Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

बाँकेमा अझै आएन ‘लम्पी स्किन’ को खोप


१८ असार ,नेपालगञ्ज । बाँकेमा अहिलेसम्म ‘लम्पी स्किन’ को सङ्क्रमण भएका पशुमा लगाउने खोपको प्रबन्ध भएको छैन । सो सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशु मरिसकेका छन् ।

जिल्लामा करिब सात हजार पशु सङ्क्रमित भएका छन् । पशु पालक किसान समयमा खोप नपाउँदा ठूलो आर्थिक नोक्सानी व्यहोर्न बाध्य छन् । केही किसानले निजीस्तरबाट खोप लगाएको तर जिल्लामा खोप अझै नआएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बाँकेका पशु चिकित्सक रूपेन्द्रकुमार ओलीले बताए ।

उनले पशुमा देखिएको सङ्क्रमणले ठूलो जनधनको क्षति भएकाले रोगको पहिचानका लागि ल्याब टेष्ट र लक्षणअनुसारको उपचार भइरहेको जानकारी दिए । कतिपय पशुपालक कृषकले स्थानीय सरकारमा रहेको पशुसेवा केन्द्रमार्फत पनि सुविधा लिएको उल्लेख गर्दै पशु चिकित्सक ओलीले सङ्घीय सरकार, प्रदेश सरकारबाट खोप नआएको बताए ।

नेपालगञ्ज उपमहानगरपालिकासहित आठ स्थानीय तहमा सो भाइरसको सङ्क्रमण देखिए पनि राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको भेटेरिनरी अस्पतालले जनाएको छ । नेपाल भेटेरिनरी एशोसियशनका सचिव डा शङ्कर न्यौपानेले सङ्क्रमणबाट पशुवस्तुको मृत्युपछि किसानले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको उल्लेख गर्दै किसानको पशुबाट दूधको उत्पादन घट्दै गएको बताए ।

उनले पशुलाई धेरै ज्वरो आउनु, शरीर र मुखमा फोका जस्ता खटिरा निस्कनु, पशुलाई श्वासप्रश्वासमा समस्या हुनु, दानापानी नखानु र दुधालु पशु भए दूधको उत्पादन घटाउनु सङ्क्रमणको मुख्य लक्षण भएको जानकारी दिए । सङ्क्रमण भएको पशु भए त्यसलाई सामूहिकरूपमा चराउन नलैजाने, पशुको ढुवानी कार्य बन्द गर्ने र आवाजातवमा कडाइ गरेर पनि यसको न्यूनीकरण हुन सक्ने डा न्यौपानेले सुझाव दिए ।

एउटा रोगी पशुलाई लामखुट्टे, झिङ्गा वा किर्नाले टोकेर यसको सङ्क्रमण फैलन सक्ने बताइएको छ । बाँकेमा करिब एक लाखको हाराहारीमा भैँसी र ६० हजार हाराहारीमा गाई रहेका छन् । बर्दियाको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयले ‘लम्पी स्किन’ को सङ्क्रमण भएका पशुलाई खोप लगाउन दुई हजार भाइल खोप आएको जानकारी दिएको छ ।

एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय, बर्दियाका वरिष्ठ कृषि प्रसार अधिकृत सागर ढकालले केही दिनमा नै खोप लगाउने कार्य सुरु हुने जानकारी दिँदै जिल्लामा तीन सय ७९ पशु सङ्क्रमित भएको बताए । अहिलेसम्म जिल्लामा चार पशुको सङ्क्रमणबाट मृत्यु भएको छ । बर्दियामा एक लाख २४ हजार नौ सय २१ गाई र एक लाख २४ हजारभन्दा बढी भैसी रहेका छन् ।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?