Trending
>>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित
Logo
१५ चैत्र २०८२, आईतवार
१५ चैत्र २०८२, आईतवार

समृद्धिका लागि ‘किसान चौतारी जोतौँ खेतबारी’ अभियान


६ असार ,बेनी । म्याग्दीको मालिका गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक बनाउन र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउन ‘किसान चौतारी जोतौ खेतबारी अभियान’ सञ्चालन गर्ने भएको छ । मङ्गलबार दरवाङमा आयोजित गाउँसभाको १३औँ अधिवेशनबाट पारित आगामी आर्थिक वर्ष २०८०/ ८१ को नीति तथा कार्यक्रममा बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहनका लागि उक्त कार्यक्रम ल्याउन लागिएको जानकारी गराइएको हो ।

सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बसाइँसराइ र वैदेशिक रोजगारका कारण गाउँमा खेतीयोग्य जमिन बाँझो रहन थालेपछि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्थानीय सम्भावनाको खोजी र उजागरका विषय नीति तथा कार्यक्रमको प्राथमिकतामा परेको बताए । मालिकाले ‘खाऔँ आफ्नो बारीको नखाऔँ सीमापारिको’ भन्ने नाराका साथ उच्च मूल्यका फलफूल, तरकारी तथा अन्नबालीको पकेट क्षेत्र पहिचान गरी सघन कृषि क्षेत्र निर्धारण गरेर व्यावसायिक कृषि कार्यक्रमसमेत सञ्चालन गर्ने भएको छ ।

कृषि उपजको आयात प्रतिस्थापन गर्न र स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुर्याउने कार्यक्रमलाई गाउँपालिकाले प्राथमिकतामा राख्ने अध्यक्ष गर्बुजाले बताउनुभयो । गाउँपालिकाले ‘युवाको ऊर्जा मालिकाको औजार’ कार्यक्रमअन्तर्गत बाँझो जग्गा सदुपयोगका लागि तालिम, औजार, उपकरण र प्रविधि हस्तान्तरणसँगै सामुदायिक विद्यालयहरूको दिवा खाजामा रैथाने उत्पादनलाई प्राथमिकता दिने जनाएको छ ।

वैदेशिक रोजगारबाट फर्केका युवाले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई सदुपयोग गर्दै स्वरोजगार र उद्यमशीलता विकासका लागि प्रोत्साहन गर्ने नीति लिएको मालिका गाउँपालिकाले स्थानीय रक्सीको रूपमा परिचित घरेलु मदिरालाई ब्राण्डिङ गर्न र गाँजाखेतीको सम्भाव्यता अध्ययन र अनुसन्धान गर्ने भएको छ । गाउँपालिकाले भाँगो, टुसा, निउरो, टिमुर, सिस्नो, कोदो, उवा, जौ, फापरलगायतका स्थानीय उत्पादनको प्रोत्साहन र बाण्डिङमा समेत सघाउने भएको छ ।

आन्तरिक आम्दानीको स्रोतको पहिचान गर्ने नीति लिएको मालिकाले करको दर घटाएर दायरा फराकिलो बनाउने नीति तय गरेको छ । पालिकाभित्र रहेका असङ्गीत क्षेत्रका मजदुरको तथ्याङ्क सङ्कलन तथा अभिलेख गर्ने, विपन्न परिवार, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको पहिचान गरी परिचयपत्र वितरण गर्ने, ग्रामीण सडकलाई स्तरोन्नति गर्ने, पर्यटकीय क्षेत्रको प्रवर्द्धन र कला संस्कृतिको संरक्षण गर्ने विषयलाई नीति तथा कार्यक्रममा समेटिएको छ ।

नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने नीति लिएको मालिकाले मिर्गाैला, मुटु, उच्च रक्तचाप, मधुमेहलगायतका रोगको निःशुलक जाँच र उपचारको प्रबन्ध मिलाउने जनाएको छ । मालिकाको गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रमलाई सर्वसम्मतरूपमा पारित गरिएको छ । त्यस्तै गाउँसभामा उपाध्यक्ष लक्ष्मी घर्ती पुनले पेस गर्नुभएको आर्थिक विधेयक २०८०, विनियोजन विधेयक २०८०, सहकारी विधेयक, न्यायिकसम्बन्धी कार्यविधि व्यवस्थित गर्न बनेको विधेयक पनि पारित भएको छ ।

नीति तथा कार्यक्रममा सामाजिक विकासअन्तर्गत शिक्षा, स्वास्थ्य, संस्कृति, खेलकुद, लैङ्गिक समानता, आर्थिक विकास, उद्योग तथा पर्यटन विकास, कृषि तथा पशुपक्षी, सहकारी, सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास, खानेपानी तथा सरसफाइ, वातावरण तथा जलवायु परिवर्तन, विपद् व्यवस्थापनलगायतका क्षेत्र प्राथमिकता साथ समावेश भएका छन् । गाउँपालिकाले भौतिक पूर्वाधार विकासतर्फ सहरी योजना, बस्ती विकास, आवास तथा पूर्वाधारलाई प्राथमिकतामा राखेको छ ।

पालिकाले जीवनोपयोगी सीपमा आधारित शैक्षिक पाठ्यक्रमको विकास गर्ने नीति लिएको छ । पालिकालाई खुला बहुसांस्कृतिक र मगर सङ्ग्रहालयको रूपमा विकास गर्न पूर्वाधार निर्माण गर्ने, युवालाई विदेश होइन, विजनेस भन्ने भावनाको जागृत तुल्याई स्वरोजगार बनाउने नीति लिइएको छ । पालिकाले औद्योगिक प्रदर्शनीस्थलको सम्भाव्यता अध्ययन गरी निर्माणकार्य अघि बढाउने, गाउँपालिकाभित्रका पर्यटकीयस्थललाई जोड्नका लागि पर्यटकीय सडक सञ्जाल कार्यान्वयन गर्ने नीति पालिकाले लिने भएको छ ।

कार्यक्रममा अध्यक्ष गर्बुजाले सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने सङ्कल्पअनुसार समस्त गाउँपालिकावासीको आवश्यकता र चाहनालाई ध्यानमा राखी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम तयार गरिएको बताए । कार्यक्रममा वडाअध्यक्षहरू मोतीप्रसाद पुन, टङ्क पुन र उदयकुमार बुढाथोकीले पालिकाले ल्याएका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वनय गर्दै अघि बढेमा पालिकालाई विकसित र समृद्ध बनाउन सकिने बताए । आव २०८०/८१ को बजेट भने आगामी असार १० गते प्रस्तुत गर्ने कार्यक्रम तय भएको प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले जानकारी दिए ।


प्रकाशित मिति: ६ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?