नदिन नियमित अनुगमन गर्न थालिएको बताए ।

“सडकका खाल्डाखुल्डी तत्काल पुर्न, ट्राफिक चिह्नलाई सही स्थानमा राख्न तथा निर्माण सामग्रीलाई सडक अवरोध नहुने गरी राख्न व्यवसायीलाई निर्देशन दिएका छौँ”, उनले भने ।

साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि २०७९ फागुनदेखि उक्त सडकखण्ड विस्तार थालिएको हो ।

राजमार्गअन्तर्गत पहिलो चरणमा साँगाबाट धुलिखेलसम्म आठ दशमलव चार किमी सडकखण्ड विस्तारका लागि रु चार अर्ब पाँच करोड ६४ लाख तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड सात दशमलव पाँच किमी विस्तारका लागि रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भई काम सुरु भएको हो ।


प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?