Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

अपराध अनुसन्धानको सारथी सिसीक्यामेरा


५ साउन, बागलुङ । गत असार २५ गते बागलुङ बजार नजिकै अपरिचित व्यक्तिबाट बलात्कृत भएको भन्दै कास्कीको पोखरा महानगरपालिकाकी एक युवतीले प्रहरीमा जाहेरी दिइन् । बागलुङ नगरपालिका–१ मालढुङ्गा नजिकैको जङ्गलमा बलात्कृत भएको प्रहरीमा दर्ता भएको जाहेरीमा उल्लेख छ ।

हुलियासमेत राम्रोसँग याद नगरेकी युवतीको जाहेरीपछि प्रहरीले आरोपीको खोजी गर्न थाल्यो । तर एकै दिनमा आरोपी फेला पर्नेमा प्रहरी ढुक्क थिएन । युवतीले बलात्कार गर्ने व्यक्ति युवा भएको बताएकी थिइन् । पीडितलाई न्याय दिलाउन प्रहरीले अनुसन्धान थाल्यो । प्रहरीको अनुसन्धानको सारथी बन्यो मालढुङ्गामा जडान गरिएको सिसीक्यामेरा ।

मालढुङ्गा नजिकैको जङ्गल घटनास्थल भएकाले प्रहरीले त्यही क्षेत्रमा शङ्कास्पद व्यक्तिको खोजी थाल्यो । बलात्कार गरेका व्यक्ति त्यहाँबाट फरार भइसकेको भए पनि युवतीले दिएको सामान्य हुलियाका आधारमा सिसीक्यामेराको मद्दतमा आरोपी फेला परे ।

‘शङ्कास्पद व्यक्तिबारे सिसीक्यामेराबाटै जानकारी लियौँँ’, प्रहरी निरीक्षक राजाराम खड्काले भने– ‘श्रव्यदृश्य र तस्बिरकै आधारमा हामी आरोपी नजिकै पुग्यौँ ।’ गत असार २६ गते गुल्मीको कालीगण्डकी गाउँपालिका–७ छापचौरका २८ वर्षीय विमल हमाल बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराबाट पक्राउ परे ।

सुरुआतमा केरकार गर्दा आरोप अस्वीकार गरेका हमालले सिसीक्यामेराको श्रव्यदृश्य देखाएपछि अपराध स्वीकार गरेको प्रहरी निरीक्षक खड्काले बताए। अहिले उनीविरुद्ध जिल्ला अदालतबाट म्याद थप भएर अनुसन्धान भइरहेको छ ।

प्रहरीलाई सिसीक्यामेराले सघाएको यो पहिलो घटना भने होइन । केही महिनाअघि बागलुङ नगरपालिका–१ माझीबस्तीकी फूलमाया माझीको हत्यामा संलग्नलाई पनि प्रहरीले सिसीक्यामेराकै मद्दतमा पक्राउ गरेको थियो । लामो समयपछि बागलुङ बजारभित्र सिसीक्यामेरा व्यवस्थापन गर्ने काम भएपछि अपराध अनुसन्धान र नियन्त्रणमा सहज भएको उनले बताए ।

बागलुङ नगरपालिका र उद्योग वाणिज्य सङ्घ तथा सुरक्षा निकायको सहकार्यमा बजार क्षेत्रमा सिसीक्यामेरा जडान गर्न थालिएको हो । गत आर्थिक वर्षमा बागलुङ नगरपालिकाको रु १२ लाख अनुदान र उद्योग वाणिज्य सङ्घको तीन लाख ५० हजारको लागतमा बजार भित्रिने र बाहिरिने मुख्य नाका तथा मुख्य चोकमा १३ सिसीक्यामेरा जडान गरिएका छन् ।

चालु आर्थिक वर्षमा थप १४ सिसीक्यामेरा जडानका लागि काम भइरहेको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले बताए । ‘बैंकले १४ क्यामेराका लागि सहयोग गरेको छ, छिट्टै काम सकिन्छ’, उनले भने ।

बागलुङ बजारमा एक सय ८६ सिसीक्यामेरा जडान गर्ने योजना छ । बागलुङ–१ मालढुङ्गाबाट वडा नं ४ को तिरुपति चोकसम्म रु १५ लाख खर्चेर फाइवर बिछ्याउने काम सकिएको कँडेलले बताए । बहुवर्षीय योजना भएकाले क्रमैसँग क्यामेरा जडान हुने उनले बताए ।

‘प्रहरी कार्यालयमा कन्ट्रोल रुम बनाउनेदेखि फाइवर बिछ्याउनेसम्मका काम भइसकेका छन्’, कँडेलले भने । बागलुङ बजारको शान्ति सुरक्षालाई ध्यानमा राखेर बजारका विभिन्न चोकमा सिसीक्यामेरा जडान गर्ने प्रक्रिया अघि बढेको छ । यसअघि बागलुङ बजारमा जडान भएका २९ सिसीक्यामेरा प्रयोगविहीन छन् ।

नेपाल विद्युत् प्राधिकरणले विद्युत्का पोल स्थानान्तरण गर्ने क्रममा बिग्रिएका र निकालिएका सिसीक्यामेरा पुनः जडान हुन नसक्दा बागलुङ बजारमा हुने आपराधिक घटनाको अनुसन्धानमा समस्या हुँदै आएको थियो । बागलुङ–४ उपल्लाचौर र पाखाथरमा समेत मुख्य चोकमा सिसीक्यामेरा जडान गर्ने योजना छ ।


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?