काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेशकुमार सिंहले संवैधानिक निकायका पदाधिकारीले तलबसँगै बैठक, अन्तर्वार्ता लगायत विभिन्न शिर्षकमा लिने भत्ताको व्यवस्था हटाउनुपर्ने बताएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा उनले कार्यालयकै नियमित कामका भत्ता दिनु उपयुक्त नहुने बताएका छन् । उनले नियमित कामको लागी बस्ने बैठकका लागि समेत पदाधिकारीले छुट्टै भत्ता लिने गरेको बताए । लोक सेवा आयोगका अध्यक्ष तथा सदस्यले लिखित परीक्षापछि हुने अन्तर्वार्तामा छुट्टै भत्ता पाउने व्यवस्था रहेको उनको भनाई छ । निर्वाचन आयोगका पदाधिकारीले पनि निर्वाचनका क्रममा समेत छुट्टै भत्ता लिने गरेको उनले बताएका छन् । निर्वाचनका समयमा निर्वाचन आयोगअन्तर्गत हुने खर्च तथा भत्ताको व्यवस्थाबारे समेत समीक्षा आवश्यक रहेको उनको भनाई छ । लोक सेवा आयोग र निर्वाचन आयोग दुवै समितिको कार्यक्षेत्रअन्तर्गत पर्ने भएकाले ती निकायका पदाधिकारीको सुविधा सम्बन्धमा स्पष्ट व्यवस्था गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
उनले भने, ‘अफिस समयमा नै पदाधिकारीहरु बैठक बापत छुट्टै फेरी भत्ता लिन्छन् । त्यो भत्ता सिस्टम पनि अनि दोहोरो सुविधामा पर्छ । लोकसेवा आयोगको सदस्यहरु या अध्यक्षहरुले लिखित परीक्षाको अन्तर्वार्ताको छुट्टै भत्ता लिने प्रावधान छ । निर्वाचन आयागका पदाधिकारीले निर्वाचनमा फेरी छुट्टै भत्ता लिन्छ । बद्नाम भन्सार छ, भन्सार भन्दा निर्वाचनको समयमा ठूलो भ्रष्टाचार निर्वाचन आयोगमा हुन्छ । यो सबै फेरि हाम्रै अन्तर्गत पर्छ, निर्वाचन आयोग पनि र लोकसेवा पनि हाम्रै अन्तर्गत पर्छ । त्यसकारण तलबको सुविधा पनि लिने र भत्ता पनि लिने भन्ने व्यवस्थालाई परिमार्जित गरेर जानुपर्छ ।’
उनले कानून निर्माण गर्दा समयसापेक्ष र देश तथा जनताको हितमा रहेर गर्नुपर्ने बताएका छन् ।
प्रकाशित मिति: ८ आश्विन २०८३, बिहीबार