Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

पुष्पलालको जन्मभूमि भँगेरीको माटोमा उँभिएर महासचिव पोखरेलले भने– ‘उहाँ राष्ट्रिय विभूति हो’


७ श्रावण, रामेछाप। नेकपा (एमाले) महासचिव शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल राष्ट्रिय विभूति भएको भन्दै समग्र रामेछापको विकासका लागि उनको जन्मथलो भंगेरीको विकासमा दलगत स्वार्थ भन्दा माथि उठ्नु पर्नेमा जोड दिएका छन् ।

पुष्पलालको ४५ स्मृति दिवसको अवसरमा पुष्पलालको जन्मथलो भँगेरीमा एमाले रामेछाप जिल्लाको समन्वयमा केन्द्रीय कमिटीले आयोजना गरेको कार्यक्रममा संक्षिप्त सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘रामेछाप जिल्लाको भंगेरी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको जन्मथलो हो । उहाँ जन्मिएको माटोमा आएर आज उहाँको सम्मानमा कार्यक्रम आयोजना गर्न पाउँदा खुशी लागेको छ,’ पोखरेलले भने, ‘रामेछाप तीनलाल अर्थात पुष्पलाल, गंगालाल र सुब्बा कृणलालको जन्मथलो पनि हो । उहाँहरु तीनै जनाले लोकतान्त्रिक आन्दोलनमा ठूलो भूमिका खेल्नुभएको छ ।’

राजनीतिको माध्ययमबाट पुष्पलाल र गंगालाल अनि साहित्यको माध्यययमबाट कृष्णलालले लोकतान्त्रिक आन्दोलनमा ठूलो भूमिका खेलेको उनले बताए । ‘कृष्णलालले मकैको खेती लेखे वापत जेल पर्नु पर्यो र उहाँको जेलमै मृत्यु भयो,’ उनले भने, ‘परिवर्तनको आन्दोलन टंक प्रसाद आचार्यको नेतृत्वमा प्रजापरिषद गठन हुँदा त्यतिबेला नै लोकतान्त्रिक आन्दोलनमा लाग्नु भएका गंगालालले पहिलो पटक सबै भन्दा ठूलो सभा गरेर तत्कालिन शासकको विरुद्धमा बुलन्द आवाज उठाउँदा उहाँलाई १९९७ सालमा मृत्युुदण्ड दिइयो ।’

पुष्पलालको सम्झना गर्दै महासचिव पोखरेल राजनीतिक इतिहासमा पहिलो दल गठन गरेर अघि बढ्ने सन्दर्भमा पुष्पलालले प्रजातान्त्रिक राष्ट्रिय काङ्ग्रेसको कार्यालय सचिव भएर काम गरेको पनि स्मरण गराए । ‘प्रजातान्त्रिक राष्ट्रिय काङ्ग्रेसका माध्ययमबाट लोकतान्त्रिक आन्दोलन सफल बनाउन नसकिने निष्कर्षसहित विश्व कम्युनिस्टको घोषणापत्र नेपालीमा रुपान्तरण गरेर नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभएको थियो,’ पोखरेलले भने, ‘उहाँले स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टी अहिले नेकपा एमालेको नाममा अस्तित्वमा छ ।’
पुष्पलालको भग्नावशेष जन्मघरको माटोमाथि उँभिएर पोखरेलले पुष्पलालको जन्मथलोमा तीनलालको शालिक स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । ‘ पुष्पलालको ऐतिहासिक विरासत धानेको पार्टी एमाले हो भन्ने कुरा यहाँसम्म आएर गरेको कार्यक्रमले पनि देखाउँछ,’ उनले भने, ‘एमाले नेतृत्वको सरकारका पालामा बनेका तीनलालका शालिक अहिलेसम्म यहाँ ल्याएर स्थापना गर्न सकिएको छैन । अहिले संघ र प्रदेश सरकारको नेतृत्व कम्युनिस्टले गरेको छ । तर, एमालेले अघि बढाएको गुरुयोजनाको बजेट त्यहि सरकारले काट्ने काम गरेको छ । यो बेठीक हो ।’

उनले विभुति कुनै पार्टीका नहुने भन्दै रामेछापलाई जीवन्त नगरपालिका बनाउन र यो ठाउँलाई राजनीति पर्यटनको विकास गर्न पनि सबै राजनीतिक दलको सहयोग आवश्यक हुने बताए । ‘रामेछाप नगरपालिका अहिले कांग्रेसले जितेको छ । मैले मेयर लवश्री न्यौपानेसँग आजै भेट गरेर यहाँको विकासमा सकारात्मक भूमिका खेल्न आग्रह गरेको छु,’ पोखरेलले भने, ‘उहाँले पनि सकारात्मक रुपमा लिनुभएको छ । समग्र नगर र जिल्लाको विकासका लागि पनि तीनलालको सम्मान हुनुपर्छ । यतिबेला दुई खाले आर्थिक संकटबाट मुलुक अघि बढि रहेको छ । मुलुकबाट नीतिगत विचलनको अन्त्य गर्न र वैदेशिक हस्तक्षेप रोक्न बलियो राष्ट्रिय शक्ति चाहिन्छ ।’ उनले त्यसका लागि एमालेको झण्डामुनी गोलबद्ध हुन आग्रह गरे ।

‘राजनीति अस्थिरता हटाउने सरकार मुलुकलाई चाहिएको छ । त्यो भनेको देशभक्तहरु एमालेको झण्डा मुनि आउनुपर्छ,’ उनले भने, ‘त्यसका लागि राजनीतिक धुर्विकरण अघि बढाउँ र पुष्पलालले बनाएको पार्टी वरिपरि बसौँ।’

उनले साउन ६ गते बीपी स्मृति दिवस र ७ गते पुष्पलाल स्मृति दिवस भएको भन्दै दुबै नेताको आ–आफ्ना विषेशता रहेको बताए । ‘बीपीले पञ्चायतका विरुद्ध एक्ला–एक्लै लड्ने भन्नुभयो । तर, पुषपलाललले संयुक्त जनान्दोलनको नीति लिनु । त्यो नीति उहाँको जीवनकालमा त पूरा भएन । तर, पुष्पलालको सपना मदन भण्डारीले पूरा गर्नुभयो । पुष्पलालको नीति अनुसार नै नेपाली कांग्रेसका नेता गणेशमान सिंहलाई जनआन्दोलनको सर्वोच्च कमाण्डर बनाएर लड्दा २०४६ सालको जनआन्दोन सफल भयो ।’

उनले नेपालको कम्युनिस्ट आन्दोनको विचारधारा संगठन, सिद्धान्त र संघर्ष भएको भन्दै अहिले अवसरवाद मौलाएका बेला बैचारिक धारबाट अराजकताको अन्त्य गर्नुपर्ने उनको भनाई थियो । समाजमा फैलिएको अराजकताको अन्तयका लागि बलियो शक्ति निर्माण आवश्यक रहेको पनि उनले बताए । ‘राणा, पञ्चायत र निरङ्कुश राजतन्त्र अन्त्य भयो । हामी राजनीतिक परिवर्तनका लागि च्याम्पियन भयौँ । अब राजनीतिसँगै सामाजिक परिवर्तन आवश्यक छ । लोकप्रियतावाद अन्त्यमा गएर यथास्थितिवादीधारमा सकिन्छ,’ उनले भने, ‘दलहरु कहिल्यै पुरानो हुदैँनन् । हामी परिवर्तनशील छौँ। एमालेको छ वटा नेतृत्व परिवर्तन भयो । एमालेले ६ वटा नेतृत्व परिवर्तन गर्दा कांग्रेसका ४ वटा नेतृत्व फेरिए । तर, माओवादीको अहिलेसम्म नेतृत्व फेरिएको छैन । म पुष्पलालको जन्मस्थल उभिएर प्रतिज्ञा गर्छु । आर्थिक सामाजिक परिवर्तनको दिशातर्फ सबै मिलेर अघि बढौँ र यसमा सबै प्रतिबद्द बनौं ।’

कार्यक्रममा जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले पुष्पलालको सम्मानमा यहाँको विकास र समृद्धि आवश्यक भएको भन्दै यहाँको विकासमा दलगत चश्माबाट हेर्नु नहुनेमा जोड दिए ।

कार्यक्रमा बागमती प्रदेशका इञ्चार्ज गुरु वराल, सम्पर्क समन्वय इञ्र्चाज लालबाबु पण्डित, स्थायी कमिटी सदस्यहरु कर्णबहादुर थापा, पोलिट्व्युरो सदस्य कमल चौलागाई, सुजिता शाक्य, शान्ता चौधरी, लिला भण्डारी, केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इञ्चार्ज गणेश पहाडी, भक्तपुर इञ्चार्ज कैलाश ढुंगेल, सिन्धुली इञ्चार्ज खेम लोहनी, केन्द्रीय सदस्य माधव ढुंगल लगायत उपस्थित थिए ।


प्रकाशित मिति: ७ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?