काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन र सुरक्षण विशेषतासहितको १ हजार रुपैयाँ दरको ‘सिरिज २०२५’ नोट आजदेखि चलनचल्तीमा ल्याएको छ।
साविककै आकारमा रङ परिवर्तन गरी ल्याइएको नयाँ नोटमा बैजनी घेराभित्र फिक्का हरियो रङ प्रयोग गरिएको छ। नोटको अग्रभागमा सगरमाथाको चित्र, लालीगुराँस तथा ‘१०००’ अंकित पानीछाप र दृष्टिविहीनले स्पर्शबाट पहिचान गर्न सक्ने रोमन अक्षर ‘एम’ तथा तेर्सा रेखा राखिएका छन्।
नोटमा सीधा हेर्दा सुनौलो र ढल्काउँदा हरियो देखिने भगवतीको चित्र तथा सीधा हेर्दा रातो र ढल्काउँदा हरियो देखिने चलायमान सुरक्षण धागो समावेश गरिएको छ। नोटमा गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ।

नोटको पृष्ठभागमा चितवनको सरकारी हात्तीसारमा जन्मिएका दुर्लभ मानिने जुम्ल्याहा हात्ती ‘राम र लक्ष्मण’ को चित्र राखिएको छ। साथै नेपालको सात प्रदेशलाई जनाउने सात लालीगुराँस र हनुमानढोकास्थित ल्होँचोकको ऐतिहासिक थामको आकृति समेटिएको छ।
राष्ट्र बैंकका अनुसार नयाँ नोटको संकेत नम्बर ९२०००००१ बाट सुरु गरिएको छ। यसअघि चलनचल्तीमा रहेको ‘सिरिज २०१९’ का नोट भने यथावत् चलनचल्तीमा रहनेछन्।

प्रकाशित मिति: ८ आश्विन २०८३, बिहीबार