Trending
>>   टेलिकमको अवरुद्ध सेवा सञ्चालन >>   खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न मन्त्री यादवको निर्देशन >>   भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण >>   मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छौं : मन्त्री पाण्डे >>   दुर्गा प्रसाईकाे नयाँ महाअभियान ‘फस्ट नेपाल,फस्ट नेपाली’ >>   सञ्चालनमा ल्याएको तीन महिना नबित्दै अनिश्चितकालका लागि धरहरा बन्द ! >>   उपनिर्वाचनका लागि मनोनयन दर्ता थालियाे >>   नेपाल टेलिकमको सेवामा पटक-पटक समस्याः फोन नलाग्ने र एसमएम नगएर सेवाग्राही मर्कामा ! >>   उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू: सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ ! >>   संघीयताले आर्थिक केन्द्रहरु बिस्तार भए: अर्थमन्त्री पौडेल
Logo
२ मंसिर २०८१, आईतवार
२ मंसिर २०८१, आईतवार

क्वार्ज क्रिष्टल’ गोरखामै राख्न पहल गरिदिन प्रधानमन्त्रीसँग माग


३० ,श्रावण ,गोरखा । गोरखा नगरपालिकाले प्रहरीले बरामद गरी जिल्ला प्रहरी कार्यालय गोरखामा विशेष सुरक्षाका साथ राखिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ गोरखा दरबार परिसरमा राख्ने व्यवस्था मिलाइदिन माग गर्दै आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ ।

जिल्लाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसहितको टोली प्रधानमन्त्री निवास बालुवाटार पुगेर नगरप्रमुख कृष्णबहादुर रानामगरले प्रधानमन्त्री दाहाललाई टल्कने ढुङ्गा गोरखा दरबारमा नै राख्नका लागि आवश्यक पहल गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाउनुभएको नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरले जानकारी दिईन् ।

“गोरखा नगरपालिका–७, सतिपिपलस्थित चन्द्रबहादुर शाहीको घरबाट गत असार १४ गते बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ भएको खानी तथा भूगर्भ विभागले पुष्टि गरिसकेको छ”, ज्ञापनपत्रमा भनिएको छ, “शाही परिवारले पुर्खौंदेखि कुल देवताका रूपमा पूजा गर्दै आएको अलौकिक शिला गोरखा दरबारमा नै प्रतिस्थापन गर्नु उपयुक्त हुन्छ ।”

प्रधानमन्त्री दाहाललाई बुझाइएको ज्ञापनपत्रमा गोरखा नगर कार्यपालिका बैठक तथा नगरपालिकासहित विभिन्न सङ्घसंस्था र सरोकारवालाको बैठक बसेर टल्कने ढुङ्गा जिल्ला बाहिर पठाउन नहुने र गोरखा दरबार परिसरमा नै आवश्यक सुरक्षासहित राख्ने निर्णय गरिसकेको उल्लेख गरिएको छ ।

गोरखा जिल्लाका आमनागरिक समाज, बुद्धिजीवी, सङ्घसंस्था, राजनैतिक दल तथा सरोकारवाला सबैको मागलाई मध्यनजर गरी जनभावनाअनुसार क्वार्ज क्रिष्टल (अलौकिक शिला) धार्मिक आस्थासँग पनि जोडिएको हुँदा गोरखकाली मन्दिर परिसरमा राख्नका लागि आवश्यक सहयोगका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्रमार्फत अनुरोध गरिएको उपप्रमुख थोकरले जानकारी दिईन् ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले गोरखामा भेटिएको क्वार्ज क्रिष्टल गोरखामा नै राख्नका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको उनले बताईन् ।

खानी तथा भूगर्भ विभागले बरामद गरिएको क्वार्ज क्रिष्टल खानी तथा भूगर्भ विभागमा पठाउन जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिएपछि गोरखा नगरपालिकासहित जिल्लाभित्रका विभिन्न सङ्घसंस्थाले कुनै पनि हालतमा बाहिर पठाउन नहुनेमा जोड दिँदै आएका छन् ।

गोरखा नगपालिका गोरखाले बैठक नै बसेर प्रहरीले बरामद गरेको क्वार्ज क्रिष्टल गोरखा दरबार परिसरमा राख्ने निर्णय गरिसकेको छ ।

शाही परिवारले पनि आफ्नो धार्मिक आस्थाको रूपमा रहेको अलौकिक शिला ‘क्वार्ज क्रिष्टल’ लाई गोरखकाली मन्दिर परिसरभित्रै नै राख्नुपर्ने र आफूहरूले चाहेका बेला समयसमयमा पूजा गर्न पाउनुपर्ने इच्छा व्यक्त गर्दै आएको छ ।

गोरखावासीहरूले खानी तथा भूगर्भ विभागमा राखे पनि पनि क्वार्ज क्रिष्टल राज्य कै हुने र गोरखा दरबारमा राखे पनि पनि राज्यकै सम्पत्तिको हुने भएकाले अलौकिक शिला गोरखा दरबारमा राख्नुपर्ने भन्दै यसले जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनलाई थप सहयोग पुग्ने बताउँदै आएका छन् ।


प्रकाशित मिति: ३० श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?