Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

झापाको वन क्षेत्रमै हात्तीका आहाल र आहारा


४ असार ,बनियानी । झापाका सामुदायिक वन हाताभित्रमा हात्तीका लागि आहाल र आहाराको व्यवस्थापनको काम शुरु भएको छ ।

जिल्लाका सामुदायिक वन क्षेत्रमा जलाशय निर्माण र हात्तीले मन पराउने बाँस तथा केराको बिरुवा लगाउन थालिएको डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिए ।

राष्ट्रिय वन विकास कार्यक्रमअन्तर्गत झापाको कचनकवल–३ स्थित दुर्गाभिट्टा सामुदायिक वन र बाह्रदशी–१ साधुपर्ती सामुदायिक वन हाताभित्र दुई वटा पोखरी निर्माण गरिएको छ । रु १० लाखको लागतमा ती पोखरी निर्माण गरिएको हो ।

हात्ती र अन्य वन्यजन्तुलाई पानी खान र आहाल बस्न सहज होस् भन्ने उद्देश्यले पोखरी निर्माण गरिएको उनले बताए । त्यस्तै, जिल्लाकै आठ वटा समुदायिक वनमा चार हजार बाँस र दुई हजार आठ सय केराको बिरुवा लगाउन थालिएको छ । “बिरुवा रोप्न खाल्डो खनेर तयारी अवस्थामा राखिएको छ”, डिभिजन वन कार्यालय झापाकी अधिकृत रञ्जना पुरीले भने, “बिरुवा रोप्न खाल्डो खन्ने काम सकिएको छ, वर्षा सुरु भयो अब बिरुवा लगाइने छ ।”

जिल्लाको मनकामना सामुदायिक वनमा बाँसका बिरुवा एक हजार र केरा आठ सय, साधुपर्ती सामुदायिक वनमा बाँस एक हजार र केरा चार सय ६०, पूर्व देउराली सामुदायिक वनमा चार सय केरा, पाथीभरा कालिका सामुदायिक वनमा बाँस आठ सय र केरा दुई सय, दियालो सामुदायिक वनमा बाँस दुई सय र केरा चार सय, विशाल सामुदायिक वनमा बाँस चार सय, दुर्गाभिट्टा सामुदायिक वनमा केरा चार सय र मायालु सामुदायिक वनमा बाँस छ सय र केरा दुई सय वटा बिरुवा लगाइने छ ।

वन क्षेत्रमा बाँस र केरा लगाउन रु १५ लाख बजेट प्राप्त भएको कार्यालयले जनाएको छ । आहाराको खोजीमा हात्तीलगायतका वन्यजन्तु वन आसपासका गाउँ बस्तीमा पस्ने भएकाले वन क्षेत्रमै आहाराको व्यवस्थापन गर्न लागिएको हो । यसबाट मुख्यतः मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न मद्दत विश्वास लिइएको छ । झापाका सामुदायिक वनमा एक दर्जनभन्दा बढी रैथाने हात्ती रहेका छन् ।


प्रकाशित मिति: ४ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?