Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

‘ओल्के’ चाड मनाइँदै


१ ,भाद्र ,सुदूरपश्चिम । पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा मान्यजन तथा छर–छिमेकीलाई बाँडेर आपसमा मनाइने ‘ओल्के चाड’ आज सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ ।

भाद्र सङ्क्रान्तिका दिन मनाइने यो पर्वको तयारीस्वरुप अघिल्लो दिनदेखि नै प्रत्येक घरमा मीठा–मीठा खानाका परिकार पकाउने तयारी गरिन्छ ।

कामका लागि बाहिर रहेकाहरू पनि यो चाड मनाउन आ–आफ्ना घर फर्किन्छन् ।

ओल्के पर्वमा आफ्ना मान्यजन, इष्टमित्र र छर–छिमेकीलाई सगुनका रूपमा पिँडालुको ‘गाभा’ अर्थात् कलिलो पात, हरियो साग, दूध र दही आपसमा बाँडेर सम्मान गर्ने तथा आशीर्वाद साटासाट गर्ने विशिष्ट खालको मौलिक परम्परा सुदूरपश्चिम प्रदेशमा वषौैँदेखि छ ।

ओल्के पर्वका दिन विवाहिता छोरीलाई माइती घरमा आमन्त्रण गरी पुरी, बावर, माणा, निसौसे, गतानी डुब्कालगायत डोटेली खानाका मीठा परिकार खुवाउने चलन छ । माइतीघरमा आइपुग्ने ज्वाइँ–छोरीलाई मीठा खानाका परिकारका साथै शक्ति र गच्छेअनुसारको दान दक्षिणा दिएर स्वागत गर्ने गरिन्छ ।

यस पर्वमा भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिसेर बनाइएको लेदोबाट हत्केला र खुट्टाको औँला रङ्गाइ रमाइलो गर्ने गरिन्छ ।

यसरी पिसेर लगाइएको भँगेरीको लेदोबाट हत्केला र खुट्टाको औँलाको छाला रातो हुने भई यसले वर्षात्को मौसममा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने छालासम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने जनविश्वास छ ।

रोगको सङ्क्रमणबाट बच्न हातखुट्टा रङ्गाइने हुँदा यसलाई शरीरबाट ‘लुतो फाल्ने’ चाडको रूपमा समेत लिइने गरिन्छ ।

डोटेली लोक सांस्कृतिको मौलिक पर्व ‘ओल्के’का अवसरमा प्रदेश सरकारले भदौ १ गते प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।

युवायुवतीमाझ भने ओल्के पर्वले त्यति महत्व नराखेको पाइएको धनगढीका हेमराज भट्ट बताउछन् ।

“युवा पुस्तालाई यस पर्वबारे त्यति चासो नहुँदा डोटेली मौलिक संस्कृतिका ओल्केजस्ता थुप्रै चाडपर्वको मौलिकता हराउन थालेको देखिन्छ”, उनले भने ।


प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?