Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

थाक्रेको नयाँ चिनारी बन्दै ‘नौबिसे ट्रयाम्प जिपलाइन’


५ असार, धादिङ । काठमाडौँबाट २७ किलोमिटरको दूरीमा पर्ने ‘ट्रयाम्प जिपलाइन’मा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । धादिङको थाक्रे गाउँपालिका–७ सातघुम्तीस्थित ‘नौबिसे ट्रयाम्प अग्र्यानिक रिसोर्ट एन्ड जिपलाइन’ नियमित सञ्चालनमा आएको एक वर्षमै करिब चार हजारले यसको मनोरञ्जन लिइसकेका छन् ।

एक हजार दुई सय मिटर लामो सो जिपलाइन पछिल्लो समयमा नेपालमा सञ्चालनमा आएको सम्भवतः सबैभन्दा भिरालो (स्टेपेष्ट) जिपलाइन हो भने नेपालको दोस्रो लामो जिपलाइन हो । धादिङको नौबिसेबाट दामन जाने सडकमा पर्ने यो रिसोर्ट र जिपलाइनको विसं २०७९ वैशाख ७ गते बागमती प्रदेश सरकारका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले शुभारम्भ गरेका थिए ।

हाल पृथ्वी राजमार्गअन्तर्गत थानकोट सुरुङमार्गको निर्माणका कारण हुने जाम र सडकको खाल्डाखुल्डी तथा आर्थिक मन्दीका कारण रिसोर्ट र जिपलाइनमा अपेक्षित ग्राहक आउन नसकेको यसका सञ्चालक बताउँछन् । रिसोर्टमा हाल नौवटा कोठा रहेकामा यसलाई विस्तार गर्ने र स्मिमिङ पुलसमेत निर्माण गर्ने योजना रहेको छ ।

छोटो समयमा सबैभन्दा आकर्षक मानिने यस साहसिक पर्यटन उत्पादनले आन्तरिक पर्यटकलाई आकर्षित गराउँदै आएको छ । प्रतिव्यक्ति तीन हजार पाँच सय शुल्क राखिएको यो जिपलाइनले २५ प्रतिशत छुटसहित विभिन्न प्याकेज दिँदै आएको छ ।

जिपलाइनका प्राविधिक विकास भण्डारी यो जिपलाइन नेपालकै सबैभन्दा भिरालो (ठाडो) भएको जनाउँदै यसमा व्यक्तिको तौलअनुसार चुम्बकीय ट्रली प्रयोग हुने बताए ।

यसमा १० वर्षभन्दा कम उमेर र ३५ केजीभन्दा कम तौल भएका तथा बढीमा एक सय १५ केजीका व्यक्तिलाई मात्रै चढाइन्छ । कुनै गम्भीर रोगका बिरामी, उच्च रक्तचाप वा तर्सने स्वभावका व्यक्तिलाई पनि यसमा नचढ्न सुझाव दिइन्छ । यसमा प्रायः मानिसहरू बिदाको दिन र शनिबार बढी आउने गरेका छन् ।

कुल एक सय २७ रोपनी क्षेत्रफलमा रहेको सो रिसोर्ट र जिपलाइनमा गरी हालसम्म करिब २७ करोड लगानी भइसकेको र जिपलाइनका लागि मात्रै दुई करोड लगानी भएको रिसोर्टका व्यवस्थापक प्रत्युश लामाले जानकारी दिए। यसमा १२ लगानीकर्ता छन् भने कार्यरत कर्मचारी अधिकांश स्थानीय छन् । जिपलाइनका प्राविधिकलाई त्यही तीन महिना तालिम दिइएको थियो । यसमा अष्ट्रेलिया र क्यानडाका प्रविधि लिइएको छ ।

थाक्रे गाउँपालिका–७ का वडाध्यक्ष युवराज खतिवडा काठमाडौँबाट नजिकको दूरीमा रहेको यस नयाँ रिसोर्ट र जिपलाइनले आन्तरिक पर्यटक बढाउन सक्ने भन्दै गाउँपालिकाका तर्फबाट आवश्यक पूर्वाधार र पर्यटन पूर्वाधारका काममा प्राथमिकता दिइने बताए । उनले उक्त जिपलाइनलाई गाउँपालिकाका एक चिनारीका रूपमा पनि विकास गर्न सकिने बताए ।

हालसम्म विश्वकै लामो जिपलाइनका रूपमा पोखराको जिपफ्यायर नेपालको एक हजार आठ सय मिटरको जिपलाइन रहेको छ । नेपालमा पहिलोपटक पोखराको साराङकोटडाँडाबाट जिपलाइनको थालनी भएको हो । हाल करिब एक दर्जन जिपलाइन सेवा नियमित सञ्चालनमा आइसकेका छन् ।


प्रकाशित मिति: ५ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?