Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

डम्फु बनाएर राम्रो आम्दानी


२५ असार, काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४स्थित सलान्दुबगरका लीलाबहादुर स्याङ्तान डम्फु बनाउने पेसामा लागेर राम्रो आम्दानी गर्दै आएका छन् । तामाङ जातिको सांस्कृतिक बाजामा डम्फुको माग हुन थालेकाले उनले ‘स्याङ्तान डम्फु उद्योग’ सञ्चालन गरेर सो पेसालाई विगत १५ वर्षदेखि निरन्तरता दिँदै आएका हुन्।

घरमा डम्फु उद्योग सञ्चालन गरी आम्दानीको स्रोत बनाउँदै आएका स्याङ्तानले अरुलाई पनि रोजगारी दिँदै आएका छन् । तामाङ समुदायले शुभकार्यमा प्रयोग गर्दै आएको बाजा डम्फुको माग राम्रो भएपछि उद्योग नै स्थापना गरी काम गर्दै आएको उनले बताए। ‘तामाङ समुदायको बिहेमा गीत गाउनका लागि डम्फु अनिवार्य हुन्छ तर एउटा आफन्तको बिहेको निम्तो मान्न जाने बेलामा जरकिन बजाएर गीत गाएको देखेपछि डम्फुको अभाव खड्किन नदिनका लागि मैले डम्फु बनाउने उद्योग सञ्चालन गरेको हुँ”, स्याङ्तानले भने, “पुर्खाले गर्दै आएको पेसा नभएर भावनाले डोहो¥याएकाले यो पेसा सुरु गरेँ ।

भाषणले मात्रै कला, भाषा र संस्कृतिको संरक्षण नहुने उनको भनाइ थियो । “तामाङ समुदायको विवाह, ब्रतबन्ध र मृत्यु संस्कार सबैमा डम्फु बजाएर खुसी र विरहको गीत गाउने चलन रहेकाले त्यसको अभाव पूर्तिका लागि पनि यो पेसा रोजेको हुँ”, उनको भनाइ थियो ।

एउटा डम्फु साइजअनुसार रु दुई हजार पाँच सयदेखि रु पाँच हजारसम्म लिने गरेको उनले बताए । काम गर्ने दौरानमा गाउँमा एक जनालाई मासिक रु २८ हजारका दरले तलब दिएर काम गर्दै आएकामा अहिले विदेशमा समेत जानथालेपछि सबै काम आफैँले गर्दै आएको स्याङ्तानले बताए। वार्षिकरुपमा करिब तीन सयको हाराहारीमा डम्फु उत्पादन गर्दै आउनुभएका उनले देशका पूर्वी क्षेत्रको काँकडभिट्टा, इलाम, झापा पाँचथर, तेह्रथुमल तथा पश्चिम क्षेत्रको लमजुङ, नवलपरासीलगायत जिल्लामा पनि पठाउने गरिएको जानकारी दिए ।

तामाङ समुदायको बसोबास रहेको संयुक्त अरब इमिरेट्स (युएई) मलेशिया, जर्मन, इजरायल, संयुक्त राज्य अमेरिकालगायत मुलुकमा पनि डम्फु पठाउने गरिएको छ । निरन्तररुपमा उत्पादन गरेको डम्फुको माग धान्न नसकिएका कारण अरु युवालाई पनि सिकाएर उत्पादन गर्दै आइएको र प्रशस्त माग आउने गरेकाले गाउँका दुई जनालाई सीप सिकाएर डम्फु बनाउने काममा लगाइएको स्याङ्तानले बताए।

“सबै आवश्यक सामान आफँैले उपलब्ध गराएर बनाउन लगाएको छु”, उनले भने, “यसरी उत्पादन गरेको डम्फु आफैँले खरिद गरेर बिक्री गर्दै गरेको छु । आफूले मात्रै गर्ने नभएर युवापुस्तालाई सीप हस्तान्तरण गर्नुपर्छ भनेर सिकाएको सीपले युवालाई रोजगार बनाएको छु । ”

“उत्पादन गरिएका सामान बिक्री भएन भन्ने चिन्ता छैन”, स्याङ्तानले थपे, “जति उत्पादन भए पनि मैले नै बजारीकरणको काम गर्ने गरेको छु ।” समुदायसँगै भिजेर काम गरिएका कारण उनले डम्फु मात्रै नभएर झाँक्रीले प्रयोग गर्ने ढ्याङ्ग्रो, फुर्बा(थुर्पे)लगायत सामान पनि उत्पादन तथा बिक्री गर्दै आएको जानकारी दिए।

डम्फु बनाउनलाई कोइरालोको काठ आवश्यक हुन्छ । बाख्राको छाला प्रयोग हुने र बाँसको किला प्रयोग गरेर बनाउनुपर्ने भएकाले बनाउन भने समय लाग्ने गरेको छ । सिजनअनुसारको छाला उपलब्ध हुन नसक्ने अवस्था रहेका कारण यस पेसालाई थप व्यवस्थित गर्न चुनौती रहेको स्याङ्तानले बताए ।


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?