म्याग्दीलगायतका जिल्लामा बसोबास गर्ने अल्पसङ्ख्यक छन्त्याल समुदायको भाषा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले रु एक करोडको अक्षयकोष स्थापना भएको छ । नेपाल छन्त्याल सङ्घले संस्थापक अध्यक्ष दिलबहादुर घरब्जाको स्मृतिमा कोष स्थापना गरेको हो । स्वदेश तथा विदेशमा रहेका ७९ जना छन्त्यालबाट न्यूनतम रु ११ हजारदेखि रु २० लाखसम्म सहयोग जुटाएर कोष स्थापना गरिएको सङ्घका सचिव दीपबहादुर छन्त्यालले जानकारी दिनुभयो ।
“कोषमार्फत प्राप्त हुने ब्याजले छन्त्यालहरूको पुर्खा, प्राचीन समयका बारेमा र जातिको उत्पत्तिको तथ्यगत प्रमाण, अभिलेख, वंशावली र अन्य दस्तावेजको खोजीमा परिचालन गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो, “लोप हुन लागेको छन्त्याल भाषा र संस्कृति संरक्षणमा जोड दिएका छौँ ।” आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार सूचीकृत ५९ वटा आदिवासी जनजातिमध्ये छन्त्याल एक आदिवासी जनजाति हो । छन्त्याल जातिको उत्पत्ति र इतिहासको तथ्यगत प्रमाण हालसम्म जुटेको छैन । बोलीचालीमा प्रयोग भए पनि लिपि नभएको छन्त्याल खाम भाषा पुस्तान्तरण हुन नसक्दा हराउन थालेको छ । बूढापाकाले बोले पनि नयाँ पुस्ताका बालबालिका र युवायुवतीले आफ्नो भाषा बोल्न छाडेका छन् । लिपि र शब्दकोष नहुनु, नयाँ पुस्ताले आफ्नो मातृभाषा प्रयोग गर्न हिचकिचाउनु, बसाइँसराइका कारणले भाषा लोप भएको रघुगङ्गा गाउँपालिका–८ घ्याँसीखर्कका चन्द्रप्रसाद छन्त्यालले बताउनुभयो । छन्त्याल भाषामा पानीलाई कुई, मासुलाई स्या, फूपूलाई निनी, श्रीमतीलाई ने, दूधलाई नेहे, घरलाई टम्ह भनिन्छ । बोल्न सजिलो भए पनि लिपि, व्याकरण र शब्दकोष नभएकाले लेख्न अप्ठ्यारो हुने छन्त्यालले बताउनुभयो । विसं २०६८ को जनगणनाअनुसार नेपालका १९ जिल्लामा ११ हजार आठ सय १० जना छन्त्याल समुदायको बसोबास छ ।
कुल छन्त्याल समुदायको सङ्ख्यामध्ये म्याग्दीमा ७० दशमलव दुई र बागलुङमा ३५ दशमलव ४१ प्रतिशत बस्ने गर्छन् । म्याग्दीको धवलागिरि गाउँपालिकाको गुर्जा, मल्कवाङ, मच्छिम, रघुगङ्गाको ठाडाखानी र कुइनेमङ्गलेमा छन्त्याल समुदायको बाहुल्य बसोबास छ । जनगणनाको पछिल्लो प्रतिवेदनअनुसार कुल जनसङ्ख्यामध्ये ३६ दशमलव २७ प्रतिशतले आफ्नो मातृभाषा बोल्ने गर्छन् ।
प्रकाशित मिति: २४ माघ २०७९, मंगलवार