Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

नमोबुद्ध परिसरमा निर्माण गरिएका अनियमित संरचना हटाइँदै


८ असार, काभ्रे । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्ध परिसरमा निर्माण गरिएका अनियमित संरचना हटाउन थालिएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा रहेको काभे्रपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित नमोबुद्ध चैत्य छोपिने गरी निर्माण भएका संरचना पुरातत्व विभागअन्तर्गतको संरक्षित स्मारक तथा दरबार क्षेत्र हेरचाह अड्डाको रोहवरमा बिहीबारदेखि हटाउन थालिएको हो । नमोबुद्ध नगरका जनप्रतिनिधि तथा कर्मचारी, प्रहरी, प्रशासन, नमोबुद्ध भगवान् घ्या गुठी व्यवस्थापन समितिसहित स्थानीय सरोकारवालाको उपस्थितिमा हटाइएको जनाइएको छ । पुरातत्व विभागले उक्त संरचना नहटाइ विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रिया अघि बढाउन नसकिने जनाएपछि सरोकारवालासँगको छलफलपछि अनियमित संरचना हटाउन थालिएको हो ।

नगर प्रमुख कुनसाङ लामाले विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाउन अनियमित संरचना हटाउन थालिएको बताए । “नमोबुद्धलाई थप व्यवस्थित बनाउन संरचना हटाउनेदेखि थप निर्माण गर्न पनि सक्नेछौँ”, उनले भने ।

नमोबुद्ध नगरले नमोबुद्ध क्षेत्र ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल भएकाले विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियाअन्तर्गत संरचना हटाउन थालिएको बताइन्छ । ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक एवं वातावरणीय महत्व बोकेको विश्व प्रसिद्ध तथा प्राचीन नमोबुद्ध चैत्य परिसरको दीर्घकालीन गुरुयोजना निर्माण गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रारम्भिक चरणको कार्य सुरु गरिएको जनाइएको छ । रु ८७ करोड लागतको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरी काम अघि बढाइएको हो ।

यसबाट नमोबुद्ध क्षेत्रमा पर्यटन विकासका लागि सिँढी, पर्खाल, दुई स्थानमा प्रवेशद्वार, सडक बत्ती, सौर्य बत्ती, ढुङ्गा छाप्ने, सार्वजनिक शौचालयलगायतका पूर्वाधार विकासका काम भइरहेको छ । सुरक्षा व्यवस्थापनको लागि सिसीटिभी क्यामेरासमेत जडान गरिएको छ भने डिपीआरअनुसार थप काम अघि बढाउन सङ्घीय पर्यटन मन्त्रालय, प्रदेशस्थित पर्यटन मन्त्रालयलगायत सरोकारवाला निकायमा पहल गरिएको छ ।

पर्यटकीयस्थल नमोबुद्धलाई विशेष गरी बौद्ध धर्मावलम्बीको तीर्थस्थलका रुपमा समेत लिइने गरिन्छ । नगरले यसअघि नै गुरुयोजना बनाएर काम अघि बढाएको छ । हाल नमोबुद्ध क्षेत्रमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् । गुम्बामा बुद्ध पाठशालासमेत रहेको छ । सदरमुकाम धुलिखेलबाट १३ किलोमिटर तथा सङ्घीय राजधानी काठमाडौँबाट ५० किलोमिटरको दूरीमा रहेको पर्यटकीय क्षेत्र नमोबुद्ध पुग्ने काभ्रेभञ्ज्याङदेखि फूलबारी सडकखण्ड असहज हुँदा पर्यटकले सास्ती ब्यहोर्दै आएका छन् । पनौतीबाट शङ्खु उपत्यका हुँदै र पर्यटकीय नगरी धुलिखेलबाट हाइकिङ गर्दै पुग्न सकिने नमोबुद्धबाट मनोरम हिम शृङ्खला देख्न सकिन्छ ।

पुरातत्व विभागका अनुसार नेपालको चार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ । जसमा काठमाडौँ उपत्यका (उपत्यका सात क्षेत्र : काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथ मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर), चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् ।


प्रकाशित मिति: ८ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?