Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

सीमामा बग्दै नेपाली भूमि


३१ श्रावण, महेन्द्रनगर । ४२ परिवारको बसाइँ रहेको कुतियाकवर दोधारा चादँनी नगरपालिकाको विकटसँगै नेपाल–भारतको सीमासित जोडिएको बस्ती हो । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसित जोडिएको छ ।

बीसको दशकमा बस्ती बसेको कुतियाकवर लगातार नदी कटानले गाउँ नै जोखिममा रहेपनि सरोकारवाला निकाय भने सीमाको माटो जोगाउने र बस्ती बचाउने सघन उपायमा लागेको छैन् ।

विसं २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि नगरसित जोडिएको कुतियाकवरमा बर्सेनि जोगबुढा र महाकाली नदीले जमिन कटान गरिरहँदा तटबन्ध निर्माणका लागि पहल भएको देखिँदैन् ।

‘पुरानो र सानो सङ्ख्यामा हामी दशकदेखि बसिरहेको भए पनि सुविधाका नाममा सरकारले आफ्नो भूमि बचाउन सक्ने हैसिएत देखाएनन् ।’ स्थानीय टेकबहादुर सुनारले भने, ‘दुई नदीको कटानले कुतिकवर मात्रै बग्ने होइन, दक्षिणतर्फ यहाँ जोगबुढा नदी सीमा नदी बन्ने चुनौती थपिएको छ ।’

दोधारा चादँनी नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले कुतियाकवर सीमा बस्ती करिब ५० बिघा क्षेत्रफलमा फैलिएको बताए । उनले भने, ‘दुवैतर्फ कटान हुँदा बर्सेनि बस्ती साँघुरिँदै गएको छ ।’

उनले अगाडि भने, ‘हिजोआज पनि बस्तीको पश्चिमतर्फ महाकाली नदीले नियमित कटान गरिरहेको छ ।’ सो क्षेत्रको नदी कटान नियन्त्रणका लागि नगरपालिका र दातृ निकायको आर्थिक सहयोगमा अस्थायी तटबन्ध निर्माणका लागि पहल भइरहेको अध्यक्ष सिंहको भनाइ थियो ।

‘अस्थायी तटबन्धले कटान न्यूनीकरण हुन्छ की भन्ने आशा हो,’ उनले भने, ‘वर्षामा हरेकवर्ष कुतियाकवर डुबानको चपेटामा पनि पर्छ ।’

वडाध्यक्ष सिंहले नदी कटानकै कारण सीमा स्तम्भ नं २२ लामो समयदेखि हराइरहेको बताए । ‘कुतियाकवरमा अहिले २१ नम्बर पिल्लर छ ।’ उनले भने, ‘नदी कटानकै कारण २२ नम्बर पिल्लर भएको ठाउँमा अहिले महाकाली बग्छ ।’

कुतियाकवर बस्ती पारी सीमामा भारतको बङ्गाली कलौनी पर्छ । बस्तीमा नेपाल–भारत सीमा स्तम्भ भए पनि दशगजा क्षेत्र भने खाली छैन् ।

कुनै बेला सीमा र राष्ट्रियताको विषयमा यहाँको कुतियाकवरदेखि कालानीसम्म अभियानसमेत सञ्चालन गरिए पनि अहिले कुतियाकवर बगेर सीमा सर्ने अवस्थामा आउनलाग्दा पनि कोही नबोलेको स्थानीयवासीको गुनासो थियो ।

‘यसअघि त यहाँ जनप्रतिनिधिले नगरको रिङ्रोड नै बनाउने आश्वासन दिए ।’ स्थानीयवासी भीम सुनारले भने, ‘विकासका नाउँमा बस्तीको कच्ची सडकमा ग्राइभेलसम्म हालिएको छैन् ।’

विसं २०२९देखि नै बस्ती कटान र डुबानको चपेटामा पर्दै आएको बताउँदै उनले बस्तीसँग सीमा जोगाउन सरकार सचेत हुनुपर्ने बताए ।

‘एक सय ४५ परिवारको बसोबास रहेको कुतियाकवरमा नदी कटानकै कारण अहिले ४२ परिवारमा समेटिएको छ ।’ वडाध्यक्ष सुनारले भने, ‘२१ नम्बर पिल्लरबाट जोगबुढा नदीबीचको गाउँ सधैँ अभावकाबीच सीमा कुरेर बसिरह्यो ।’

बस्तीमा कुतियाकवर सामुदायिक विपद् व्यवस्थापन समिति पनि छ वर्षअघि बनेको र त्यसको नेतृत्व गाउँका टेकबहादुर सुनारले गर्दै आएका छन् ।

‘दुईदिन अघिको बाढीले पनि बस्ती डुबानमा पर्दा जोखिम मोलेरै पनि स्कुल गएका बालबालिका घर फर्किए ।’ टेकबहादुरले भने, ‘यसअघि बस्ती डुब्दा ज्यान जोगाउन अम्बिका मावि परिसरमा पुगेका थियौँ ।’

दातृ निकाय र दोधारा चादँनी नगरपालिकाको सहयोगमा कुतियाकवरमा ‘सेफ हाउस’ निर्माण हुदैछ भने विपद् व्यवस्थापन समितिलाई लाइफ ज्याकेट, बोटलगायत उद्धार सामग्रीसमेत उपलब्ध गराइएको समितिका अध्यक्ष सुनारको भनाइ थियो ।

‘बाढी आउँदा हुने क्षति कम गर्न र तत्काल उद्धार तथा व्यवस्थापनमा स्थानीय प्रशासन सक्रिय भए पनि दीर्घकालीन रुपमा बस्ती जोगाउने गरी योजना बनाउन पहल भएको देखिदैन्’ उनले भने, ‘कटानले बस्ती जोखिम मात्रै होइन सीमाको माटो पनि दिनदिनै नदीले बगाउँदैछ ।


प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?