Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

भक्तपुरमा १५ लाख नक्कली नोट बरामद


२६ श्रावण, भक्तपुर । प्रहरीले भक्तपुरको चाँगुबाट बिहीबार साँझ ठूलो मात्रामा नक्कली नोट बरामद गरेको छ । प्रहरी वृत्त थानकोट  र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–४ चाँगु बुढाथोकीगाउँबाट रु १५ लाख नेपाली नक्कली नोट बरामद गरेको हो ।

प्रहरी वृत्त थानकोटले नक्कली नोटको कारोबारमा संलग्न भएको आरोपमा नौ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सोही क्रममा पक्राउ परेकामध्ये सिन्धुपाल्चोकको बलेफी नगरपालिका–७ घर भई हाल चाँगु बस्ने ४० वर्षीय अर्जुन सुवेदीको डेरा चाँगु बुढाथोकीगाउँस्थित घरमा छापा मारी नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीले बताए ।

प्रहरीका अनुसार सुवेदीको डेरामा उक्त गिरोहले नक्कली नोट छाप्ने कार्य समेत गर्दै आएका थिए । प्रहरीले सो कोठाबाट कलर प्रिन्टर एक थान, कम्प्युटर एक थान, मोबाइल १२ थान र चार स्कुटरसमेत बरामद गरेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–६ घर भई हाल काठमाडौँको मूलपानी बस्ने २१ वर्षीय मिलन भण्डारी, ३२ वर्षीय शिव भण्डारी र २३ वर्षीय श्रीकृष्ण भण्डारी तथा सुनकोसी गाउँपालिका घर भई काठमाडौँको पेप्सीकोला बस्ने २६ वर्षीय सुशील कार्कीलाई पक्राउ गरिएको छ ।

यसैगरी नवलपरासीको सराबल गाउँपालिका–१ घर भई हाल काठमाडौँ बस्ने पार्वती नेपाली, गुल्मीको बडागाउँ गाउँपालिका–२ घर भई हाल काठमाडौँको सामाखुसी बस्ने २७ वर्षीय सागर आचार्य, अछाम घर भई हाल काठमाडौँको मातातीर्थ बस्ने २३ वर्षीय अर्जुन बुढा तथा झापा घर भई हाल काठमाडौँको समाखुसी बस्ने २४ वर्षीय युवराज राईलाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । बरामद गरिएका सबै सामग्री अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट लगिएको प्रहरी उपरीक्षक केसीले बताए ।


प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?