Trending
>>   कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू >>   कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ >>   दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील >>   निर्वाचनका लागि मतदाताहरु उत्साही >>   नौविसे-नागढुंगा सडक खण्डको काम अन्तिम चरणमाः ८५ प्रतिशत सम्पन्न >>   इरानमाथि सम्भावित हमला भएमा टप जनरलले नेतृत्व गर्नेछन् : ट्रम्प >>   दिल्लीतर्फ जाँदै गरेको एयर एम्बुलेन्स झारखण्डमा दुर्घटनाः ७ जनाको मृत्यु >>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा
Logo
१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार

अधिकमास अर्थात् मलमास आजदेखि समापन गरिँदै


३१ ,श्रावण ,काठमाडौँ । प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास वा अधिकमास आजदेखि  समापन हुँदैछ ।

साउन २ गतेदेखि सुुरु भएको अधिकमास आज समाप्त हुन लागेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार तीन सय ६५ दिनको सौर वर्ष हुन्छ । तीन सय ५४ दिनको चान्द्र वर्ष हुन्छ ।

सौर वर्ष र चान्द्र वर्षमा प्रत्येक साल ११ दिन समय बढी हुन आउँछ । सौर र चान्द्र वर्षलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ । एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिकमास भनिन्छ ।

महिनामा दुई वटा सङ्क्रान्ति पर्‍यो भने क्षयमास भनिन्छ । ज्योतिषका विद्वान् भास्कराचार्यले आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणिमा मलमास र क्षयमासको स्पष्ट परिभाषा दिनुभएको छ । जसमा भनिएको छ–

असङ्क्रान्तिमासोऽधिमासः स्फुटः स्याद् ।

द्विसङ्क्रान्तिमासः क्षयाख्यः कदाचित् ।।

अर्थात् सङ्क्रान्ति नभएको महिना अधिकमास वा मलमास हो । दुई वटा सङ्क्रान्ति भएको महिना क्षयमास हो । क्षयमास भने कहिले कहिले मात्र हुने गरेको छ । यसअघि क्षयमास २०२० सालमा परेको वास्तुशास्त्री शिव पोखरेलले बताए ।

क्षयमास कात्तिक, मङ्सिर र पुसमा पर्ने गरेको छ । यसमा पनि बढीजसो मङ्सिर र पुसमा क्षयमास पर्छ । कात्तिक महिनामा भने क्षय र अधिकमास दुवै पर्न सक्छ । माघ महिनामा भने क्षय र अधिकमास दुवै पर्दैन । बाँकी आठ महिनामा अधिकमास पर्न सक्छ ।

क्षयमास हुने वर्ष दुई अधिकमास नियमितसमेत पर्छन् । यी अधिकमास क्षयमासभन्दा तीन महिना अगाडि वा पछाडि हुन्छन् । क्षयमासभन्दा पहिले हुने अधिकमासलाई ‘संसर्प’ र पछि हुने अधिकमासलाई ‘अंहस्पति’ भनिन्छ ।

सबै मासको देवता हुन्छन् । मलमास महिनाको देवता नभएपछि मलमास रुँदै भगवान् श्रीकृष्णसँग पुगेर आफूलाई अशुभ मास भनी सबैले हेलाँ गरेको गुनासो गरे । गुनासो सुनेर भगवान् श्रीकृष्णले नै मेरै नामबाट तिमीलाई अब सबैले चिन्नेछन् भनी पुरुषोत्तममासको नाम दिएको पुरुषोत्तममास माहात्म्य नामक ग्रन्थमा उल्लेख गरिएको छ ।

यस अवसरमा रत्नपार्कबाट करिब आठ किमी दक्षिणपश्चिम भेगमा पर्ने मत्स्यनारायण मन्दिरमा मेला लाग्ने गरेको छ । यहाँ मत्स्यनारायणको प्रस्तर मूर्ति छ । स्थानीयवासीले भने बिहान ७ः१५ बजेसम्म मन्दिरमा पूजा आराधना गर्न पाएका थिए ।

मलमासको अवधिभर मत्स्यनारायण अर्थात् मच्छेनारायणमा टाढाटाढाबाट लाखौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् । मलमास अवधिभर कीर्तिपुरबाट चार किमी दक्षिणमा पर्ने मच्छेनारायण मन्दिरमा नारायणको पूजा र पुरुषोत्तममास माहात्म्य वाचन हुने गरेको छ ।

यस वर्ष अहिलेसम्म करिब साढे २० लाख भक्तजनले मत्स्यनारायण मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेको मेला व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका चन्द्रागिरि नगरपालिका–९ का अध्यक्ष अच्युत अधिकारीले राससलाई जानकारी दिए ।

मेला आजदेखि सकिए पनि पूर्णाहुतिसहित धार्मिक विधिअनुसार समापन भने भदौ १ गते गरिने उनले सुनाए । यो महिनामा भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त गरिने विभिन्न धर्मग्रन्थमा उल्लेख गरिएको छ ।

सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार मच्छेनारायण मन्दिरमा छ । माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शङ्ख, चक्र, गधा र पद्म लिएको मूर्ति देख्न सकिन्छ ।

भगवान् विष्णुले दश अवतार लिँदा सबभन्दा पहिले मत्स्य शरीर धारण गर्नुभयो । मत्स्यरुपी भगवान्ले प्रलयकालमा समुद्रमा डुङ्गाको काम गरी वेदलाई सुरक्षा गर्नुभएको पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए ।

यस वर्ष साउन महिनामा अधिकमास परेकाले नेपालीका धेरै पर्व नागपञ्चमीदेखि दसैँ, तिहार एवं छठसमेत पछि सरेको छ । यसअघि २०७८ असोज र त्यसअघि २०७५ जेठ महिनामा अधिकमास परेको थियो ।

यो महिनामा वैदिक सनातन धर्मावलम्बीले घरघरमा पुरुषोत्तममास माहात्म्य पाठ गर्ने र कथा सुनी मनाएका छन् । भगवान् पुरुषोत्तमलाई मालपुवा अर्पण गरी आफन्त र परिवारले खाई पुरुषोत्तम मास मनाइएको छ ।

यस अवसरमा नेपालीले गुरु एवं पुरोहित, छोरी, ज्वाइँ, भाञ्जाभाञ्जीलगायत आफन्तलाई घरमा डाकेर मालपुवा दान गर्ने विधि रहेको छ ।


प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?