Trending
>>   आज मिति २०८१ साल मङ्सिर ०३ गते सोमबार,हेर्नुहोस आजको राशिफल >>   टेलिकमको अवरुद्ध सेवा सञ्चालन >>   खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न मन्त्री यादवको निर्देशन >>   भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण >>   मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छौं : मन्त्री पाण्डे >>   दुर्गा प्रसाईकाे नयाँ महाअभियान ‘फस्ट नेपाल,फस्ट नेपाली’ >>   सञ्चालनमा ल्याएको तीन महिना नबित्दै अनिश्चितकालका लागि धरहरा बन्द ! >>   उपनिर्वाचनका लागि मनोनयन दर्ता थालियाे >>   नेपाल टेलिकमको सेवामा पटक-पटक समस्याः फोन नलाग्ने र एसमएम नगएर सेवाग्राही मर्कामा ! >>   उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू: सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ !
Logo
३ मंसिर २०८१, सोमबार
३ मंसिर २०८१, सोमबार

राजस्व लक्ष्य भेट्न इमान्दार भएर काम गर्न आवश्यक छ : अर्थमन्त्री डा महत


१८ ,श्रावण ,वीरगञ्ज । अर्थमन्त्री डा प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन् । बिहीबार सुक्खा बन्दरगाह वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा उहाँले भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिनसके र सबै इमान्दार भइदिए सजिलै लक्ष्यमा पुग्न सकिने बताए ।

मन्त्री डा महतले आयात र माग नहुँदा भन्सार शुल्क नउठ्नु स्वाभाविक भएको र त्यसमा राजस्व नउठ्नुमा कर्मचारीको नियन्त्रण बाहिरको कुरा भएको बताए । तर बजारमा प्रशस्त मालवस्तु हुँदा पनि राजस्व घटिरहेको छ भने त्यो अवस्थामा प्रश्न गर्न सकिने उनको भनाइ थियो । “हामीले यथेष्ट काम गरेनौँ, हामी जिम्मेवार भएनौँ, हामीले आँखा चिम्ल्यौँ अथवा हामीले सार्वजनिकभन्दा निजी फाइदालाई महत्त्व दियौँ भने राजस्व कम उठ्छ”, उनले भने ।

जायज कुरालाई नजायज बनाउन थालियो, सार्वजनिकभन्दा निजी फाइदालाई माथि राख्न थालियो भने निश्चितरूपमा व्यवसायीले अर्को बाटो रोज्ने उनको भनाइ थियो । “राजस्व सङ्कलनमा भन्सार र सुरक्षा निकायको महत्त्वपूर्ण भूमिका हुन्छ । भन्सार नाकाभन्दा बाहिरबाट मालवस्तु आयात भयो भने त्यसलाई सुरक्षा निकायले हेर्नुपर्छ”, मन्त्री महतले भने ।

सुक्खा बन्दरगाहमा ठूलो मेसिन आए पनि उपयोगमा आउन नसकेको उल्लेख गर्दै उनले भने, “उपयोगमा किन आएन कसैलाई थाहा छैन, अरुले सहयोग नै गर्न चाहेनन् । यो प्रयोगमा आयो भने निजीलाई फाइदा पुग्दैन भन्ने सुनियो, प्रविधि भनेको कामलाई सहजीकरण गर्ने हो, जाँचपास विधिलाई सहज बनाउने हो, त्यसलाई ग्रहण गर्नुपर्छ, त्यसलाई अपग्रेड गर्न स्रोतको कमी हुँदैन, तर तपाईंहरूले सहयोग गर्नुपर्छ ।”

आफू फाइदा उठाउन नभई काम गर्न आएको, फाइदा मलाई सरकारले दिएको छ भन्ने कुरा मनन गरेमा भने राजस्वले लक्ष्य भेट्ने उनको जिकिर थियो । राजस्वको लक्ष्य के छ ? गत वर्ष कस्तो प्रगति भयो, के कारणले लक्ष्य प्राप्त गर्न सकिएन ? कार्यालयको योजना के छ ? यसको समाधान गर्ने बाटो के हुनसक्छ ? मन्त्रालयसँग के अपेक्षा छ ? भन्ने कुरामा सबै स्पष्ट रहेको मन्त्री डा महतले प्रष्ट पारे ।

भन्सार योगदानको ४० प्रतिशत सुक्खा बन्दरगाह भन्सार र वीरगञ्ज भन्सार कार्यालयबाट प्राप्त हुने उल्लेख गर्दै मन्त्री महतले कर्मचारीको जिम्मेवारी कति गहन छ भन्ने यसैबाट बुझ्नुपर्ने बताए । “राजस्वको लक्ष्य प्राप्त गर्नका लागि धेरै ठूलो जिम्मेवारी यी दुई भन्सार कार्यालयको छ”, उनले भने, “त्यसकारण तपाईंहरू सजग रहनुहोस् ।”


प्रकाशित मिति: १८ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?