Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

बाघको संरक्षणमा नेपाल अग्रणी मुलुक : प्रधानमन्त्री प्रचण्ड


१३ श्रावण, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले अग्रणी राष्ट्रका रूपमा विश्वभर पहिचान राख्न सफल भएको बताएका छन् ।

विश्व बाघ दिवसका अवसरमा आज शुभकामना दिँदै उनले नेपालले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने लक्ष्य लिएकामा सो लक्ष्य निर्धारित अवधि अगावै पूरा भएकामा सबैप्रति बधाई ज्ञापन गरेका छन् ।

नेपालले सन् २०१० मा रसियाको सेन्ट्स पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनमा सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने लक्ष्य लिएको थियो । सो लक्ष्य तोकिएको अवधिअगावै पूरा भएको छ । प्रधानमन्त्री दाहालले नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष गरेको प्रतिबद्धता पूरा गरेकोमा सबैप्रति आभार प्रकट गरेका छन् ।

उनले निर्धारित लक्ष्य हासिल गर्न क्रियाशील वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भू–संरक्षण विभाग, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संरक्षण साझेदार संस्था, कर्मचारी र स्थानीय समुदायलाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री दाहाले बाघको संख्या वृद्धि भएसँगै मानव र बाघबीचमा हुने आपसी द्वन्द्वका घटनामा समेत वृद्धि भएको उल्लेख गरे । बाघ र मानिसबीचको सहअस्तित्व कायम राख्न संरक्षित क्षेत्रको प्रभावकारी संरक्षण गरी आहारा प्रजातिको उपलब्धता बढाउन र बासस्थान व्यवस्थापन गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले स्थानीय समुदायको जीविकोपार्जनमा समेत सुधार हुनुपर्ने बताए ।

‘बाघको संरक्षण तथा व्यवस्थापनमा थपिएका चुनौतीलाई सम्बोधन गर्न बाघसम्बन्धी थप अध्ययन अनुसन्धान, अग्रपंक्तिमा खटिएका कर्मचारीको क्षमता अभिवृद्धि, सम्बद्ध सरकारी तथा गैरसरकारी क्षेत्र अन्तर्राष्ट्रिय साझेदार संस्थाबीचको समन्वय उत्तिकै आवश्यक छ’, प्रधानमन्त्री दाहालले भनेका छन् ।

उनले बाघको बासस्थान नजिकका स्थानीय समुदायलाई जनचेतनामूलक कार्यक्रम तथा वैकल्पिक आयआर्जनसम्बन्धी कार्यक्रमको आवश्यकतालाई मध्यनजर गरी गत वर्ष राष्ट्रिय बाघ संरक्षण समितिको बैठकबाट ‘प्रधानमन्त्री बाघ संरक्षण तथा जीविकोपार्जन कार्यक्रम’ कार्यान्वयनमा ल्याउन वार्षिक एक अर्ब रुपैयाँ बजेट परिचालन गर्ने निर्णय गरिएको जानकारी दिए ।

प्रधानमन्त्री दाहालले जैविक विविधता संरक्षणका क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय समुदायसामु गरेका प्रतिबद्धता पूरा भएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा मानव र वन्यजन्तुबीचको सह–अस्तित्व कायम गर्नमा आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न आह्वान गरे । उनले आजका दिनमा बाघलगायत अद्वितीय जैविक विविधता संरक्षणमा थप ऊर्जा र हौसला प्रदान गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले आगामी दिनमा संसारभर बाघ र मानवबीच सह–अस्तित्व कायम भई बाघ संरक्षण कार्य अझै प्रभावकारी बन्न सकोस् भनी कामनासमेत गरेका छन् ।


प्रकाशित मिति: १३ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?