Trending
>>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित
Logo
१५ चैत्र २०८२, आईतवार
१५ चैत्र २०८२, आईतवार

चार महिना श्रमदान गरेपछि रामनगरमा खानेपानी


५ असार ,भरतपुर । चितवनको रामनगरमा झन्डै चार महिना श्रमदान गरेर खानेपानी ल्याइएको छ । भरतपुर महानगरपालिका– २९ स्थित खहरेखोलाको पानी ल्याउन भरतपुर महानगरपालिका–१ का स्थानीयले श्रमदान गरेका हुन् ।

उनीहरुलाई चितवनका विभिन्न क्षेत्रका नागरिकले पनि श्रमदानमा साथ दिएका थिए । भरतपुरको रामनगर, ठिमुरा र देवघाट क्षेत्रका बासिन्दालाई पानी खुवाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले श्रमदानको सुरुआत गरेका थिए । उनले स्थानीयलाई गरेको वाचाअनुसार नै निर्धारित समयमा खानेपानी ल्याइएको छ ।

आठ किलोमिटर लामो दूरीमा नयाँ पाइप बिछ्याएर रामनगरस्थित ट्याङ्कीमा पानी झारिएको छ । स्थानीय सीता भट्ट रामनगरवासीको मुख्य समस्या पानी रहेको भन्दै खहरेखोलाको पानी आएपछि निकै खुसी भएको बताईन् । उनले नियमितरूपमा श्रमदानमा खटिएको समेत बताईन् ।

स्थानीय राधा कुँवर घरको काम छाडेर जनश्रममा जुटेको भन्दै पानी आएपछि उत्साहित भएको बताईन् । उनले अब पानीको लागि झेल्दै आएको समस्या समाधान भएको बताईन् ।

विसं २०४९ चैतमा नेपाल र जापान सरकारको सहकार्यमा भरतपुर खानेपानी विस्तार आयोजनाको सुरुआत भएको थियो । त्यसबेला रामनगरमा चारवटा पानी ट्याङ्की निर्माण गरिएका थिए । जुगेडीबाट पानी उक्त क्षेत्रमा ल्याएर भरतपुरका विभिन्न स्थानसम्म वितरण हुने गर्दथ्यो । द्वन्द्वकालपछि धेरै संरचना नष्ट भएपछि खानेपानी ट्याङ्की क्षेत्र झाडीमा परिणत भएको थियो ।

अहिले सोही ठाउँमा सरसफाइ गर्दै खानेपानीका ल्याइएको हो । रामनगर क्षेत्रमा हरेकको घरमा इनार भए पनि जनघनत्व बढ्दै जाँदा खानेपानीको अभाव पनि बढ्दै गएकाले खहरेखोलाको पानी ल्याउनुपरेको स्थानीय तुलसीराम श्रेष्ठले बताए । खहरेखोलाबाट खानेपानी आएपछि दीर्घकालीन समस्या समाधान भएको उनको भनाइ छ ।

त्यतिखेर जाइकाले निर्माण गरेकै ट्याङ्कीलाई प्रयोग गरेर खानेपानी विस्तार गरिएको सभापति लामिछानेका स्वकीयसचिव प्रकाश सिग्देलले जानकारी दिए । “भुइँमा बिछ्याएको पाइप सबै चोरिएको थियो । त्यसैले मुहानबाट रामनगरसम्म पूरै पाइप बिछ्याइएको हो”, उनले भने, “मुहान र बीचको ट्याङ्की प्राविधिकहरूको सल्लाहअनुसार प्रयोग गरिएको छ ।”

रामनगर, ठिमुरा र देवघाट क्षेत्रमा करिब चार हजार घरधुरी रहेकामा तत्कालका लागि रामनगर र ठिमुरा क्षेत्रका करिब दुई हजार पाँच सय घरधुरीलाई खानेपानीको व्यवस्थापन गर्ने तयारी भइरहेको उनले बताए । “त्यसपछि पानीको स्रोतले पुगेसम्म वितरण गर्ने योजना छ”, उनले भने, “वडा नं १ को माथिल्लो क्षेत्रमा पुगेर बढी भएमा आँपटारीभन्दा तलसम्म पनि पुर्याउन सकिन्छ ।”

यसले भरतपुर महानगरपालिकाभित्रको खानेपानी व्यवस्थापनलाई ठूलो मद्दत पुग्ने उनले बताए । श्रमदानबाट खानेपानी ल्याउन करिब रु एक करोड खर्च भएको जनाइएको छ । आठ किलोमिटरको दूरीमा नयाँ पाइप खरिद र बिछ्याउने तथा ट्यान्किमा सरसफाइ तथा प्राविधिक खर्च गरी करिब रु एक करोड खर्च भएको उनले बताए । “यी सबै खर्च जनस्तरबाटै सङ्कलन गर्ने र सरकारी बजेट कहीँबाट पनि नलिइकनै काम गरेका छौँ”, उनले भने, “यहाँका जनताले आफैँ खुसी भएर सहयोग गरेका छन् ।”


प्रकाशित मिति: ५ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?