Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

वीरगञ्ज महानगरपालिकाको बजेट रु तीन अर्ब २१ करोड


१० असार ,वीरगञ्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार बजेट विनियोजन गरेको छ । महानगरपालिकाको १३औँ अधिवेशनमा नगरप्रमुख राजेशमान सिंहले चालुतर्फ रु दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार तथा पूँजीगततर्फ रु ६८ करोड ८७ लाख १५ हजार र वित्तीय व्यवस्थातर्फ रु तीन करोड ६३ लाख २४ हजार विनियोजन गरिएको जानकारी दिए ।

आगामी आर्थिक वर्षका लागि अनुगमन गरिएको खर्च ब्यहोर्ने स्रोतहरुमध्ये आन्तरिक राजस्वबाट रु एक अर्ब २० करोड ४४ लाख ३० हजार, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ३३ करोड २१ लाख, सङ्घीय राजस्व बाँडफाँटबाट रु २५ करोड २४ लाख ७० हजार र प्रदेश वित्तीय हस्तान्तरणबाट रु चार करोड ४५ लाख ९५ हजार एवं प्रदेश राजस्व बाँडफाँटबाट दुई करोड ८७ लाख ब्यहोरिने जनाएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० मा कूल रु तीन अर्ब ४४ करोड ३४ लाख चार हजार विनियोजन रहेकामा विनियोजनको ७१ प्रतिशत खर्च हुने संशोधित अनुमान छ । सोमध्ये चालु खर्च दुई अर्ब १५ करोड अर्थात् ४८ प्रतिशत पूँजीगत खर्च एक अर्ब अर्थात् विनियोजनको २३ प्रतिशत खर्च हुने संशोधित अनुमान रहेको महानगरप्रमुख सिंहले बताए ।

चालु आर्थिक वर्षमा समानीकरण अनुदान अन्तिम त्रैमासिकको ५० प्रतिशत कटौती, ससर्त अनुदान २० प्रतिशत कटौती, सङ्घीय सरकारको राजस्व असुलीमा आएको सङ्कुचनको कारण राजस्व बाँडफाँट घट्न गएको, भूउपयोग ऐनबमोजिम भूमिको वर्गीकरण प्रक्रिया टुङ्गिन समय लागेकाले जमिनको कित्ताकाट रोकिएका कारण घरजग्गा रजिष्ट्रेसन आयस्रोतसमेत घटी समग्रमा राजस्व परिचालन कमजोर हुन पुगेकाले कूल राजस्व परिचालन ७० करोड संशोधित अनुमान गरिएको जनाएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा वीरगञ्जस्थित बिन्दवासिनी मन्दिर, भिस्वा बौद्ध बिहार र नृसिंह मन्दिरको सौन्दर्यकरणका लागि बजेट छुट्याएको छ । कला, धर्म र संस्कृतिको प्रवर्द्धन र संरक्षणका लागि स्थानीय समुदायसँगको सहकार्यमा परम्परादेखि चलिआएका जात्रा, पर्व र मेलाको आयोजना गरी धार्मिक पर्यटन प्रवर्द्धनमा जोड दिने नीति महानगरपालिकाले लिएको हो ।

नेपालको प्रवेशद्वार शङ्कराचार्य गेट र घण्टाघरलाई समेत रङ्गरोगन गरेर पर्यटकीयस्थलका रुपमा विकास गर्न खोजेको छ । वीरगञ्जको व्यापार व्यवसायलाई चलायमान बनाउन उद्योग वाणिज्य सङ्घ एवम् स्थानीय सङ्घसंस्थासँगको साझेदारीमा वीरगञ्जमा लाग्दै आएको रात्रि बजारलाई थप परिष्कृत गर्दै निरन्तरता दिइने महानगरपालिकाको नीति कार्यक्रममा उल्लेख छ ।

यस्तै, वीरगञ्ज महानगरपालिका–१७ मा ऐतिहासिक अलौँ सङ्ग्रहालय निर्माण रु २० लाख बजेट छुट्याइएको छ । आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवं विकेन्द्रित रुपबाट उपलब्ध गराउन नगर अन्तर्गतका सबै स्वास्थ्य चौकीहरुमा विशेषज्ञ सहितको सेवा सञ्चालन गर्न तीन करोड ७५ लाख रकम विनियोजन गरिएको छ ।

महानगरपालिकाले गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न सामुदायिक विद्यालय शिक्षक स्वयंसेवक कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वयंसेवक शिक्षक कार्यक्रमका लागि महानगरपालिकाले चार करोड ७५ लाख विनियोजन गरेको छ ।


प्रकाशित मिति: १० असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?