Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

हुलाकी सडक सुस्त गतिमा


२२ असार ,महेन्द्रनगर । कञ्चनपुरमा ६२ किलोमिटर हुलाकी सडक निर्माणमा निर्माण कम्पनीको बेवास्ताका कारण ठेक्काको पाँचौ पटक थपिएको म्याद सकिन लाग्दा पनि सडक पूरा हुन सकेको छैन् । तीस महिनामा सक्नुपर्ने हुलाकी सडकको निर्माण कञ्चनपुरमा साढे छ वर्ष बितिसक्दा ६२ मध्ये २३ दशमलव पाँच किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ ।

कञ्चनपुरको डोके बजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक २०७३ फागुनमा सम्झौता भएको थियो । हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इन्जिनियर दीपक सुनारले पाँचौँ पटक थप भएको म्याद यही असार मसान्तमा सकिने बताए । उनका अनुसार तीन वटा प्याकेजमा निर्माण गर्न दिइएको सडकको पहिलो प्याकेज (डोके बजारदेखि बेलौरीसम्म) २० किलोमिटर सडक भने सम्पन्न भएको छ ।

उनले विगतमा झै म्याद थपका लागि संशोधन भएर नआए दोस्रो र तेस्रो प्याकेजको काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए । “यसअघि माथिबाटै संशोधन भएर आएपछि एक वर्ष म्याद थपिएको हो ।” इन्जिनियर सुनारले भने, “तर यस पटक कारबाहीकै प्रक्रियामा जाने सम्भावना छ ।” पहिलो प्याकेजको निर्माण रु ३६ करोड ४७ लाखमा शर्मा–राजेन्द्र जेभीले पाँचौ पटक थपिएको म्यादभित्र रहेर सम्पन्न गरेको हो ।

त्यसैगरी बेलौरीदेखि बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजमा साढे नौ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । उक्त कामको जिम्मा रु ४१ करोड ४१ लाखमा बाबा हंस–सिद्धीसाई जेभीले पाए पनि अझै ५० प्रतिशतभन्दा बढी काम गर्न बाँकी छ । सो प्याकेजको पचुँइ क्षेत्रमा भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबीसहित केही भागमा कालोपत्रे गर्न दिइएको छैन ।

त्यसैगरी हुलाकी सडकको अन्तिम प्याकेज (बेल्डाडी–दैजी) २२ किलोमिटरमध्ये साढे नौ किलोमिटर सडक मात्रै कालोपत्रे भएको इन्जिनियर सुनारले जानकारी दिए । “दोस्रो र तेस्रो प्याकेजको काम सक्ने समय असार मसान्तसम्म तोकिएको छ”, सुनारले भने, “ठेक्का सम्झौता भएयता ३८ दशमलव पाँच किलोमिटर सडक कालोपत्रे भएको छ ।”

निर्माण व्यवसायीले सम्झौताअनुसार निर्धारित समयभित्र काम सक्ने गरेको बेवास्ताका कारण ढिलाइ भएको हो । निर्माणाधीन सडकमा पर्ने स्थानीय पालिका र स्थानीयवासीले समयमा निर्माण सक्न पटक–पटक दबाब दिए पनि सुनुवाइ भएन । यहाँको बेलौरी नगरपालिका–८ का वडाध्यक्ष विषराम राना निर्माण कम्पनीको ढिलासुस्तीले सडक नबनेको बताए । “हरेक दिन स्थानीयले सडक निर्माणबारे वडामा आएरभन्दा हामी पनि ठेकेदारलाई ताकेता गर्छौं तर काम गर्दैन”, रानाले भने, “सडक बनाउन सामग्री यहाँ थुपारेको भए पनि निर्माणमा भने चासो नदिएको अवस्था छ ।”

उनले पचुँइ गाउँको सडक लामो समयदेखि आफ्नै भूमिमा पर्ने र सोहीअनुसार प्रयोग गरेपनि भारतीय पक्षले एक हजार दुई सय मिटर सडक बनाउन रोकेको बताए । “भारतीय पक्षले अवरोध गरेको सडक हेर्न नेतादेखि मन्त्रीसम्म आए तर पहल भएन”, उनले भने, “यसका लागि कूटनीतिक पहल आवश्यक छ ।” उनले सो क्षेत्रमा भारतले पछिल्लो समय बिजुलीका पोलसमेत गाड्न नदिएको बताए ।


प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?