Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ मनाइँदै


सुदूरपश्चिममा आज ‘ठूलीरात’ अथवा ‘पुसे प्रन्ध’ हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष पुस महिनाको १५ गतेलाई सुदूरपश्चिममा विषेश महत्वका साथ हेरिन्छ । यो पर्वमा गाउँका सबै एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने तरुल, पिँडालु, सखरखण्डलगायतका कन्दमुल र डोटेली खानाका मीठा परिकार पकाएर खाने प्रचलन रहिआएको छ ।

साहित्यकार जगदीश ओझाका अनुसार यस दिनमा गाउँका सबै एकआपसमा भेटघाट गर्ने र कहानी स्थानीय भाषामा (आइना, बातै) सुन्ने र सुनाउने गरिन्छ । कन्दमुलजस्ता खानेकुरा खाँदा चिसो समयमा शरीर फूर्तिलो हुने र तागत बढ्ने किंवदन्ती छ । अन्य पात्रोअनुसार भिन्न भए पनि सुदूरपश्चिममा पुस पन्ध्रको रातलाई सबैभन्दा ठूलो रात हुने लोक मान्यता रहेको उहाँले बताउनुभयो । “यो रात सबैभन्दा ठूलो हुने भएकाले गाउँका एक ठाउँमा भेला भएर कथा, कहानी, बातैजस्ता लोकसाहित्यका गाथा सुनाउने र सुन्ने गरिन्छ”, उहाँले भन्नुभयो, “यो पर्वमा आफन्तसँग विशेष घेटघाट हुने कन्दमुल खाने र लोकगाथा सुनेर रात बिताउने प्रचलन छ ।” उहाँले सुदूरपश्चिमका अछाम, बझाङ र बाजुरामा यस पर्वलाई भुवापर्वका रूपमा समेत मनाउने गरेको उहाँले बताउनुभयो ।

डोटी राज्य भएका बेला सुदूरपश्चिममा कृषि र पशुपालनमा आधारित अर्थतन्त्र रहेका थियो । गरिबीका कारण खान लगाउन समस्या हुने भएकाले कठ्याङग्रिदो चिसो छल्न रातभरि आगो बालेर पौष्टिक आहार खाने प्रचलन रहेको साहित्यकार रमेश पन्त मीतबन्धु बताउँछन् । “तत्कालीन सभ्यताअनुसार लुगा, कपडा नभएको हँुदा आगो तापेरसमेत चिसो छल्न सक्छौँ भन्नेसमेत सन्देश यो पर्वले दिएको छ”, उहाँले भन्नुभयो, “विशेषगरी यो रात लोकसाहित्य प्रस्तुत गर्ने गरिन्छ ।” उहाँले सुदूरपश्चिमको लोक मान्यताअनुसार पुस १५ सबैभन्दा ठूलो रात हुने भएकाले पनि यसलाई ठूलीरात भनेर मनाइने बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्डमा पुस १५ देखि उत्तरायण सुरु हुने तथा दिन बढ्ने र रात घट्दै जाने लोक मान्यता रहेको छ । साहित्यकार डम्बर शर्मा बडूले पुस पन्ध्रको सांस्कृतिक एवं सामाजिक महत्व रहेको बताउनुभयो । “यो रात बूढापाकाबाट अर्ती उपदेश सुन्ने, मनोरञ्जन गर्ने र कन्दमुल खाने गरिन्छ”, उहाँले भन्नुभयो, “एकापसमा भेटघाट हुने र सामाजिक सद्भाव र एकतासमेत कायम राख्छ ।” यो पर्वले नैतिकताको पाठसमेत सिकाउने उहाँले बताउनुभयो ।

सुदूरपश्चिममा रातभर विभिन्न पौराणिक र लोककथा, गाउँखाने कथा सुन्ने–सुनाउने साथै गीत सङ्गीतको समेत भरपुर आनन्द लिने पर्वका रूपमा लिइन्छ । पछिल्लो सयम आइना, बातै भन्ने चलन हराउँदै जान थालेको छ भने आइना, बातै जान्ने व्यक्तिको अभाव र युवापुस्तामा लोक–संस्कृति पुस्तान्तरण हुन नसक्दा यसको मौलिकता हराउन थालेको छ ।


प्रकाशित मिति: १५ पुष २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?