Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

नयाँ घर पाउँदा लेखर्कका विपन्न दलित परिवार खुसी


२५ ,श्रावण ,भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा १० विपन्न दलित परिवारले नयाँ घर पाएका छन् । आर्थिक अवस्था कमजोर हुँदा घर बनाउन नसकेर टहरामा बस्दै आएका विपन्न परिवारले घर पाएका हुन् ।

गरिबीका कारण वर्षौंदेखि टहरामा पालमुनि बस्दै आएका परिवारको पहिचान गरेर घर निर्माण गरिएको हो । सरकारको जनता आवास कार्यक्रमअन्तर्गत सहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाबाट आएको बजेटमार्फत विपन्न परिवारको घर निर्माण गरिएको वडाध्यक्ष नभराज माङपाहाङले जानकारी दिए ।

एक परिवार बराबर रु तीन लाख ३६ हजार लगानीमा घर निर्माण भएको वडाध्यक्ष माङपाहाङको भनाइ छ । गरिब तथा विपन्न दलित परिवारको घर निर्माणले उनीहरूलाई सहजता भएको उनले बताए । “सरकारको जनता आवास कार्यक्रममार्फत हाम्रो वडाका १० दलित परिवारले नयाँ घर पाएका छन्”, उनले भने, “घर बनाउने क्षमता नहुँदा वर्षौंदेखि कष्टकर जीवन बिताउँदै आएको अवस्था थियो । आर्थिक अवस्था कमजोर भएकाले घर निर्माणका लागि सिफारिस गरेको हौँ ।”

राज्यबाट आएको बजेटबाट आवश्यक मापदण्डअनुसारको घर निर्माण भएको उनको भनाइ छ । राज्यले पनि गाँस, बास कपासलाई नागरिकको मौलिक हकमा राखेकाले सहज बसोबासका लागि वडाले पहल गरेको वडाध्यक्ष माङपाहाङले बताए । “गरिबीका कारण धेरै परिवारको अवस्था दयनीय छ”, उनले भने, “खुला आकासमुनि दिनरात कटाउने अवस्थामा घर पाउँदा उहाँहरूको दैनिकी फेरिएको छ ।”

सो रकमबाट अनिवार्यरूपमा शौचालय निर्माण गर्नुपर्ने उहाँको भनाइ छ । शौचालय निर्माण नगर्ने परिवारले रु ३६ हजार नपाउने वडाध्यक्ष माङपाहाङले बताए । हाल बनेको घरले सबै विपन्न परिवारलाई नसमेटिएकाले आगामी दिनमा पनि घर निर्माणका लागि सम्बन्धित निकायमा पहल गर्ने उनको भनाइ थियो ।

कष्टकर जीवन बिताउँदै आएको अवस्थामा सरकारले घर निर्माण गरिदिएपछि सहज भएको स्थानीयवासी देवीचरण दर्नालले बताए । टहरामा त्रिपाल हालेर वर्षौं कटाएको अवस्थामा घर पाउँदा हर्षित बनेको उनको भनाइ छ । “गरिबीका कारण घर बनाउन नसक्दा पुस्तौँबाट टहरामा त्रिपाल टागेर बसेका थियौँ”, उनले भने, “जीवन निकै कष्टकर बनेको थियो । बर्सात तथा जाडोका समयमा जीवन धेरै नै कष्टकर थियो । घर बनेपछि हामीलाई सहज भएको छ ।”

खुला आकाश तथा गोठ, टहरामा जीवन कटाउँदै आएको अवस्थामा घर पाउँदा दैनिकी फेरिएको स्थानीय फूलमाया विश्वकर्माले बताईन् । घर बनेपछि धेरै सहजता भएको उहाँको भनाइ छ । “घर बनेसँगै अहिले दैनिकी नै फेरिएको छ”, उनले भनिन्, “गरिबीका कारण जीवन निकै कष्टकर थियो । घर बनाएर बस्नसक्ने अवस्था थिएन । राम्रो आम्दानीको स्रोत नहुँदा दैनिक ज्यालादारी गर्नुपर्ने अवस्था छ । सरकारले घर बनाइदिएपछि जीवन गुजारा गर्न सहज बनेको छ । घर पाउँदा निकै खुसी लागेको छ ।”

घर नहुँदा चिसोका कारण दैनिकजसो बालबच्चा बिरामी हुने गरेको भए पनि अब त्यस्तो समस्याको अन्त्य भएको विश्वकर्माले बताईन् । त्योसँगै बालबालिकालाई पठनपाठनमा समेत सहजता भएको उनको भनाइ छ । “हिउँद तथा बर्सातका समयमा बालबच्चालाई रोगबाट जोगाउन नै गाह्रो हुन्थ्यो”, खुसी हुँदै उनले भनिन्, ‘‘ढिलै भए पनि राज्यले हाम्रो दुःख देख्यो । मजस्ता धेरै दलित परिवारले घर पाएका छौँ । राज्य हाम्रो सहारा बन्यो ।”


प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?