Trending
>>   टेलिकमको अवरुद्ध सेवा सञ्चालन >>   खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न मन्त्री यादवको निर्देशन >>   भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण >>   मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छौं : मन्त्री पाण्डे >>   दुर्गा प्रसाईकाे नयाँ महाअभियान ‘फस्ट नेपाल,फस्ट नेपाली’ >>   सञ्चालनमा ल्याएको तीन महिना नबित्दै अनिश्चितकालका लागि धरहरा बन्द ! >>   उपनिर्वाचनका लागि मनोनयन दर्ता थालियाे >>   नेपाल टेलिकमको सेवामा पटक-पटक समस्याः फोन नलाग्ने र एसमएम नगएर सेवाग्राही मर्कामा ! >>   उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू: सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ ! >>   संघीयताले आर्थिक केन्द्रहरु बिस्तार भए: अर्थमन्त्री पौडेल
Logo
२ मंसिर २०८१, आईतवार
२ मंसिर २०८१, आईतवार

भीमदत्त राजमार्ग अवरुद्ध हुँदा आकासियो तरकारीको भाउ


२९ ,श्रावण ,बेदकोट (कञ्चनपुर) । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग एक सातादेखि अवरुद्ध हुँदा कञ्चनपुरमा तरकारीको भाउ आकासिएको छ ।

अविरल वर्षापछि कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा खसेको पहिराले सडक अवरुद्ध बनाएको हो ।

एक सातादेखि सडक अवरुद्ध भएसँगै सुदूर पहाड उक्लिने र तराइ झर्ने यात्रुलाई सास्ती हुनाका साथै सुदूरपश्चिमका पहाडी जिल्लाबाट नियमित रुपमा तरकारी ढुवानी हुन सकेको छैन । पहाडी जिल्लाबाट नियमित तरकारी ढुवानी हुन नसक्दा तराइमा तरकारीको मूल्य आकासिएको छ ।

तरकारी बोकेर आएका साधन पहिराका कारण बाटैमा रोकिएका छन् । गाडीभित्र रहेको तरकारी कुहिन थालेका छन् । हाल व्यवसायीले भाडामा भारी बोकाएर तरकारी ओसारिरहेका छन् ।

यसरी पहाडी जिल्लाबाट आउने आलु, बन्दा, काउली, बोडी र टमाटरलगायतको मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन् ।

“आलु ल्याउन सकिएको छैन, ल्याएपछि भाडाले मूल्य दोब्बर भएको छ”, महेन्द्रनगरस्थित सब्जीमण्डीका व्यवसायी विश्रामसिंह धामीले भने, “एक हप्तामा आलुको मूल्य दोब्बर भएको छ ।”

पहाडी जिल्लाबाट आउने आलु पाउनै मुस्किल हुन थालेको उनको भनाइ छ ।

“४० किलोग्रामको आलुका बोरा महेन्द्रनगरमा रु एक हजार सात सयमा पुग्थ्यो, अहिले बोराको रु तीन हजार दुई सय हाराहारी पुगेको छ”, उनले भने, “अहिले आलु प्रतिकिलोग्राम रु ८० सम्ममा बिक्री गर्ने गरेका छौँ ।”

बन्दा, काउली, बोडी, मुला र टमाटरको मूल्य अनपेक्षित रुपमा बढेको व्यवसायीको भनाइ छ ।

एक साताअघिसम्म प्रतिकिलो रु ४० मा बिक्री भइरहेको बन्दा अहिले रु ६० मा किन्नु परेको महेन्द्रनगरका उपभोक्ता घनश्याम पन्तले बताए ।

“केही दिनयता तरकारीको भाउ अनपेक्षित रुपमा बढेको छ”, उनले भने, “काउली प्रतिकिलो रु ५० देखि बढेर रु ७० पुगेको छ ।”

पहाडबाट आउने तरकारी आधा कुहिएको आउने गरेको महेन्द्रनगरस्थित सब्जीमण्डीका व्यवसायी मानबहादुर पालले बताए ।

“धेरै दिन लगाएर तरकारी यहाँ आइपुगेको छ, बोरामा तरकारी आधा त कुहिएको आउँछ”, उनले भने, “सडक बिग्रिएकाले पहाडबाट आउने तरकारी नियमित आइरहेको छैन, त्यसैले तुलनात्मक रुपमा भाउ बढेको छ ।”


प्रकाशित मिति: २९ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?