Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

तुलसीपुरमा सामूहिक खेती फस्टाउँदै


हुस्सुले धपक्कै ढाकिकरहेको थियो । तपतप शीतका थोपा खसिरहेका थिए । तर तुलसीपुर उपमहानगरपालिका– १२ कचिलाका महिलामा त्यसको कुनै प्रवाह थिएन । एक हातमा कुटो, अर्को हातले छुपु–छुपु प्याजका बेर्ना रोपिरहेका हुन्छन् । कोही प्याजका बेर्नामा पानी हालिरहेका हुन्छन् भने कोही जमिन सम्ह्याइरहेका हुन्छन् । त्यहाँ २५ किसानको दैनिकी अहिले त्यसरी नै बितिरहेको छ । त्यहाँ २५ महिला किसान मिलेर सामूहिक प्याजखेती गरेका छन् । रोपिसकेपछि पनि पालैपालो हेरचाह गर्दै आएका छन् । हरियाली कृषक आमा समूहमार्फत सामूहिक उत्पादनको अभ्यास गरिरहेका छन् । तुलसीपुरको कृषि उत्पादनका हिसाबले सबैभन्दा राम्रो क्षेत्र मानिएको कचिलामा प्याज पकेट क्षेत्र घोषणा गरेपछि त्यहाँ समूह बनाएर उत्पादनमा जोडिएको हो । कृषि ज्ञान केन्द्रले लगातार तीन वर्ष त्यहाँ सामूहिक प्याजखेतीका लागि आर्थिक सहयोग गर्दै आएको छ ।

विसं २०७७/७८ मा रु १० लाख सहयोग गरेको ज्ञान केन्द्रले २०७८/७९ मा रु दुई लाख र चालु वर्षमा रु पाँच लाख सहयोग गरेको छ । त्यसले गर्दा पनि त्यहाँका महिलाले करिब १५ बिघा क्षेत्रफलमा सामूहिक खेती गर्ने गरेका छन् । गएको वर्ष मात्रै प्रत्येक महिलाको भागमा १५ क्विन्टल प्याज परेको स्थानीय विन्दु चौधरीले बताउनुभयो । “गएको वर्ष सिँचाइ अभाव भयो, ढिला गरी बेर्ना रोप्यौँ”, उहाँले भन्नुभयो, “त्यसले गर्दा उल्लेख्यरूपमा उत्पादन भएन, एउटाको भागमा १५ क्विन्टलमात्रै प¥यो ।” यो वर्ष उत्पादन बढ्ने अपेक्षा रहेको उहाँले बताउनुभयो । जग्गा भाडामा लिएर उहाँहरुले यसरी व्यावसायिक प्याजखेती गर्नुभएको हो । आफैँ बीउ तयार गरेर रोप्ने गरेको किसान दशनी चौधरीले बताउनुभयो । उत्पादन राम्रो भए पनि बजारीकरणका लागि भने समस्या हुने गरेको उहाँ गुनासो पोख्नुहुन्छ । “गएको वर्ष उत्पादन भएको प्याज हामीले बिक्री गर्न निकै समस्या भयो, छिटुवामा कहिल्यै यता डुलाउने, कहिल्यै उता डुलाउने भयो”, उहाँले भन्नुभयो, “पछि नबिकेपछि त्यसै घर फर्काउनुपर्ने अवस्था भयो ।” प्याज तीन महिनामा फलिसक्छ । प्याजलाई एक नम्बरको रु तीन सयमा बेच्ने गरेको दशनीले बताउनुभयो । यसरी सामूहिक खेती गरेरै उहाँहरूको घर चल्ने गरेको छ । छोराछोरीलाई पढाउनेदेखि दैनिक घर खर्च चलाउनेसम्मको काम गरेको स्थानीय मीनकुमारी चौधरीले बताउनुभयो । उनीहरूले ती जग्गामा प्याजमात्रै सामूहिक गर्ने गर्छन्, त्यसपछिका खेती भने सम्बन्धिन जग्गाधनीले मात्रै लगाउने गर्छन् । आफूहरूले प्याजको सिजनमा मात्रै जग्गा भाडामा लिएको उहाँले बताउनुभयो । “प्याजको सिजनमा हामीले जग्गा भाडामा लिन्छौँ”, उहाँले भन्नुभयो, “त्यो भन्दा अन्य बालीमा सम्बन्धित जग्गाधनीले नै लगाउने गर्छन् ।”

कचिलाका खेतमा वर्षमा तीन सिजनमा तरकारी उत्पादन हुने गरेको वडाध्यक्ष खुसीराम चौधरीले बताउनुभयो । प्याजको सिजनपछि त्यहाँ मकैखेती हुने गर्छ भने मकै उत्पादनपछि आलुखेती हुने गर्छ । प्याजमा पकेट क्षेत्र बनाएर कृषि ज्ञान केन्द्रले सहयोग गरेपछि सहज भएको अध्यक्ष चौधरीको भनाइ छ । उहाँका अनुसार ज्ञान केन्द्रले आर्थिकसँगै औषधि, मल, बीउमा पनि सहज हुँदै आएको छ । बजारीकरणमा देखिएको समस्या भने अत्यधिक छ । राति ३ बजे उठेर यहाँका महिला बजारमा उत्पादन सामग्री लिएर जान्छन् । तर भारतीय तरकारीका कारण यहाँ उत्पादन भएको तरकारी बिक्री नहुँदा फर्काएर ल्याउनुपर्ने अवस्था छ ।


प्रकाशित मिति: २४ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?