Trending
>>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ
Logo
२२ कार्तिक २०८३, आईतवार
२२ कार्तिक २०८३, आईतवार

खेलमैदान निर्माण कार्य अलपत्र, खेलकुदका गतिविधि ठप्प


२८ ,श्रावण ,पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा रहेको फिदिम मावि खेलमैदान निर्माण कार्य अलपत्र भएको छ ।

खेलमैदान नहुँदा यहाँ आयोजना हुने खेलकुदका गतिविधि ठप्प भएका छन् । फिदिम नगरपालिका–१ फिदिम बजारको मध्यभागका अवस्थित खेलमैदानमा अहिले कतै झारपात उम्रिएको छ त कतै पानीको आहाल भएको छ ।

विगतमा नियमित खेलकुद प्रतियोगिता तथा अभ्यास सञ्चालन हुने खेलमैदान अहिले एक भागबाट अर्कोतर्फ पार गर्न समेत नसकिने भएको छ ।

फिदिम माध्यमिक विद्यालयको स्वामित्वमा पुरानो खेलमैदानलाई ३० वटा सटर रहेको व्यापारिकस्थल, प्याराफिट, रिटेनिङ पर्खाल, कार्यालय भवन, चेञ्जिङ कोठा र प्रवेशद्वार निर्माण गरी स्तरवृद्धि गर्ने योजनासहित निर्माण थालनी भएको थियो ।

तर निर्माण कम्पनीले गत वर्षदेखि बिना कारण निर्माण कार्य रोकेपछि खेलमैदान अलपत्र भएको हो । यहाँ व्यापारिकस्थलका लागि सटर बनाउने काम आधा सम्पन्न गरेर छोडिएको छ भने कार्यालय भवन निर्माण सुरु नै भएको छैन ।

विसं २०७७ माघ १२ गतेदेखि निर्माण थालिएको खेलमैदान पीएस/किराँतेश्वर/मैनाचुली जेभीले रु १० करोड ७९ लाख ८७ हजार सात सय ८१ मा ठेक्का लिएको थियो । सत्र महिनामा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भए पनि कोभिड–१९ सङ्क्रमण महामारी लगायतका कारण देखाएर पटक–पटक गरी २०८० असार मसान्तसम्म म्याद थप गरिएको थियो ।

सुरुआतमा नियमित काम गरेको निर्माण कम्पनीले करिब ४० प्रतिशत कार्य सम्पन्न भएपछि अलपत्र छोडेको छ । खेलमैदान अलपत्र हुँदा खेलकुद प्रतियोगिता तथा नियमित अभ्यासहरु, सांस्कृतिक कार्यक्रमहरु सञ्चालन हुन सकेका छैनन् ।

विगत एक वर्षदेखि निर्माण कम्पनीले यहाँ कुनै पनि काम गरेका छैनन् । योजनाको वित्तीय प्रगति करिब ३५ प्रतिशत रहेको पाँचथर जिल्ला खेलकुद विकास समितिको कार्यालयका कार्यालय सचिव दुस्यन्त बस्नेतले जानकारी दिए ।

एकातिर खेलकुदका गतिविधि ठप्प हुने र अर्कोतर्फ खेलमैदानको भविष्य अन्योलमा परेपछि फिदिम नगरपालिकाले निर्माण कार्य तत्कालै अघि बढाउन निर्माण कम्पनीलाई ताकेता गरेको थियो ।

खेलकुद कार्यक्रमका अतिरिक्त मेला महोत्सव, सांस्कृतिक कार्यक्रम लगायतबाट यहाँको अर्थतन्त्रमा सघाउने खेलमैदान निर्माण कार्य अघि नबढे नगरपालिकाले खेलमैदान अस्थायी रुपमा सम्याउने बताएको थियो ।

यसपछि निर्माण कम्पनीले नगरपालिकालाई पत्र लेख्दै निर्माण कार्य अघि बढाउने बताइएको छ । मेची राजमार्गसँग जोडिने खेलमैदान निर्माणका लागि पहिलेको भन्दा बढी क्षेत्र छोड्नुपर्ने भन्दै कम्पनीका प्रतिनिधि सुरेश काफ्लेले यही साउन १८ गते खेलमैदानको जग्गा प्रमाणित गरिदिन आग्रह गर्दै फिदि नगरपालिकालाई पत्र लेखेका थिए ।

नगरपालिकाले सोही दिन राजमार्गको मापदण्डअनुसार जग्गा छोडेर निर्माण कार्यअघि बढाउन पत्र पठाएको थियो । साउन २१ गतेदेखि निर्माण कार्य अघि बढाउने समझदारी भएको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए ।

उद्यपि निर्माण कम्पनीले हालसम्म निर्माण कार्य अघि बढाएको छैन । यस खेलमैदानमै पूर्वको प्रतिष्ठित खेलकुद प्रतियोगिता फाल्गुनन्द गोल्डकप आयोजना हुने गरेको थियो ।

यस्तै पाँचथर कपलगायत अन्य खेलकुद प्रतियोगिता, खेलाडीको नियमित खेल अभ्यास पनि यहाँ हुने गरेको थियो । खेलमैदान नहुँदा खेलकुदका गतिविधि ठप्पप्राय भएको फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरको भनाइ छ ।

खेलमैदानको स्तरवृद्धि कार्य अघि बढाउनुअघि पनि कोशी प्रदेश सरकारले दुबो रोप्ने, पर्खाल लगाउनेजस्ता कार्यमा लगानी गर्दै आएको थियो । तर खेलमैदानको पर्खाल भत्किएर खेलकुद गतिविधि अघि बढ्न नसक्ने भएपछि खेलमैदानको स्तरवृद्धिसहित व्यवस्थित संरचना निर्माण थालिएको थियो ।

नयाँ खेलमैदान ‘नाइन साइज’ को हुनेछ । फिदिम माध्यमिक विद्यालयले निर्माण थालिएको ३० वर्षसम्म सञ्चालन गर्ने गरी जिल्ला खेलकुद विकास समितिसँग सम्झौता गरेको प्रधानाध्यापक विनोदकुमार ठाकुरले जानकारी दिए ।


प्रकाशित मिति: २८ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?